काठमाडौं। लुम्बिनी विकास बैंकले नेपाल रेडक्रस सोसाइटी कास्की शाखालाई प्रादेशिक रक्तसञ्चार सेवा पोखराको प्रयोगशाला व्यवस्थापनका लागि ‘डिजिटल हट एयर ओभन उपकरण’ सहयोग गरेको छ । बैंक सञ्चालक समितिका सदस्य रामचन्द्र सिग्देलले नेपाल रेडक्रस सोसाइटी कास्की शाखा सभापति डण्डराज शर्मा पौडेललाई उक्त उपकरण हस्तान्तरण गरेका हुन् । सञ्चालक सिग्देलले प्रादेशिक रक्तसञ्चार सेवा पोखराको प्रयोगशाला व्यवस्थापनका लागि प्रत्यक्ष सकारात्मक प्रभाव पर्ने हुनाले उक्त उपकरण खरीद गरी सहयोग गरेको बताए ।
कार्यक्रममा बैंकका पोखरास्थित शाखा कार्यालयका प्रमुखहरू, नेपाल रेडक्रस सोसाइटी कास्कीका उपसभापतिद्वय धर्मराज अधिकारी र उर्मिला खड्का, कोषाध्यक्ष सन्तोष अधिकारी लगायत विभिन्न पदाधिकारीको उपस्थिति थियो । रेडक्रसका सभापति पौडेलले बैंकले गरेको सहयोगका लागि धन्यवाद दिँदै भविष्यमा पनि आपसी सहकार्यका लागि अपेक्षा गरे ।