काठमाडौं । रिलायन्स स्पिनिङ मिल्स लिमिटेडले सर्वसाधारणलाई आईपीओ निष्कासनको लागि नेपाल धितोपत्र बोर्ड (सेबोन)मा निवेदन दिएको छ । कम्पनीले माघ २३ गते सेबोनमा निवेदन दिएको हो ।
कम्पनीले सर्वसाधारणको लागि ११ लाख ५५ हजार ९ सय ६० कित्ता शेयर निष्कासन गर्न लागेको हो । कम्पनीको शेयरको मूल्य प्रतिकित्ता ८२० रुपैयाँ ८० पैसा कायम गरिएको छ । कम्पनीले बुक बिल्डिङ विधिबाट आईपीओ निष्कासन गर्न लागेको हो ।
कम्पनीले यसअघि योग्य संस्थागत लगानीकर्तालाई ७ लाख ७० हजार ६ सय ४० कित्ता शेयर निष्कासन गरेको थियो । योग्य संस्थागत लगानीकर्तालाई निष्कासन गरिएको शेयरको कट अफ मूल्य ९१२ रुपैयाँ कायम भएको थियो । सर्वसाधारण लगानीकर्तालाई कट अफ मूल्यमा १० प्रतिशत छूट दिई धितोपत्र निष्कासन गर्नुपर्ने व्यवस्था अनुसार कम्पनीले सर्वसाधारणलाई कम्पनीको शेयर प्रतिकित्ता ८२० रुपैयाँ ८० पैसामा शेयर निष्कासन गर्न लागेको हो ।
शेयर निष्कासनको लागि ग्लोबल आईएमई क्यापिटल विक्री प्रबन्धक छ ।
यस कम्पनीले अन्तरराष्ट्रिय गुणस्तरको पोलिस्टर, भिसकोस, एक्रिलिक यार्न लगायत सिउने धागो विभिन्न ब्लेन्डमा उत्पादन गर्दै आएको छ । कम्पनीले आफ्ना उत्पादन टर्की र भारतमा निर्यात गर्दै आएको छ । २०५१ सालदेखि सञ्चालनमा रहेको यस कम्पनीले हाल ४३ सय बढीलाई रोजगारी दिएको छ ।
पवन गोल्यान यस कम्पनीका कार्यकारी अध्यक्ष हुन् । कम्पनीको औद्योगिक कारखाना सुनसरीको दुहबी र खनारमा छ ।
रिलायन्स स्पिनिङ मिल्स बुक बिल्डिङ विधिबाट आईपीओ जारी गर्ने दोस्रो कम्पनी बनेको छ । बुक विल्डिङ विधिबाट आईपीओ जारी गर्न अनुमति पाउने पहिलो कम्पनी भने सर्वोत्तम सिमेन्ट हो ।