मलेशियाको सरकारले विदेशी कामदारलाई आफ्नो देशमा काम नदिने नीति लिएसँगै नेपालको वैदेशिक रोजगारीमा समस्या आउने देखिएको छ । मुलुकभित्र रोजगारी नपाएर कामकै लागि विदेशिने नेपालीका लागि मलेशिया उत्कृष्ट गन्तव्यमा पर्दै आएको छ । कुल वैदेशिक रोजगारीमा जानेमध्ये मलेशिया जानेको संख्या ४४ प्रतिशत रहेको छ । यहाँको रोजगारी गुम्यो भने नेपालमा बेरोजगार युवा बढ्ने र त्यसबाट विभिन्न समस्या आउने देखिन्छ । नेपालमा प्रत्येक वर्ष ५ लाखको हाराहारीमा नयाँ श्रमशक्ति रोजगारीको बजारमा थपिन्छन् तर तिनलाई यहाँ रोजगारी मिल्दैन । सरकारले केहीलाई रोजगारी दिन्छ भने त्योभन्दा बढीलाई निजीक्षेत्रले रोजगारी दिन्छ । तर, नेपालमा निजीक्षेत्रले लगानी गर्ने वातावरण नहुँदा उद्योग, कलकारखाना र सेवा व्यवसायमा पर्याप्त वृद्धि भइरहेको छैन । सबैभन्दा धेरैले रोजगारी पाइरहेको र पाउने क्षेत्र कृषिमा नयाँ पुस्तालाई आकर्षित गर्न सकिएको छैन । कृषिक्षेत्रभित्र छद्म बेरोजगारी समेत रहेको छ । अर्थात् कृषि क्षेत्रको रोजगारी मौसममा निर्भर हुन्छ । कुनै याममा काम हुन्छ भने कुनै याममा काम हुँदैन । त्यसैले कृषिक्षेत्रको रोजगारी घट्दो छ र श्रमशक्ति अन्य क्षेत्रमा लागिरहेको छ ।
विप्रेषण आप्रवाह हुन सकेन भने नेपालले विदेशबाट वस्तु र सेवा आयात गर्न नसक्ने अवस्थासमेत आउन सक्छ । व्यापारघाटा उच्च भएपछि सरकारले आयातमाथि प्रतिबन्ध लगाउनु परेको तथ्य यहाँनेर स्मरणीय छ ।
वैदेशिक रोजगार विभागका अनुसार गत आर्थिक वर्ष (आव) ४ लाख ९७ हजार ७०४ नयाँ नेपाली कामदार काम गर्न विदेश गएका थिए । विदेशबाट नेपालमा बिदामा आई फेरि फर्कनेको संख्या २ लाख ७७ हजार २७२ थियो । यसबाट गत आव २०७९/८० मा करीब ८ लाख नेपाली काम गर्नकै लागि विदेश पुगेको देखिन्छ । यसमा ठूलो अंश मलेशियाको रहेको छ । त्यहाँको रोजगारी गुम्न पुग्यो भने मुलुकमा बेरोजगारी समस्या भयावह बन्न सक्ने देखिन्छ ।
अहिले नेपालको विदेशी विनिमय सञ्चिति बढेको छ । यसो हुनुको कारण विप्रेषण आप्रवाहमा भएको वृद्धि हो । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार चालू आवको ८ महीनामा विप्रेषण आप्रवाह बढेर गत आवको सोही अवधिको दाँजोमा २१ प्रतिशतले बढेको छ । यस्तोमा मलेशियाको रोजगारी गुम्न पुग्यो भने विप्रेषण आप्रवाहमा ठूलो धक्का लाग्ने देखिन्छ । अहिले मलेशियाको रोजगारी गुम्ने अवस्था आएको छ भने खाडी मुलुकबाट पनि कामदारको माग घटेको छ । यस्तोमा नेपाली कामदारको प्रमुख गन्तव्य कुनै मुलुकले कामदार नलैजाने निर्णय गर्यो भने के गर्ने भन्ने सरकारको तयारी छैन । यसका लागि काम गर्न ढिला भइसकेको छ ।
आफ्नो देशको श्रमशक्तिलाई आफ्नै देशमा रोजगारी उपलब्ध गराउनुपर्छ । नेपाल अहिले जनसांख्यिक लाभको अवस्थामा छ । अर्थात् काम गर्ने उमेर समूहको जनसंख्या निकै उच्च छ । यो जनशक्तिलाई मुलुकमै काममा लगाउन आवश्यक छ । त्यसो गर्न मुलुकभित्र बढीभन्दा बढी उद्योगहरू खुल्नुपर्छ, व्यवसायहरू चल्नुपर्छ । तर, विश्व बैंकको हालैको एउटा प्रतिवेदन साउथ एशिया डेभलपमेन्ट अपडेटका अनुसार विगत २३ वर्षमा नेपालमा रोजगारीको अनुपात ११ प्रतिशतले घटेको छ । एकातिर श्रम शक्ति थपिने र अर्कातिर रोजगारी घट्ने अवस्थामा मुलुकको अर्थतन्त्र अगाडि बढ्न सक्दैन । नेपालको वैदेशिक व्यापारघाटा निकै ठूलो छ । विप्रेषण आप्रवाह हुन सकेन भने नेपालले विदेशबाट वस्तु र सेवा आयात गर्न नसक्ने अवस्थासमेत आउन सक्छ । व्यापारघाटा उच्च भएपछि सरकारले आयातमाथि प्रतिबन्ध लगाउनु परेको तथ्य यहाँनेर स्मरणीय छ ।
तत्कालका लागि वैदेशिक रोजगारीको विकल्प देखिँदैन । त्यसैले वैदेशिक रोजगारीमा युवालाई रोक्न सकिँदैन । तर, दक्षतासहित युवालाई वैदेशिक रोजगारीमा पठाउने हो भने तिनले बढी ज्याला प्राप्त गर्छन् र थोरै जनशक्तिबाट धेरै विप्रेषण आप्रवाह हुन सक्छ । मुलुकको युवाशक्तिलाई मुलुकमै रोजगारी दिन सकियो भने अर्थतन्त्रले गति लिन्छ । त्यतिमात्र होइन, वैदेशिक रोजगारीका कारण देखिएका केही सामाजिक समस्या पनि कम हुन थाल्छ । त्यसैले रोजगारी सृजनाका प्रभावकारी कार्यक्रम ल्याउन ढिला गर्नु हुँदैन ।