मस्को (रुस) । करीब साढे दुई वर्षयता (८९९ दिन) रुसको आक्रमणले थाङथिलो युक्रेनले गत मंगलवार रुसमाथि नै आक्रमण गर्याे । युक्रेनले रुसमाथि आक्रमणको अभियान शुरु गरेपछिको पहिलो आक्रमण थियो । उक्त आक्रमणमा युक्रेनका कयौं बिग्रेड सहभागी भएको बताइन्छ ।
उक्त आक्रमणको साता नबित्दै युक्रेनले रुसको कुस्रक क्षेत्रमा मिसाइल आक्रमण गर्याे । उक्त मिसाइललाई रुसी प्रतिरक्षा प्रणालीले निस्तेज पारेपनि त्यसबाट भएको आगलागीबाट १३ जना घाइते भए । उक्त मिसाइल आवासीय भवनमा खसेपछि आगलागी भएको थियो ।
युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले पहिलो पटक आफ्नो सेनाले रुसको कुर्स्क क्षेत्रमा आक्रमण गरेको स्वीकार गरे । अभियान शुरु गरेको पाँच दिनपछि गत शनिवार राति एक टेलिभिजन सम्बोधनका क्रममा उनले उक्त कुरा बताएका थिए ।
युक्रेनको आक्रमणपछि कुर्स्कका कार्यवाहक गभर्नर अलेक्सी स्मिर्नोभले सीमा क्षेत्रमा जोखिममा रहेका सर्वसाधारणलाई त्यहाँबाट सक्दो चाडो सुरक्षित स्थानमा लैजान स्थानीय अधिकारीहरूलाई आदेश दिएका छन्।
त्यति मात्रै होइन, युक्रेनी सेनाले रुसका जहाज र तीव्र गतिका डुंगामाथि पनि आक्रमण गरिरहेको छ । युक्रेनी रक्षा मन्त्रालयको मुख्य खुफिया निर्देशनालयका अनुसार युक्रेनी सेनाले क्राइमियाको तट नजिकै ‘ब्ल्याक सि’मा उच्च गतिको रूसी केएस–७०१ डुंगा नष्ट गरेको छ । युक्रेनी सेनाले १८ वटा रूसी जहाजमाथि आक्रमण गरेको र मागुरा भी–५ सहित नौ वटा जहाज नष्ट गरेको दाबी गरेको छ ।
यी उदाहरण घटना मात्रै हुन्, नेटोबाट लडाकु विमान एफ–१६ एयरक्राफ्ट पाएपछि युक्रेन रुससँगको युद्धमा आक्रामक बनेको हो । यसअघि भने युक्रेनले युद्धमा रक्षात्मक शैली अपनाएको थियो ।
करीब साढे दुई वर्षयता रुससँगको युद्धमा रक्षात्मक शैली अपनाएको युक्रेन किन बन्दैछ आक्रामक ?
युक्रेनका एक सुरक्षा अधिकारीले एजेन्स फ्रान्स–प्रेसलाई बताएअनुसार आक्रमणको उद्देश्य रुसलाई अस्थिर पार्नु हो । साथै रुसी सेनालाई हलुका र तीव्र गतिमा आक्रमण गर्नु पनि रहेको ती अधिकारीले बताए ।
जानकारहरू भने युक्रेन अहिले रुसको केही भूभाग कब्जा गर्ने रणनीतिमा लागेको दाबी गर्छन् । यसबाट युक्रेनलाई रुससँग वार्ता गर्न सहज हुने उनीहरूको भनाइ छ । एजेन्सीको सहयोगमा