काठमाडौं । गत कात्तिक मसान्तसम्म मुलुकको विदेशी मुद्रा सञ्चिति साढे २२ खर्ब नाघेको छ ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालू आर्थिक वर्षको पहिलो चार महीनाको तथ्यांकअनुसार गत कात्तिक मसान्तसम्म मुलुकको विदेशी मुद्रा सञ्चिति २२ खर्ब ५५ अर्ब ३५ करोड रुपैयाँ पुगेको छ । गत असार मसान्तमा यस्तो २० खर्ब ४१ अर्ब १० करोड रुपैयाँ थियो ।
अमेरिकी डलरमा यस्तो सञ्चिति २०८१ असार मसान्तमा १५ अर्ब २७ करोड रहेकोमा २०८१ कात्तिक मसान्तमा ९.४ प्रतिशतले वृद्धि भई १६ अर्ब ७० करोड पुगेको छ ।
२०८१ कात्तिक मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२ प्रतिशत छ ।
कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०८१ असार मसान्तमा १८ खर्ब ४८ अर्ब ५५ करोड रुपैयाँ रहेकोमा २०८१ कात्तिक मसान्तमा ८.६ प्रतिशतले वृद्धि भई २० खर्ब ०८ अर्ब १५ करोड रुपैयाँ पुगेको छ ।
बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक)सँग रहेको विदेशी विनिमय सञ्चिति २०८१ असार मसान्तमा १ खर्ब ९२ अर्ब ५५ करोड रुपैयाँ रहेकोमा २०८१ कात्तिक मसान्तमा २८.४ प्रतिशतले वृद्धि भई २ खर्ब ४७ अर्ब २० करोड रुपैयाँ कायम भएको छ ।
चालु आर्थिक वर्षको चार महीनाको आयातलाई आधार मान्दा बैकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १८ महीनाको वस्तु आयात र १५.१ महीनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने राष्ट्र बैंकले जनाएको छ ।