संघीय राजधानीभित्रको ठूलो शहर भए पनि कीर्तिपुर जान सार्वजनिक यातायातको समस्या छ । कीर्तिपुरमात्र होइन, वास्तवमा काठमाडौं उपत्यकाको सार्वजनिक यातायातको अवस्था ज्यादै अस्तव्यस्त र विकराल बन्दै गएको छ । यही अव्यवस्थाका कारण अहिले पठाओ, इन्ड्राइभजस्ता अनलाइन प्लेटफर्ममा आधारित यातायातको प्रयोग बढ्दो छ । तर, यो महँगो भएकाले सर्वसाधारणका लागि सार्वजनिक यातायातका लागि बलियो व्यवस्था गर्न ढिला भइसकेको छ ।
कुनै पनि विकसित र सभ्य मुलुकले सार्वजनिक यातायातलाई उच्च प्राथमिकतामा राखेको हुन्छ । कतिपय मुलुकले त निजी सवारीसाधनको प्रयोग घटाउन नाममात्रको भाडा लिने गरेका छन् भने लक्जम्बर्गले त पूरै देशभरि सार्वजनिक यातायात सबैका लागि नि:शुल्क सञ्चालन गरेको छ । तर, नेपालमा भने सरकारले सार्वजनिक यातायात सञ्चालन गरेको छैन । भएको साझा यातायात पनि अहिले सार्वजनिक निजी साझेदारीको मोडलमा सञ्चालन गरेको छ तर यसको सुविधा ज्यादै कम भएकाले त्यसले केही राहत मात्रै दिएको छ ।
त्यसैले सार्वजनिक यातायात सुधार्न ढिला भइसकेको छ । सरकारले यसका लागि पहल नै नगरेको भने होइन । सार्वजनिक यातायात सुधारका लागि कम्पनी स्थापना गर्ने प्रस्ताव पनि गरेको हो । त्यस्तै समितिका माध्यमबाट सिन्डिकेट भएको भनी त्यसलाई तोड्न कम्पनीमा जानुपर्ने व्यवस्था पनि गरेको हो । तर, यसले पनि सिन्डिकेट हट्न सकेको छैन ।
सार्वजनिक यातायात सुव्यवस्थित र भरपर्दो हुने हो भने जनताले ऋणधन गरेर दुईपांग्रे र चारपांग्रे सवारी साधन जोड्न आवश्यक हुँदैन । अहिले आफूले कमाएको पैसा यी साधन खरीदका लागि खर्च गर्नुपर्ने बाध्यता छ ।
सार्वजनिक यातायातको बेथितिले सर्वसाधारणले यातायातको सुविधा नपाएको मात्र होइन, ट्राफिक व्यवस्थापनमा समेत समस्या भएको छ । जथाभावी गाडी रोक्ने, यात्रु चढाउने ओरोल्ने, बढी गतिमा गाडी कुदाउने वा अनावश्यक रूपमा यात्रु कुरेर हैरान पार्ने जस्ता समस्या पनि उत्तिकै छन् । साँझ पर्नेबित्तिकै सार्वजनिक यातायात पाउन महाभारत नै लडेजस्तो गर्नुपर्छ । कार्यालय समयमा भाडाका बशहरू विद्यार्थी बोक्न प्रयोग हुँदा सवारीसाधन कम भएकाले धकेलाधकेल गरेर गाडी चढ्नुपर्ने अवस्था छ । यी तमाम विकृति रोक्न विशेष विकल्पमा जान आवश्यक छ ।
सरकारले द्रुत बस सेवा भनेर भक्तपुरको सूर्यविनायकदेखि रत्नपार्कसम्म बस सञ्चालन गरेको थियो । तर, करोडौं रुपैयाँ खर्च गरेर सडकमा रातो रंग लगाए पनि त्यो सेवा सञ्चालन हुन सकेन । सार्वजनिक यातायातमा सरकारको लगानी शून्य छ । निजीक्षेत्रको बोलवाला छ । तर, तिनलाई नियममा बाँध्न र व्यवस्थित बनाउन भने सरकारले चासो दिएको छैन ।
काठमाडौं उपत्यकामा बस्ती विस्तारको क्रम तीव्र छ । योजनाबद्ध शहरी विकास नभएकाले सडकहरू निकै गन्जागोलयुक्त छन् । सार्वजनिक यातायातका रूटहरू पनि असाध्यै अव्यवस्थित छन् । तिनलाई व्यवस्थित गर्न प्रयास भएन, जथाभावी गर्न छूट दिइयो । त्यसैले अहिले रूट व्यवस्थापन निकै गाह्रो छ । कुनै ठाउँमा जानुपर्यो भने कुन बसमा जाने भन्ने पत्ता लगाउन महाभारतै छ भन्दा हुन्छ । अन्य देशको अभ्यास हेर्ने हो भने आफू जाने ठाउँको नाम हेरेर कुनकुन रूटबाट जान सकिन्छ भन्ने थाहा पाइन्छ । त्यस्तै बसस्टपहरू पनि व्यवस्थित देखिन्छन् । जतिसुकै विकसित देश भए पनि कार्यालय समयमा सार्वजनिक यातायातमा भीडभाड हुनुचाहिँ सामान्य नै देखिन्छ ।
अहिले जुन ढंगले बशहरू सञ्चालनमा छन् तिनको विकल्प ल्याउन आवश्यक हुन्छ । पोडवे एउटा विकल्प हुन सक्ने देखिन्छ तर यस्तो नाममात्रको सडकपेटी भएको शहरमा पोडवे सञ्चालन गर्न पनि त्यति सहज देखिँदैन । मेट्रो अत्यावश्यक भइसकेको देखिन्छ तर अहिलेको यात्रु संख्याले यसको खर्च धान्न सक्दैन । ठूलो लगानीमा बन्ने मेट्रोको भाडा महँगो हुन्छ र त्यो भाडा तिर्नसक्ने हैसियत पनि धेरैको हुँदैन । कतिपय देशमा मेट्रो चलाए पनि घाटा भएकाले सरकारले अनुदान दिन परेको पनि देखिन्छ । त्यसो हुँदा मेट्रोको विकल्पमा जान हतार गर्नु हुँदैन ।
अहिले सडक विस्तार भएकाले ठूला बशहरू पनि उपयुक्त हुन सक्छन् । त्यस्तै विद्युतीय ठूला सवारीलाई उच्च प्राथमिकता दिनुपर्ने हुन्छ । सडकको अव्यवस्था रोक्न सडक चौडा बनाउनुभन्दा पनि एकबाट अर्कोतर्फ जोडिने ठाउँमा अन्डरपास वा ओभर पास बनाइनु उपयुक्त हुन्छ । यसले मात्रै सार्वजनिक यातायात बलियो हुँदैन । निजीक्षेत्रका यातायात कम्पनीहरूलाई नियम बनाएर तिनलाई एउटा छाताभित्र ल्याएर रूटको व्यवस्था गर्न आवश्यक भइसकेको छ ।
सार्वजनिक यातायात सुव्यवस्थित र भरपर्दो हुने हो भने जनताले ऋणधन गरेर दुईपांग्रे र चारपांग्रे सवारी साधन जोड्न आवश्यक हुँदैन । अहिले आफूले कमाएको पैसा यी साधन खरीदका लागि खर्च गर्नुपर्ने बाध्यता छ । सार्वजनिक साधनको व्यवस्था नै त्यो देशको सरकारको कार्यशैली हेर्ने ऐेना हो । नेपालमा जस्तो किसिमले सार्वजनिक यातायात भद्रगोलपूर्ण देखिन्छ त्यसले सरकारको कार्यशैलीलाई पुष्टि गरेको छ । अत: सार्वजनिक यातायातका बारेमा भएका अध्ययन, विज्ञहरूले दिएका सुझाव र अहिलेको अव्यवस्थाका कारण सर्वसाधारणले भोग्नु परेका बाध्यतालाई हेरेर सरकारले यिनलाई व्यवस्थित गर्न ढिला गर्नु हुँदैन ।