काठमाडौं । धितोपत्र कारोबारमा लगाइएको लक इनको अवधि पुरा गरी साउनमा महीनामा कुल १ करोड ७२ लाख ५९ हजार ८७० कित्ता शेयर कारोबार योग्य हुने भएको छ । दूई कम्पनी मैलुङ खोला जलविद्युत कम्पनी र सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको उक्त बरावर कित्ता शेयरको लकइन अवधि साउन महीनाभित्र सकिने भएको हो ।
नेपाल धितोपत्र बोर्ड सेबोनले सूचीकृत कम्पनीको शेयरको लकइन अवधिक सकिनु १ महिना अगाडि सूचना जारी गरी जानकारी गराउनुपर्ने व्यवस्था गरेको छ । सोही अनुसार कम्पनीले लकइन पिरियड सकिने दिन सार्वजनिक गरेका हुन ।
यी कम्पनीले संस्थापक, स्थानिय बासिन्दा र आफ्ना कर्मचारीका लागि जारी गरेको शेयरको लकइन अवधि सकिने भएको हो । मैलुङ खोला जलविद्युत कम्पनीको साउन २६ गते अर्थात आगामी शनिवार लकइन पिरियड सकिने भएको छ । कम्पनीले संस्थापकलाई जारी गरेको २५ लाख ७७ हजार कित्ता, स्थायिन बासिन्दाको लागि निष्कासन गरेको ३ लाख ६८ हजार १४४ कित्ता र कर्मचारीको १४ हजार ७२६ कित्ताको लकइन सकिने भएको हो ।
त्यस्तै सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीको साउन २९ गते लक इन पिरियड सकिने भएको छ । कम्पनीको संस्थापक समूहको १ करोड ४० लाख र कर्मचारीको ३ लाख कित्ता शेयरको लक इन अवधि सकिने भएको हो ।
यी दुबै कम्पनीको शेयर लकइन पिरियड सकिएको भोलिपल्टदेखि दोस्रो बजारमा खरीदविक्री गर्न पाइने छ ।