काठमाडौं। मुक्तिनाथ क्यापिटल लिमिटेड र मुक्तिनाथ फुड बैंक लिमिटेडबीच संस्थागत परामर्श सेवासम्बन्धी सम्झौता भएको छ । मुक्तिनाथ क्यापिटलले संस्थागत परामर्श सेवा अन्तर्गत कुनै पनि क्षेत्रका कम्पनीलाई कम्पनीको स्थापनादेखि सर्वसाधारणलाई प्राथमिक शेयर निष्कासन जारी गर्ने चरणसम्म पुर्याउन आवश्यक परामर्श सेवा उपलब्ध गराउँदै आएको छ । सम्झौतामा फुड बैंकका सञ्चालक मोहनकुमार बस्नेत र क्यापिटलका प्रमुख कार्यकारी अधिकृत कविन्द्रध्वज जोशीले हस्ताक्षर गरेका छन् ।
संस्थागत परामर्श सेवासहित पूँजी संरचना परिवर्तन, हकप्रद शेयर निष्कासन, पूँजी संकलन लगायतका कार्य गर्न आवश्यक परामर्श लिन तथा कम्पनीको प्रबन्धपत्रमा उल्लिखित उद्देश्य बमोजिम कार्य गर्न आवश्यक सहजीकरणको लागि उक्त सम्झौता गरिएको बताइएको छ ।
वैशाख १७ गते हुने विशेष साधारणसभाबाट हकप्रद शेयर पारित गरी आर्थिक वर्ष (आव) २०८१/८२ भित्र ४० करोड चुक्तापूँजी पुर्याउने कम्पनीले जानकारी दिएको छ । साथै आव २०८२/८३ भित्र सर्वसाधारणलाई शेयर निष्कासन गर्ने लक्ष्य कम्पनीको छ ।
मुक्तिनाथ फुड बैंक धितोपत्र बजारमा सूचीकृत भई कृषि मूल्य शृंखला विकासमा कार्यरत मुक्तिनाथ कृषि कम्पनीको सहायक कम्पनीका रूपमा २०७९ सालमा स्थापना भएको कम्पनी हो । उपभोक्ताको माग बमोजिम सहज, सुलभ, नेपालमै उत्पादित र गुणस्तरीय खाद्यवस्तु उपलब्ध गराई उपभोक्ता हक हित संरक्षणमा काम गर्ने उद्देश्य कम्पनीको छ । त्यस्तै कृषकको बजार सुनिश्चितता गर्न, खाद्यवस्तुको उत्पादन, संकलन, प्रशोधन र बजारीकरण जस्ता कार्यलाई बृहत रूपमा अगाडि बढाउने कार्य कम्पनीले गर्दै आएको बताइएको छ ।