काठमाडौं । शिवम सिमेन्ट्स लिमिटेडले यस वर्षको १४ दशमलव २५ प्रतिशत बोनस शेयर वितरण गरेको छ । कम्पनीले गत पुस २७ गते सम्पन्न आठौं वार्षिक साधारण सभाबाट उक्त बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।
बोनस शेयर बापतको शेयर धितोपत्र दोस्रो बजारमा सूचीकृतपश्चात् फागुन १४ गतेदेखि सम्बन्धित शेयरधनीको हितग्राही खातामा जम्मा गर्न शुरु गरेको कम्पनीले सूचनामार्फत जानकारी दिएको हो ।
यस वर्ष कम्पनीले बोनससँगै कर प्रयोजनका लागि शून्य दशमलव ७५ प्रतिशत नगद लाभांशसमेत दिएको छ । साधारण सभा र लाभांश प्रयोजनका लागि कम्पनीले पुस १९ गते एक दिन बुक क्लोज गरेको थियो । बुक क्लोजको आधारमा पुस १८ गतेसम्म कायम शेयरधनीले मात्र कम्पनीको लाभांश प्राप्त गरेका छन् ।
कम्पनीको शेयर रजिष्ट्रारमा सिद्धार्थ क्यापिटल लिमिटेड छ । हालसम्म पनि आफ्नो शेयर अभौतिकीकरण नगराएका सदस्यको हकमा अभौतिकीकरणपश्चात् स्वतः जम्मा हुने जानकारी समेत शेयर रजिष्ट्रारले गराएको छ ।
यसअघिका वर्षमा वितरण गरिएको नगद लाभांश हालसम्म पनि नबुझेका लगानीकर्तालाई यथाशीघ्र हितग्राही खातामा बैंक खाता अद्यावधिक गराई नगद लाभांश प्राप्त गर्नसमेत कम्पनीले आग्रह गरेको छ ।