काठमाडौं। सरकारले समस्याग्रस्त घोषणा गरेको ललितपुरको पुल्चोकस्थित श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्थाको व्यवस्थापन समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले लिएको छ । समितिले आइतवार सूचना प्रकाशित गरी संस्था सञ्चालक समिति र व्यवस्थापनको अधिकार निलम्बन भएको जानकारी गराउँदै कार्यालय बन्द गरी कागजात तथा सम्पत्ति बुझाउन निर्देशन दिएको हो । सर्वसाधारणको बचत फिर्ता गर्न नसकेको भन्दै सरकारले गत फागुन २९ गते श्री लालीगुराँसलाई समस्याग्रस्त घोषणा गरेको थियो । सरकारले समितिलाई जिम्मा दिएसँगै सूचना प्रकाशित गरी संस्थासँग कुनै कारोबार नगर्न आग्रह गरेको हो ।
अब संस्थाको ऋण भुक्तानी र बचत फिर्ताको काम समितिले गर्नेछ । बचत फिर्ताका लागि छिट्टै अनलाइनमार्फत मागदाबी खुला गरिने समितिले बताएको छ । ललितपुरको पुल्चोकमा केन्द्रीय कार्यालय रहेको सहकारीले ललितपुरकै चापागाउँ, काठमाडौंको चाबहिल र न्यूरोड, भक्तपुरको कौशलटार र चितवनको पर्सामा सदस्य सुविधा काउन्टर सञ्चालन गरेको थियो । यसमा २० हजारभन्दा बढी सर्वसाधारणले ६ अर्ब रुपैयाँ हाराहारी बचत गरेको बताइएको छ । संस्थाले स्कूल, कलेज, गाई फार्म, हस्पिटल तथा हाइड्रोपावरमा समेत लगानी गरेको छ ।
सहकारी ऐन २०७४ मा सहकारी विभागका रजिस्ट्रारको सिफारिशमा भूमि, सहकारी तथा गरीबी निवारण मन्त्रालयले सहकारीलाई समस्याग्रस्त घोषणा गर्ने व्यवस्था छ । त्यसपछि समितिले संस्थाको सम्पत्ति तथा दायित्व खोजबिन गरी फरफारक गर्ने प्रावधान राखिएको छ ।
हालसम्म सरकारले १९ ओटा संस्थालाई समस्याग्रस्त घोषणा गरी समितिलाई जिम्मा लगाएको छ । त्यसमध्ये सातओटा संस्था चालू आर्थिक वर्षमा समस्याग्रस्त भएका हुन् । समितिले हालसम्म कुनै संस्थाको पनि पूर्ण रूपमा दायित्व फरफारक गर्न सकेको छैन ।