पुरानो वर्ष बितेर गयो । नयाँ शुरू भयो । अथवा भित्तामा क्यालेन्डर फेरियो । यही उपलक्ष्यमा हृदयको भित्री कुनैदेखि अनन्त शुभकामना भन्न मन लाग्छ । चलन पनि यस्तै छ । तर म भने कसैलाई शुभकामना दिने कुरामा अलि हच्किन्छु । किनकि आफूले स्वच्छ दिलले भलो चाहेर शुभकामना दियो, तर कहिलेकाहीँ उल्टो परिणाम देखेपछि मनै भरङ्ग हुन्छ भन्या ! ‘आफू ताक्छु मुढो, बन्चरो ताक्छ घुँडो’ भन्याजस्तो क्या !
मान्नुस् कि मैले तपाईंलाई सुख र शान्तिको शुभकामना दिएँ । तर तपाईंको स्वास्थ्य ठीक रहेन, तपाईंको घरमा श्रीमान् श्रीमतीबीच रसिया र युक्रेन युद्ध चलिरह्यो भने त मेरो शुभकामनाको के अर्थ रह्यो र ? त्यस्तै, मैले तपाईंलाई समृद्धिका लागि शुभकामना दिएँ, तर ऋद्धि र वृद्धि दुवै भागे भने मेरो शुभकामनाको त लास्टै बेइज्जत भएन र भन्या ? अझ व्यापारीले सामानहरूको र सरकारले करको दाम बढाइदिए भने त तपाईं पहिलेभन्दा अझ गरीब । अनि मेरो शुभकामनाको के अर्थ रहन्छ र ?
मित्रहरू ! सम्झनुस् त, मैले विगतका वर्षहरूमा तपाईंहरूलाई नयाँ वर्षले तपाईंको जीवनमा सुख ल्याओस् भन्ने शुभकामना दिएकै थिएँ । तर भयो कहिल्यै अडिट गर्नु भएको छ त ? तपाईंको पूरै वर्ष दु:खैदु:खमा बित्यो । तपाईंको शेयरको भाउ घटेर रुनु न हाँस्नुमा पुग्नुभाछ । तपाईंको व्यवसाय नै संकटमा पर्यो । प्रत्येक महीना वस्तु तथा सेवाहरूको मूल्य पनि बढ्दै गयो । तपाईं रोइकराइ गरे । सरकारलाई गाली गरे । सरकारले पनि तपाईंको गुनासा सुनेर व्यापारीहरूलाई धम्की दिइरह्यो । कत्तिलाई लगेर जेलमा थुन्यो पनि । यसले तपाईंलाई क्षणिक शान्ति र सन्तोष प्राप्त भयो पनि होला । तर अर्थको तन्त्र यस्तो रहेछ कि जसैजसै सरकारले व्यापारीलाई लखेट्यो, भित्र लगेर हुल्यो, तसै तसै आपूर्ति शृंखला मात्र बिग्रिएन, बजार मूल्य पनि ह्वात्तै बढ्यो । त्यसैले मुनाफाखोरीलाई दु:ख दिनु, गिरफ्तार गर्नु पनि पाप नै रहेछ । अहिले यै पापकै कारण त देशमा महँगी बढेको हो नि ।
यसो सोच्छु, नठग्न सजिलो छ । नचोर्न सजिलो छ । घुस नखान झनै सजिलो छ । इमानदार र कर्तव्यनिष्ठ हुन त केही गर्नुपर्दैन नि । यसो गर्दा सुख र समृद्धि चाहिँ भाग्ने रहेछन् ।
मेरा शुभकामनाहरूले प्राय: उल्टो प्रभाव पार्नेे गरेका पोे देख्छु म त । अघिल्लो वर्ष मैले केही सरकारी हाकिमहरूलाई सुखी हुने शुभकामना द्याथेँ । त्यसको नतीजा यो भो कि उनीहरूले घुस खान थाले । उनीहरू त मेरो ‘सुखी हुनुहोस्’ भन्ने कामनालाई पूरा गरिदिनका लागि मात्र लागेका थिए । तर घुस नखाई त कुनै सरकारी कर्मचारी कसरी सुखी हुन सक्थे र ? वर्षभरि त उनीहरू सुखी नै थिए । तर अन्तमा अख्तियारको फन्दामा परेर गिरफ्तार भएछन् । अब मेरो शुभकामनामा म खुसी हुनु कि दु:खी हुनु ? भन्नुस् त ।
अघिल्लो वर्ष मैले केही नेताहरूलाई पनि ‘तपाईंको नयाँ वर्ष सुखमय रहोस्’ भनेर सन्देश पठाएको थिएँ । तर अहिले ती सबै जेलमा छन् । केही जेल जाने क्रममा पनि छन् । तपाईंले चिनिहाल्नु भो नि, मैले क–कसलाई शुभकामना दिएको रहेछु भनेर ।
मैले केही व्यापारीलाई पनि सुखी रहने शुभकामना दिएको थिएँ । उनीहरू पनि सुखी हुने बाटोमा लागेछन् । अर्थात् त्यसै बेलादेखि उनीहरू राम्रै कमाउ धन्दामा लागेछन् । उनीहरू पनि अहिले त मेरो शुभकामनाले खुबै खुुसी छन्, कतिबेला फ्याट्ट ठगीमा पक्राउ पर्ने हुन्, म थर्कमान छु ।
मेरा केही पत्रकार मित्रहरूलाई पनि मैले नयाँ वर्षको शुभकामना दिन भ्याएको मात्र के थिएँ, लेख्ने, खोजी पत्रकारिता गर्ने कामधाम बन्द गरेर उनीहरूले भोलिपल्टैदेखि अनलाइन समाचार पोर्टल शुरू गरेछन् । सोचेकोजस्तो व्यवसाय नचलेपछि कतै कतै त ‘ब्ल्याकमेलिङ’ स्टार्टअप पनि शुरू भएछ । यो धन्दाको परिणाम के आउँछ म अहिल्यै भन्न सक्तिनँ । तर उनीहरू सुखी नै रहने काम गरिरहन्छन् भन्ने चाहिँ अनुमान छ ।
त्यसो त मैले विगतका वर्षहरूमा शिक्षकदेखि प्रहरी, डाक्टरदेखि कन्डक्टरसम्म धेरैलाई शुभकामना दिएकै छु । तर ज–जसलाई मैले शुभकामना दिएको छु, शुरूमा उनीहरूको राम्रै भए पनि पछि गएर सुख दु:खमा पो परिणत भएको पाएको छु ।
मैले नयाँ वर्ष दु:खमय होस्, कष्टमय होस् भन्न सकेको भए पो हुन्थ्यो कि ? यसो सोच्छु, नठग्न सजिलो छ । नचोर्न सजिलो छ । घुस नखान झनै सजिलो छ । इमानदार र कर्तव्यनिष्ठ हुन त केही गर्नुपर्दैन नि । यसो गर्दा सुख र समृद्धि चाहिँ भाग्ने रहेछन् । मैले प्याच्च सुख र समृद्धिको कामना गरिदिएपछि बिचराहरूलाई गाह्रो गाह्रो काम गर्न मन लाग्ने रहेछ कि क्या हो ? त्यसैले अचेल शुभकामना दिनै डर लाग्छ भन्या ।
एक त कुनै पनि इमानदार व्यक्तिलाई सुख दिने काम कसैको वशको कुरा हैन । हिजोआज भगवान्को त आशिष लाग्दैन भन्छन् । म एक सामान्य मानिसले दिएको शुभकामनाको के असर होला र ? यदि मेरा शुभकामनाको असर हुने नै हो भने तपाईंले आफ्नो सत्य, भलादमीपन छाडेर के के चाहिने नचाहिने गर्न थालिहाल्नुहुन्छ । तपाईं कालाबजारी शुरू गर्नुहुन्छ । गुणस्तरहीन सामान बेच्न थाल्नुहुन्छ । कर छल्न र नेताका हातपाउ मल्न शुरू गर्नुहुन्छ । तपाईं एनजीओ खोलेर विदेशीका हितका लागि र स्वदेशीका विरुद्धमा काम गर्न थाल्नुहुन्छ ।
नेतासँग आँखा सन्काउनुहुन्छ अनि सरकारसँग चन्दा पड्काउनुहुन्छ । सीधा बाटोबाट त अहिलेको सामाजिक, आर्थिक र राजनीतिक व्यवस्थामा कोही सुखी हुनै सक्तैन । अनि तपाईं बांगो बाटोबाट सुखी हुन शुरू गर्नुहुन्छ । माइन्ड नगर्नुस् है मित्रहरू ! त्यसैले त मैले तपाईंहरूलाई यो नयाँ वर्षमा कुनै शुभकामना नदिएको क्या ! कतै तपाईं फेरि सुखी हुने कोशिस गर्नतिर लाग्नुहोला कि भनेर नि !