काठमाडौं । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्ष (आव)को तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।
उक्त वित्तीय विवरण अनुसार कम्पनीको नाफामा उल्लेख्य वृद्धि भएको छ । कम्पनीको खुद नाफा गत आवको तेस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा २६३ प्रतिशत वृद्धि भएको छ ।
गत आवमा कम्पनीले रू. ७७ लाख ७ हजार नाफा कमाएकोमा चालू आवमा बढेर रू.२ करोड ८० लाख पुगेको हो । चालू आवमा कम्पनीको खराब कर्जा घटेकाले र सञ्चालन नाफा वृद्धि भएकाले नाफा बढ्न टेवा पुगेको हो । गत आवमा कम्पनीको सञ्चालन नाफा रू. ८७ लाख ७ हजार रहेकोमा चालू आवमा बढेर रू. ३ करोड ४० लाख पुगेको छ । कम्पनीको इम्पेयरमेन्ट चार्ज घटेसँगै कम्पनीको सञ्चालन नाफामा बढ्न टेवा पुगेको हो ।
गत आवमा कम्पनीको इम्पेयरमेन्ट चार्ज रू.५ करोड रहेकोमा चालू आवमा घटेर रू. ५४ लाख ८७ हजारमा झरेको छ । त्यस्तै कम्पनीको खुद ब्याज आम्दानी गत आवको तुलनामा चालू आवमा १७ प्रतिशत वृद्धि भएको छ । गत आवमा कम्पनीको खुद ब्याज आम्दानी रू. १७ करोड ५७ लाख रहेकोमा चालू आवमा बढेर रू. २० करोड ३७ लाख पुगेको हो ।
त्यस्तै कम्पनीको निष्क्रिय कर्जा ९ दशलमव ८४ प्रतिशत रहेकोमा चालू आवमा घटेर रू. ४ दशमलव ७४ प्रतिशतमा सीमित भएको हो । चालू आवमा कम्पनीको नाफामा वृद्धि भएसँगै प्रतिशेयर आम्दानी पनि वृद्धि भएको छ । गत आवमा कम्पनीको प्रतिशेयर आम्दानी ३ रुपैयाँ ८५ पैसा रहेकोमा चालू आवमा बढेर १४ रुपैयाँ २२ पैसा पुगेको हो ।
चुक्ता पूँजी रू. २६ करोड ६४ लाख रहेको कम्पनीले तेस्रो त्रैमाससम्ममा जगेडामा रू. ३१ करोड १ लाख सञ्चिति गरेको छ । सो अवधिमा कम्पनीको वितरणयोग्य नाफा रू. २ करोड १८ लाख छ । कम्पनीको प्रतिशेयर नेटवर्थ रू. २१६ दशमलव ४० पुगेको छ ।