ओहो ! यति लामो जीवनमा समय कसरी काट्ने भन्ने चिन्तामा छन् ? छन् भने सरकारी जागीर खानुस्, समय आरामले कट्छ । सरकारी जागीरको सबैभन्दा ठूलो फाइदा यो छ कि पूरै दिन बडो सहजसँग गुज्रिन्छ । राति सुत्नुस् । दिनमा झप्की लिनुस्, त्यो पनि सरकारी कुर्सीमा । सेवाग्राहीका खल्तीबाट पैसा निकाल्न लगाएर चिया खाजा खानुस् । अनि दोस्रोसँग मिलेर तेस्रोको आलोचना गर्नुस् वा राजनीतिक टीकाटिप्पणी गर्नुस् । तपाईंलाई भेट्न आउनेलाई सरकारी चिया अर्थात् कालो चियाले स्वागत गर्नुस् अनि शुरू गर्नुस् संसारभरिका गफ । समय सजिलै बितिहाल्छ अर्थात् मरिहाल्छ ।
नेपालमा समय मार्ने थुप्रै तरीकाहरू छन् । त्यसमा सबैभन्दा उत्तम तरीका नै राष्ट्रसेवक बन्नु हो अर्थात् सरकारी जागीर खानु नै हो । जस्तै, तपाईं कुनै विभागको उपनिर्देशक वा महानिर्देशक वा उपसचिव, शाखा अधिकृत बन्नुस् । सूचना अधिकारी वा प्रवक्ता नै बन्नुहोस् । समय कटाउन बडो सजिलो हुन्छ ।
धेरैले भनेको सुनिन्छ– समय कसरी काट्नु, त्यसको टुक्रा टुक्रा पार्नु र त्यसलाई विभिन्न दिशाहरूमा फ्याँक्नु कसरी ? सरकारी जागीर खाएपछि त्यो सजिलै समाधान हुन्छ । अफिसमा तपाईंले एउटा कुर्सी पाउनुहुन्छ । सँगै एउटा टेबुल पनि हुन्छ । त्यहाँ आफ्नो पिठ्युँ टेकाउनुस्, हातखुट्टा लम्पसार पार्नुस् र समयलाई चुइगमसरी पलपल चपाइरहनुस् ।
त्यसैले त भनेको हो नेपालमा समय बिताउन सबैभन्दा उम्दा तरीका सरकारी जागीरमा गिर्नु नै हो । तर जुन पायो त्यही होइन नि । कुनै कुनै सरकारी अफिसमा त दिनभरि मारामार काम हुन्छ । जस्तो कि नागरिकता बनाउने ठाउँमा, मालपोतमा, भन्सारमा । तर अरू धेरैजसो सरकारी जागीर, त्यसमा पनि खरदार, सुब्बा माथिको तहमा त मस्ती मात्रै ।
उनीहरू जसले सरकारी जागीरको सुखबाट वञ्चित छन्, उनीहरूले के गर्ने त ? यदि तपाईंसँग जागीर छैन त के भो र ? कुनै सरकारी अफिस छिर्नोस् र कुनै पनि हाकिमसँग घण्टौं बसेर गफ छाँट्नोस् । हुन त तपाईंले भेट्न खोजेको हाकिमको सरुवा भइसकेको हुन सक्छ । सरुवा भएको रैन्छ भने पनि उनी कहाँ छन् भन्ने पत्ता लगाउँदा लगाउँदै २–४ घण्टा लाग्न सक्छ । सामान्यतया अफिसमा उनको कोठामा त उहाँलाई भेट्न सकिन्न । किनकि उहाँ कि त क्यान्टिनमा हुन सक्नुहुन्छ, क्याबिनमा हुन सक्नुहुन्छ विशेष गोप्य वार्ता गर्दै, वा उहाँ उनको हाकिम वा मन्त्रीलाई समय बिताउन मद्दत गर्न गएको हुन सक्नुहुन्छ ।
वास्तवमा नेपालमा समय काट्न खासै गाह्रो छैन क्या ! तपाईंले चिया पसल होस् या चौतारी, एयरपोर्ट होस् वा बस बिसौनीमा सामुन्ने उभिएको कसैसँग कुरा शुरू गर्दिनोस् । एकसे एक विज्ञबाट ज्ञान पनि पाउनुहुन्छ, समय पनि कट्छ । यसो शेयर मार्केटको कुरो निकाल्नुहोस्, बारेन बफेटका पनि गुरुहरू एकसे एक शेयरमा पैसा कमाउने सूत्र भन्न शुरू गरिहाल्छन् ।
प्राय:जसो नेपालीको मुखमा ‘सरकारले काम नै गरेन’ भन्ने हुन्छ । खासमा सरकारले मानिशहरूलाई समय कटाउन सजिलो होस् भनेरै काम नगरिदिएको हो । खै मानिसले सरकारको राम्रो सोचलाई बुझ्न सकेको ? काम गरिदिएपछि मानिसले के कुरा गर्ने ? समय कसरी कटाउने ? त्यसैले जनताकै हितका खातिर सरकारले काम नगरेको हो ।
यदि तपाईंलाई समयले पिरल्यो भने जहाँ कहीँ जानोस्, त्यहाँ कुनै एउटा विषयमा गफ झिक्नोस् र प्याजको पत्र पल्टाएसरी आग्रादेखि गाग्राको प्रसंग निकाल्नोस् । अनि थाहा पाउनुहुन्छ कि समय कसरी तड्पी तड्पीकन आफै बित्दै जान्छ ।
समयमाथि गोली चलाउने अर्को तरीका यो पनि हो कि कुनै एक जना मन्त्रीकोमा घुस्नुस् । यो देशमा मन्त्रीहरू त फालाफाल छन् । सरकारीतन्त्रमा मन्त्री त ओभरलोडेड नै छन् । त्यसैले तपाईंलाई समयलाई पिट्नु छ भने कुनै एक संघीय नभए प्रदेशकै भए पनि मन्त्रीको नयाँ बंगलामा छिर्नोस् । भन्दिनुस् ‘दर्शन गर्न, वा बधाई दिन, नभए निमन्त्रण दिन, वा गुनासो गर्न आएको’ भनेर । नत्र स्पष्ट भन्दिनुभए पनि हुन्छ– यसो समय कटाउन आएकोे भनेर । तपाईंलाई स्वागत भइहाल्छ । किनकि उहाँलाई पनि समय कटाउन पर्छ नि त ।
मन्त्रीले विभाग फुटाउनेदेखि देश जोगाउनेसम्म, कर्मचारी बढाएर रोजगारी बढाउनेदेखि देशलाई विकास पथमा कुदाउनेसम्मका कुनै कुरा छुटाउनु हुन्न । उहाँ खर्च कम गर्ने विषयबाट कुरा शुरू गरेर विदेशलाई जित्ने १० ओटा नयाँ योजना लागू गर्ने कुराबाट अन्त गर्नुहुनेछ ।
अन्तमा तपाईं उहाँलाई निमन्त्रणा दिनुस् र भन्नुस् कि, ‘घर अगाडि एउटा खाल्डो खनेको छु र हजुरले एकपटक हेर्दिनुहुन्थ्यो कि भन्ने इच्छा थियो । यै बहानामा हाम्रो टोलका मान्छेले तपाईंको दर्शन पनि पाउँथे र तपाईंको सहयोग र आशीर्वाद प्राप्त भयो भने प्रत्येक घर अगाडि खाल्डो खन्नका लागि युवकका नयाँ समूह बनाउँदै अघि बढ्थ्यौं । र, यदि तपाईंको निर्देशन हुने हो भने सडकको बीचमै खाल्डो खन्दिछौं ।’
यो सुनेपछि मन्त्रीजीले तपाईंको कुरामा मनन गर्नेछन् र भन्नेछन्, ‘तपाईंलाई थाहै छ, म त सधैं खाल्डोको समर्थक हुँ । जब म प्रतिपक्षमा थिएँ, मैले प्रत्येक पटक सरकारसँग बजेटमा माग नै थियो कि देशमा धेरैभन्दा धेरै खाल्डाखुल्टीहरू खनियोस् ।
त्यसैले म देशैभरि विनाभेदभाव बढीभन्दा बढी खाल्डाखुल्टी खनाउने पक्षमा छु । तपाईंलाई थाहै छ अघिल्लो सरकारले केही कामै गरेन । त्यसैले अहिले ती सबै समस्या हाम्रोमा सरेको छ । हामी सरकारमा आउनासाथ पहिलो काम नै देशैभर खाल्टाहरू खन्ने भएका छन् । सवाल यो हो कि जबसम्म तपाईंले खाल्डाखुल्टीहरू खन्नुहुन्न, देशको अर्थतन्त्र कसरी सुध्रिन्छ र ?
मैले पत्ता लगाएको छु कि राष्ट्रिय औसत यो छ कि सडकमा हरेक दश फिटमा एउटा खाल्डो हुनैपर्छ । म त भन्छु कि यदि दश फिटमा भएन भने पनि बीस फिटमा भए पनि चल्छ । नाडा एशोसिएसनका पदाधिकारीहरूको पनि यही माग छ क्यारे ! तर के गर्नु ? विपक्षीहरू हाम्रा यी राष्ट्रिय सरोकारका प्राथमिकताका पूर्ण विरोधी छन् । भन्छन् कि सडकमा खाल्डाखुल्टी हुनु हुँदैन । अब अमेरिका र बेलायतको उदाहरण यहाँ दिएर हुन्छ त ?
विदेशको परिस्थिति भिन्न छ । नेपालको आफ्नै दृष्टि र परम्परा छ । जब यहाँका जनता खाल्डाखुल्टी चाहन्छन् भने सरकारको दक्षता यसैमा हुन्छ कि खाल्डाखुल्टी बढीभन्दा बढी हुन् । हाम्ले त हाम्रो दलको घोषणापत्रमा जनतालाई आश्वासन दिएका पनि छौं कि हामी त खाल्डा खन्छौं खन्छौं । नत्र राजीनामा दिन्छौं ।’
यसरी जहाँ गए पनि यस्तै पाराकोे गफ निकाल्नोस् र समय कटाउनुहोस् । यहाँ झिँगा मार्ने बाहेक पनि समय बिताउने थुप्रै तरीका हुन सक्छन् नि ! त्यसैले तपाईं कुनै पनि अफिसमा छिर्नुस् र शुरू गर्दिनुस् हाकिमसँग यस्तै कुनै गफ । ओलीदेखि गोलीसम्मका कुरा, दलदेखि दलबदल, अनि मल र छलका कुरा । समय त आज पनि त कटाउनु छ नि हिजोजस्तै । कसो ?