काठमाडौं । सनराइज म्युचुअल फण्डअन्तर्गत सञ्चालित सनराइज ब्लूचिप फण्डले असार मसान्तको खुद सम्पत्ति मूल्य विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार फण्डले जेठको तुलनामा असारमा सूचीकृत शेयरमा लगानी बढाएको छ ।
जेठ मसान्तमा फण्डले सूचीकृत शेयरमा रू. ८७ करोड ९३ लाख लगानी गरेकोमा असार मसान्तमा बढाएर रू. १ अर्ब २ करोडभन्दा बढी पुर्याएको छ ।
त्यस्तै फण्डको प्रतिइकाई खुद सम्पत्ति मूल्य विवरण (न्याभ) पनि जेठको तुलनामा असारमा वृद्धि भएको छ । जेठ मसान्तमा फण्डको न्याभ ९ रुपैयाँ ५२ पैसा रहेकोमा असार मसान्तमा बढेर १० रुपैयाँ २९ पैसा पुगेको हो ।
असार मसान्तसम्ममा फण्ड रू. ७ करोड ५९ लाख घाटामा छ । जेठ मसान्तमा भने फण्ड रू. १७ करोड ४६ लाख घाटामा थियो । यस आधारमा फण्डको घाटा जेठको तुलनामा असारमा घटेको छ । असार मसान्तमा फण्डको जम्मा आम्दानी रू. ५ करोड ५६ लाख ऋणात्मक छ ।