काठमाडौं महानगरपालिकाले संस्थागत (कर्पोरेट) बहाल कर उठाउन कडाइ गर्दा व्यवसायीहरू दोहोरो करको मारमा परेका छन् । संघीय सरकारअन्तर्गतको आन्तरिक राजस्व कार्यालयले पनि घरबहाल उठाउने र महानगरपालिकाले पनि आफ्नो अधिकार क्षेत्रभित्र पर्ने भन्दै कडाइका साथ उठाउन थालेपछि उनीहरूले एउटै शीर्षकको कर संघीय र स्थानीय दुवै सरकारलाई बुझाउनुपर्ने स्थिति बनेको छ । दुवै सरकारले यो समस्या बुझेर पनि व्यवसायीमाथि दोहोरो कर उठाउन खोज्नु विडम्बना हो । संघीय सरकारले संविधान मिचेर घरबहाल कर उठाउनु संघीयताको गलत अभ्यास हो । नेपालको संविधानले स्थानीय तहलाई विभिन्न कर उठाउन पाउने अधिकार दिएको छ ।
संविधानको धारा २२६ को उपधारा (१), स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा १०२ बमोजिम पालिकाहरूले आफैले राजस्व ऐन, २०७५ जारी गरी यसैमार्फत बहाल कर संकलन गर्न सक्छन् । त्यसअनुसार घरबहाल कर पनि स्थानीय सरकारको मातहतमा रहेको छ । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ५७ मा गाउँपालिका वा नगरपालिकाको आफ्नो क्षेत्रभित्र कुनै व्यक्ति वा संस्थाले भवन, घर, पसल, ग्यारेज, गोदाम, टहरा, छप्पर, कारखाना, जग्गा वा पोखरी पूरै वा आंशिक तवरले बहालमा दिएकोमा गाउँपालिका वा नगरपालिकाले त्यस्तोमा बहाल कर लाग्ने व्यवस्था छ । अन्तरसरकारी वित्त व्यवस्थापन ऐन, २०७४ को अनुसूची ३ मा घरबहाल कर स्थानीय तहको एकल अधिकार क्षेत्रभित्र राखिएको छ । तर, संघीय सरकारले दिएको राजस्व लक्ष्य पूरा गर्न नसकेपछि तत्कालीन अर्थमन्त्री डा. युवराज खतिवडाले घरबहाल करलाई आन्तरिक राजस्वअन्तर्गत तानेका थिए ।
संघीय सरकारले विगतमा कर लिएको नाममा वा स्रोतमा दबाब परेको नाममा कर्पोरेट हाउशहरूसँग घरबहाल कर लिनु हुँदैन । यदि संघीय सरकारले नै लिने हो भने संविधान, ऐनकानूनहरू संशोधन गर्नुपर्छ ।
२०७४ चैत २४ गतेको मन्त्रिपरिषद्बाट निर्णय गराउँदै संस्थागत बहाल कर आन्तरिक राजस्वले लिने निर्णय भएको थियो । मन्त्रिपरिषद्बाट संस्थागत बहाल कर मात्रै आन्तरिक राजस्वले लिने निर्णय भएपनि कार्यालयले व्यावसायिक करलाई पनि संस्थागत करकै रूपमा व्याख्या गरेर उठाउन थालेको थियो । स्थानीय तहले त्यसको विरोध त्यति बेलै गरे पनि सरकारलाई स्रोतमा दबाब परिरहेका बेला त्यो विषय त्यतिकै सामसुम पार्न खोजिएको थियो । तर, दलहरूका प्रतिनिधि नै भएकाले धेरै स्थानीय तहले यो घरबहाल कर उठाइरहेका छैनन् । काठमाडौं महानगरपालिकाले भने संघीय सरकारले आफ्नो कुरा नसुनेपछि संस्थागत घरबहाल कर पनि उठाउन थालेको छ ।
कुनै पनि सरकारले गैरकानूनी रूपमा कर लिन पाउँदैन । तर, अहिले कानूनको गलत व्याख्या गरेर दुवै सरकारले आआफ्नो क्षेत्राधिकार भएको दाबी गर्दै कर उठाउने प्रयत्न गरेका छन् । खासमा यसमा संघीय सरकारको अर्घेलो देखिन्छ । विगतमा राजस्व विभागले १० प्रतिशत र नगरपालिकाले २ प्रतिशत घरबहाल लिने गरेका थिए । २०७५ सालको वैशाखमा राजपत्रमा सूचना प्रकाशित गरेर स्थानीय तहले नै घरबहाल कर उठाउने निर्णय गरे पनि केन्द्र सरकारले संविधानविपरीत कर उठाउन छाडेको छैन । यसमा संघीय सरकारको ज्यादती देखिन्छ ।
ऐनकानूनको पालना सरकारले नगर्ने हो भने मुलुक अराजकतातिर जान्छ, जनता अन्यायमा थिचिन्छन् । अहिले भएको त्यस्तै छ । यो दोहोरो करको मारव्यवसायीहरू पर्नु हुँदैन । संघीय सरकारले विगतमा कर लिएको नाममा वा स्रोतमा दबाब परेको नाममा कर्पोरेट हाउशहरूसँग घरबहाल कर लिनु हुँदैन । यदि संघीय सरकारले नै लिने हो भने संविधान, ऐनकानूनहरू संशोधन गर्नुपर्छ । सरकारले कर लिन पाउँछ तर विनाकानूनी आधार लिन पाउँदैन । त्यसैले यो दोहोरो करको मारमा करदातालाई पार्न हुँदैन । अन्यथा संघीयता झनै विकृति बन्दै जानेछ ।