वीरगञ्ज । वीरगञ्ज सुक्खा बन्दरगाहको हरियो लेन दुरुपयोग गरी एउटा वस्तु घोषणा गरेर प्रतिबन्धित मालसामान भित्त्याइएको घटनालाई राजस्व अनुसन्धान विभागले निगरानीमा राखेको छ । भन्सार विभागदेखि बन्दरगाह भन्सार कार्यालयका तत्कालीन उच्च पदस्थ अधिकारीसमेतको मिलेमतोको आशंका गरिएको यो प्रकरणमा अहिले भन्सार विभागले अनुसन्धान गरिरहेको छ । यसमा तत्कालीन सत्ताधारीको स्वार्थ र संरक्षण रहेको भन्सार विभागकै अधिकारी बताउँछन् ।
प्रारम्भिक अनुसन्धान र कारबाहीको जिम्मेवारी भन्सारको भए पनि राजस्व अनुसन्धान विभागले निरन्तर निगरानी राखेको विभागका महानिर्देशक नवराज ढुंगानाले बताए । ‘भन्सारले कानूनबमोजिम कारबाही अघि बढाउने हो । त्यसअनुसार नभए हामीले अनुसन्धान गर्छौं । अहिले अनुसन्धानका लागि चाहिने आवश्यक सूचना लिने काम भइरहेको छ,’ राजस्व अनुसन्धानका महानिर्देशक ढुंगानाले आर्थिक अभियानसित भने ।
कुखुराको दाना र मुसुरोको दाल ल्याएको भनिएका कन्टेनरमा सुपारी, मासको दालमा पोस्ता दाना, हार्डवेयरका सामानमा स्कूटर, मदिरालगायत सामान फेला परेपछि बन्दरगाह भन्सारले अनुसन्धान अघि बढाएको छ । बन्दरगाहमा ४ वर्षदेखि थन्किएका ४ सय कन्टेर खोलेर हेर्दा १०० भन्दा बढी कन्टेनरमा बदमासी भेटिएको भन्सार विभागका एक अधिकारीले बताए ।
भन्सार विभागले गरेको प्रारम्भिक अनुसन्धानमा ठूला व्यापारिक घरानाले मिलेमतोमा घोषणाभन्दा फरक मालसामान भित्त्याउने गरेको रहस्य खुलेपछि अहिले भन्सार विभाग नै यो प्रकरणलाई गुपचुप राख्न प्रयासरत छ । २०७६ चैतदेखि बन्दरगाहमा अलपत्र छोडिएका कन्टेनर जफत गर्ने प्रक्रिया अघि बढेपछि यस्तो अवैध धन्धाको पोल खुलेको हो ।
सरकारले त्यसैबेला विदेशी विनिमय सञ्चितिमा दबाब परेको भन्दै केराउ, मरिच, सुपारी, छोकडा, मदिराजस्ता वस्तुको आयातमा प्रतिबन्ध लगाएको थियो । भन्सार प्रमुख रामप्रसाद मैनालीले गत मङ्सिर १० मा बन्दरगाहमा वर्षौंदेखि अलपत्र छोडिएका कन्टेनर नलगे जफत गरिने सूचना निकालेका थिए । भन्सार हातामा भित्रिएको मालसामान ६० दिनसम्म छुटाएर नलगे भन्सारले जफत गर्नसक्ने कानूनी व्यवस्था छ ।
फरक वस्तु घोषणा गरेर प्रतिबन्धित मालसामान ल्याएको भेटिएपछि यसमा संलग्न आयातकर्तालाई उपस्थित हुन भन्सारले पत्र काटेको छ । एक महीनाभन्दा बढी समय बितिसक्दा पनि ती आयातकर्ता उपस्थित नभएको भन्सार प्रमुख मैनालीले बताए । आयातकर्ता उपस्थित नभएपछि नेपाल राष्ट्र बैंकमार्फत विवरण खोज्ने काम भइरहेको उनले बताए । बैंकहरूसँग थप जानकारी लिने काम भइरहेको जानकारी मैनालीले दिए । भन्सार विभागको टोली वीरगञ्ज आएर स्थलगत अवलोकन गरेर फर्किइसकेको छ । यो प्रकरणमा भन्सार विभाग र बन्दरगाह भन्सारका तत्कालीन उच्च अधिकारीसमेत तानिने संकेत देखिएपछि विभाग नै यो विषयलाई फितलो बनाउन लागेको र यसका लागि राजनीतिक दबाबसमेत परेको भन्सार विभागका अधिकारी बताउँछन् ।
भन्सार विभागका सूचना अधिकारी पुण्यविक्रम खड्का बन्दरगाह भन्सारले अनुसन्धान गरिरहेकाले यसबारे आफूलाई विस्तृत जानकारी नभएको बताउँछन् । भन्सारको हरियो लेनमा जाँचपास हुने वस्तु घोषणा गरेर प्रतिबन्धित वस्तु भित्त्याउने गरेको खुलासा भएको थियो । भन्सारमा हरियो, पहेंलो र रातो लेनमा जाँचपास हुन्छ । हरियो लेनमा आउने वस्तु आयातकर्ताको घोषणाकै भरमा भन्सार अधिकारीले जाँचपास गर्ने भएकाले यो लेनको दुरुपयोग भएको हो । पहेंलोमा कागजातको जाँच हुन्छ । रातो लेनमा कागजपत्र र मालसामान दुवैको जाँच हुन्छ । लेन दुरुपयोगको पोल खुलेपछि भन्सार विभागले अहिले बन्दरगाह भन्सारमा हरियो लेन नै हटाइदिएको छ ।
ठूला व्यापारीले सर्वसाधारणको नाममा फर्म खोलेर अवैध धन्धा चलाएको आशंका अनुसन्धान अधिकारीहरूको छ । ‘एउटा सामान घोषणा गरेर अर्कै सामान कसरी आयो, भुक्तानी भएको छ कि छैन, भएको छ भने कुन मोडेलमा भएको छ, कति मुद्रा अपचलन भएको छ भन्नेलगायत सूचना लिने काम भइरहेको छ,’ राजस्व अनुसन्धान विभागका महानिर्देशक ढुंगानाले भने ।