काठमाडौं । स्थानीय बजारमा आज (मंगलवार) सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार यो मूल्य स्थानीय बजारमा हालसम्मकै सबैभन्दा बढी हो ।
सोमवार प्रतितोला १ लाख ६५ हजार ६०० रुपैयाँमा कारोबार भएको छापावाला सुन आजका लागि भने १ लाख ६५ हजार ९०० रुपैयाँ निर्धारण भएको छ ।
यस्तै, चाँदीको मूल्यले आज पनि कीर्तिमान कायम गरेको छ । सोमवारको तुलनामा आज चाँदी प्रतितोला ५ रुपैयाँ वृद्धि भएको छ । सोमवार प्रतितोला २ हजार ९५ रुपैयाँमा कारोबार भएको चाँदी आजका लागि भने २ हजार १०० रुपैयाँ निर्धारण भएको महासङ्घले जनाएको छ ।
अन्तरराष्ट्रिय बजारमा पनि सुन हालसम्मकै उच्च मूल्यमा कारोबार भइरहेको छ । अन्तरराष्ट्रिय बजारमा आज सुनको मूल्य प्रतिऔंस २ हजार ७३० दशमलव ५५ अमेरिकी डलर पुगेको छ । यो मूल्य अघिल्लो दिनको अन्तिम कारोबारको तुलनामा ९ दशमलव ०१ अमेरिकी डलरले बढी हो ।