भारत सरकारले हालै बजेटमार्फत सुनचाँदी आयातमा लाग्ने भन्सार महशुल १५ प्रतिशतबाट घटाएर ६ प्रतिशत कायम गरेपछि त्यसको असर नेपालमा परेको छ । नेपालमा चालू आर्थिक वर्ष (आव) को बजेटमार्फत सुन आयातमा लाग्ने भन्सार महशुल दर वृद्धि गरी २० प्रतिशत पुर्याइएको थियो । भन्सार महशुलका कारण नेपालमा भन्दा भारतमा सुन सस्तो हुन पुगेको छ । यसले गर्दा भारतबाट तस्करी भएर सुन नेपाल आउने सम्भावना बढेको छ । यसबाट नेपालका सुनचाँदी व्यवसायी मर्कामा पर्ने देखिएको छ । तर, सरकारले सुनचाँदी आयातमा लाग्ने भन्सार महशुल दर पुनरवलोकन गर्न भने चासो देखाएको छैन ।
नेपाल सुन तस्करीको ट्रान्जिट बन्नुको एउटा कारण भारत र नेपाल बीच सुनमा लाग्ने भन्सार दर फरक हुनु पनि हो । भारतमा भन्सार दर बढी भएपछि तेस्रो मुलुकबाट सुन नेपाल भित्रिने र भारततर्फ अवैध तरीकाले जाने गरेको थियो । त्यसलाई रोक्न नेपालले सकेको छैन । विभिन्न तरीकाले हुने तस्करी अहिले पनि रोकिएको छैन भन्न सकिन्छ । तस्करीबाट आएको सुन नेपालको बजारमा पनि केही खपत भएको अनुमान छ । नेपालमा सुन आयातको अधिकार बैंकहरूलाई मात्रै छ । बैंकहरूले आयात गरेको सुन दैनिक २० किलो व्यवसायीलाई विक्री गर्छन् । तर, बजारमा सुनको कारोबार र व्यवसायीको संख्या हेर्दा २० किलोभन्दा बढी सुनको कारोबार भएको अनुमान सहजै गर्न सकिन्छ । त्यसमा पनि विवाहको याम र चाडपर्वमा सुनको विक्री बढी हुन्छ । त्यसैले सरकारले तोकेको कोटाभन्दा बढी सुन बजारमा किनबेच भइरहेको सहजै अनुमान हुन्छ ।
त्यसैले सरकारले सुनमा लगाइएको भन्सार शुल्कको औचित्य हेर्नुपर्छ । काँचो सुन विक्री गर्न नपाइने र गरगहना मात्रै विक्री गर्ने भनिए पनि काँचो सुन पनि पर्याप्त मात्रामा विक्री भइरहेको छ । नेपालमा भन्सार महशुल बढी भएकाले शून्य भन्सार भएका खाडी मुलुक, सिंगापुर, हङकङमा जाने नेपालीले गहनाको आकार दिएर सुन लिएर आउने गरेको पाइन्छ । दुबईमा त नेपालीले सुनको पसल खोलेर बसेको र तिनीहरूकहाँ गएर नेपालमा चल्ने डिजाइनका गहना बनाएर ल्याउने गरेको पाइन्छ । एक तोला सुनमा १० हजारभन्दा बढी फरक पर्ने र त्यहाँबाट एउटा व्यक्तिले ५०ं ग्रामसम्म सुनका गरगहना ल्याउन पाउने भएकाले यसरी सुन भित्रिने गरेको छ ।
यसले एकातिर सरकारले भन्सार राजस्व गुमाएको छ भने अर्कातिर नेपालमा सुनचाँदी व्यवसायीको अर्बौं लगानी प्रभावित भएको छ । तिनले कयौं व्यक्तिलाई रोजगारी दिएका छन् । व्यवसायीका लागि सुन कच्चा पदार्थ हो । त्यसैले यसमा लाग्ने भन्सार शुल्कमा विशेष ध्यान जानु आवश्यक छ । सुनमा लगाइने भन्सारका कारण अर्थतन्त्रमा पर्ने असर, सरकारले गुमाउने राजस्व आदिलाई दृष्टिगत गरी छिमेकी मुलुक भारत र अन्य देशले लिएको नीतिअनुसार सुनमा भन्सार लगाउनु उपयुक्त हुन्छ ।
व्यवसायीले अर्थमन्त्रीलाई आफ्नो समस्या सुनाए पनि भन्सार दर परिवर्तन बारे कुनै निर्णय गरेको पाइँदैन । भन्सार बढी लगाउँदा उल्टो सरकारले कम राजस्व प्राप्त गर्ने भएकाले कम्तीमा पनि भारतसँग बराबर हुने गरी मात्रै भन्सार शुल्क लगाइनु उपयुक्त हुन्छ ।