काठमाडौं । डोनाल्ड ट्रम्पको अमेरिकी राष्ट्रपति पदमा भएको विजयले अमेरिकाबाहेक बाँकी विश्वका लागि तत्कालै र गम्भीर आर्थिक परिणामहरू निम्त्याउने आकलन गरिएको छ ।
अमेरिकी राष्ट्रपतिमा बुधवार निर्वाचित भएपछि विश्वका नेताहरूबाट बधाई सन्देश ग्रहण गर्दै ट्रम्पले आफूलाई शासन गर्न ‘शक्तिशाली जनादेश’ प्राप्त भएको दाबी गरेका छन् । उच्च भन्सार महशुल लगाउनेदेखि, नियमन घटाउने, तेल उत्खनन बढाउने र अमेरिकाका उत्तर एटलान्टिक सन्धि संगठन (नाटो)का साझेदारहरूलाई थप वित्तीय जिम्मेवारीको माग गर्ने जस्ता उनले गरेका वाचाहरूको थोरै मात्र अंश लागू गरेमा
सरकारहरूको वित्तीय अवस्था, मुद्रास्फीति, आर्थिक वृद्धिदर र ब्याजदरहरूमा विश्वव्यापी असर पर्ने अन्तरराष्ट्रिय समाचार संस्था रोयटर्सले आफ्नो रिपोर्टमा उल्लेख गरेको छ । ट्रम्पको रिपब्लिकन पार्टीले सिनेटमा पनि बहुसंख्यक सिट हासिल गर्यो । यसले ट्रम्पलाई आफ्ना प्रस्ताव कार्यान्वयन र प्रमुख नियुक्तिहरू सजिलैसँग गर्न मद्दत पुर्याउन सक्छ ।
‘ट्रम्पका आर्थिक वाचाहरू अमेरिकी अर्थतन्त्र र विश्वका वित्तीय बजारका लागि अत्यन्त चिन्ताजनक छन्, किनकि तिनले पहिले नै अत्यधिक घाटा भएको बजेटलाई अझ बढाउने मात्र होइन, मुख्य संस्थाहरूलाई कमजोर बनाउने सम्भावना छ,’ युनिक्रेडिटका अर्थशास्त्री एरिक निल्सनले रोयटर्सलाई भने, ‘ट्रम्पले अमेरिकी ट्रेजरी बजारमा गम्भीर असर गर्न सक्नेछ, जसले विश्वव्यापी वित्तीय स्थिरता नै खल्बलिन सक्छ ।’
ट्रम्पले सबै विदेशी वस्तुको आयातमा १० प्रतिशत भन्सार महशुल र चीनबाट आउने वस्तुको आयातमा ६० प्रतिशत भन्सार महशुल लगाउने घोषणा गरेका छन् । यसले सबैभन्दा ठूलो विश्वव्यापी प्रभाव पार्न सक्छ ।
उच्च भन्सार दरले विश्व व्यापारलाई अवरोध गर्नेछ भने निर्यातक देशको निर्यात प्रभावित हुनेछ । अन्तत: यसले व्यापारमा सम्बन्ध राष्ट्रहरूको सार्वजनिक वित्तमा समस्या ल्याउनेछ । बढाइएको भन्सार महशुलले अमेरिकामा मुद्रास्फीति बढाउने सम्भावना छ, जसकारण फेडरल रिजर्भ कडा मौद्रिक नीतिहरू लागू गर्न बाध्य हुन सक्छ ।
अन्तरराष्ट्रिय मुद्रा कोषले यसअघि नै विश्वको आर्थिक वृद्धिलाई कमजोर भएको चित्रण गरिसकेको छ । अहिले अधिकांश मुलुकको आर्थिक वृद्धिदर न्यून छ । विश्व व्यापार खुम्चिँदा अर्को वर्ष ३ दशमलव २ प्रतिशत आर्थिक वृद्धि हुने भनिएकाले थप जोखिमको सम्भावना छ । भन्सार महशुलको लागत प्राय: ग्राहकहरूले नै बेहोर्ने भएकोले यी महशुलले अमेरिकी उपभोक्ता महँगीको मारमा पर्न सक्छन् । यसले फेडरल रिजर्भलाई ब्याजदरहरू लामो समयसम्म उच्च राख्न वा पुन: बढाउने निर्णय गर्न बाध्य पार्न सक्छ, जसले कर्जाको ब्याजदर बढ्न सक्छ ।
जिम्मेवार संघीय बजेटका सम्बन्धमा गैरदलीय समितिका अनुसार ट्रम्पले आफ्ना खर्च र करसम्बन्धी प्रतिज्ञाहरू कायम राखे भने यसले सन् २०३५ सम्ममा अमेरिकी सार्वजनिक ऋणलाई ७७ खर्ब ५० अर्ब डलरले बढाउनेछ । ‘उच्च मुद्रास्फीतिले घरेलु माग खुम्चनेछ, विशेषगरी यसले कडा मौद्रिक नीति ल्याउन बाध्य पार्ने भएकाले आर्थिक वृद्धिदर नकारात्मक हुन सक्छ,’ बिएनपी पारिबासका अनिस बेनसैदानीले भने ।
चीन र मेक्सिको दबाबमा
डलरको लगानीमा निर्भर हुँदै आएको उदीयमान बजारका लागि ऋण लिन महँगो पर्नेछ । निर्यात पनि घट्ने हुनाले यस्ता देशका लागि यो दोहोरो झट्का हुनेछ । विशेषगरी ट्रम्पले चीनबाट आउने सामानमा अत्यधिक भन्सार महशुल लगाउने वाचा पूरा गरे भने अमेरिकामा मुद्रास्फीति बढाउनेछ । यसले अन्य ठाउँहरूमा पनि मूल्यहरूमा दबाब सृजना हुनेछ । विश्वको सबैभन्दा ठूलो निर्यातकर्ता चीन आफ्नो आर्थिक वृद्धिलाई पुनर्जीवित गर्न प्रयासरत छ । त्यसैले उसले अमेरिकाबाहेक अन्य बजारमा आफ्नो उत्पादन बेच्ने प्रयास बढाउनुका साथै युरोपमा आफ्नो उत्पादन ‘डम्प’ गर्न सक्छ ।
यस्तोमा केन्द्रीय बैंकहरूले चाँडै प्रतिक्रिया जनाउने सम्भावना छ । विशेषगरी व्यापारमा निर्भर खुला अर्थतन्त्रको व्यापारिक वातावरण छिट्टै बिग्रिनेछ ।
अन्य सरकारहरूले अमेरिकी भन्सारदरको प्रतिकार गर्ने सम्भावना छ, जसले व्यापारको विस्तारमा थप अवरोध गर्नेछ र विश्व आर्थिक वृद्धिदरमा गहिरो असर गर्नेछ ।
फेडरल रिजर्भका उच्च दरहरू र अन्य बजारमा ऋण लिन सस्तो लागत डलरको मूल्य बढ्नेछ । यसको प्रमाण रातभरमै युरो र येनको मूल्यमा १ दशमलव ५ प्रतिशतको ह्रास आउनु हो । यसले उदीयमान बजारहरू थप प्रभावित हुनेछन् । किनकि ६० प्रतिशतभन्दा बढी अन्तरराष्ट्रिय ऋण अमेरिकी डलरमा छ ।
ट्रम्पको सिमाना बन्द गर्ने उद्घोषले पहिले नै बिग्रँदो आन्तरिक अवस्थाका लागि मेक्सिकोलाई थप चुनौती हुन सक्छ । ‘मेक्सिको सबैभन्दा बढी जोखिममा छ,’ म्याक्रो इकोनोमी सम्बन्धमा प्रक्षेपण गर्ने परामर्शदाता कम्पनी–टीएसलोम्बार्डका जोन ह्यारिसनले भने, ‘जब मेक्सिकन पेसो डलरसँग ३ प्रतिशतले अवमूल्यन भयो । मेक्सिको विशेष रूपमा कमजोर छ । किनभने व्यापारिक तनाव र निर्वासनको धम्कीले सरकारको हिंसा नियन्त्रण गर्न असफलता जस्ता आन्तरिक समस्याहरूलाई बढाउन सक्छ ।’
ब्राजिलले चीनसँग बढी व्यापारको लाभ लिन सक्छ । किनकि ट्रम्पको पहिलो कार्यकालमा व्यापारिक तनाव बढ्दा चीनले अमेरिकी भटमास आयातलाई ब्राजिलको उत्पादनले प्रतिस्थापन गरेको थियो । तर यदि ट्रम्पले नाटोका लागि अमेरिकी वित्तीय स्रोत घटाए भने यूरोपले थप रक्षा खर्चको झट्का पनि सहनुपर्छ । दोस्रो विश्वयुद्ध समाप्त भएदेखि नै महादेशले अमेरिकी सैन्य उपस्थितिमा भर परिरहेको छ र युक्रेनमा रुसको युद्ध रोकिएको छैन । यस अवस्थामा अमेरिकाले पछाडि हटेमा यूरोप त्यो अभाव पूर्ति गर्न बाध्य हुनेछ । तर यूरोपमा सरकारी ऋण पहिले नै कुल गार्हस्थ्य उत्पादन (जीडीपी)को ९० प्रतिशत नजिक छ । त्यसैले वित्तीय स्रोतहरू तन्किएका छन् । व्यापार बाधाका कारण आर्थिक मन्दी बढाउन र रक्षा खर्चमा पनि लगानी गर्न सरकारहरूलाई कठिनाइ हुनेछ ।
ट्रम्पको नियमन घटाउने प्रयासले लामो समयसम्म असर गर्ने सम्भावना छ । तर बैंकहरूलाई थप लचिलो बनाउने अन्तरराष्ट्रिय स्वीकृत प्रस्ताव (जसलाई बासेल थ्री भनिन्छ), सम्भवत: यो पहिलो शिकार बन्न सक्छ ।
(समाचार एजेन्सी रोयटर्सको सहयोगमा)