देशको आर्थिक विकासमा देखिएका मुख्य चुनौतीको सामना गर्न बढ्दो व्यापारघाटा कम गर्नुपर्ने हुन्छ । आन्तरिक उत्पादनका उद्योगको स्थापनाका अतिरिक्त आयातित वस्तुमा हाम्रो पैसा खर्च भइरहेको छ । यसले परनिर्भरतालाई दिन प्रतिदिन बढाएको छ । तसर्थ वैदेशिक व्यापारमा सन्तुलनको खाँचो टड्कारो रूपमा देखिएको छ । एक देशको नागरिक, समूह, संस्था वा देशले आफूलाई आवश्यक पर्ने वस्तु तथा सेवा अर्को देशको व्यक्ति वा समूहसँग किनबेच गर्ने प्रक्रिया नै वैदेशिक व्यापार हो । यसमा पारस्परिक लाभलाई प्राथमिकता दिइन्छ । एउटा देशले आफ्नो देशमा उत्पादन हुन नसक्ने र उत्पादन गर्दा अन्य देशको तुलनामा बढी लागत पर्ने आवश्यक वस्तु तथा सेवा अन्य देशबाट आयात गर्छन् भने अन्य देशमा भन्दा आफ्नो देशमा कम लागतमा उत्पादन हुने र आफ्नो देशमा खपत भएर बाँकी रहेका वस्तु तथा सेवा अन्य देशमा निर्यात गर्छन् । तसर्थ वैदेशिक व्यापार भनेको अन्तरराष्ट्रिय सीमा पार गरेर हुने वस्तु तथा सेवाको विनिमय हो । व्यापार सन्तुलन भन्नाले कुनै पनि देशको निर्यात मूल्य र आयात मूल्यको अन्तरलाई जनाउँछ । मूलत: यसमा दृश्य आयात र दृृश्य निर्यातको अन्तरलाई हेरिन्छ । यसमा निश्चित अवधिमा हुने निर्यात र आयातको कारोबारको गणना गरिन्छ । यदि कुनै पनि देशको भौतिक वस्तुको निर्यात मौद्रिक मान र आयात मौद्रिक मान बराबर भएमा व्यापार सन्तुलन भएको मानिन्छ । तर, नेपालको हकमा देशका लागि चाहिने भौतिक वस्तुको आयात मौद्रिक मान निर्यात मौद्रिक मानभन्दा ज्यादै बढी भएकाले व्यापारघाटा हुन गएको हो । यसको बीचमा सकेसम्म सन्तुलन ल्याउन जरुरी छ जसले विदेशी मुद्राको बचतमा पनि सहयोग पुग्छ ।
हाल वैदेशिक सहायतासमेत खुम्चिएको अवस्थामा नेपालमा आगामी २०८१ वैशाखमा लगानी सम्मेलन हुँदै छ । यस सम्मेलनमा विश्वका चर्चित उद्योगपतिहरू सहभागी हुने सम्भावना बढेको छ । उनीहरूसँग नेपालले द्विपक्षीय र बहुपक्षीय वार्ता गरी निर्यातलाई प्रवर्द्धन गर्न जरुरी छ । यसबाट पनि नेपालको वैदेशिक व्यापारमा थप सहयोग पुग्ने कुरामा कसैको विमति नहोला । अन्तरराष्ट्रिय व्यापारले कुनै पनि देशलाई साधनस्रोतको समुचित र दक्षतापूर्ण उपयोग गरी गुणस्तरीय वस्तु उचित मूल्यमा अन्तरराष्ट्रिय बजारमा उपलब्ध गराउँछ । अन्तरराष्ट्रिय व्यापारले कृषि, उद्योग, वाणिज्यलगायत क्षेत्रको विकासका लागि प्रतिस्पर्धात्मक क्षमता बढाउने कार्य गर्छ । रोजगारीमा वृद्धि र सरकारी आय वृद्धिमा समेत यसले मद्दत गर्छ ।
आयात प्रतिस्थापन उद्योग स्थापनाका लागि दीर्घकालीन सोच बनाउने, विद्युत् निर्यात बढाउने, मूल्य र उत्पादनको गुणस्तरमा ध्यान दिनेलगायत कार्यले मात्र वैदेशिक व्यापारमा सन्तुलन कायम गर्न सकिन्छ ।
नेपालमा वैदेशिक व्यापार सन् १९५१ पूर्व भारत, चीन र तिब्बतसँग सीमित थियो भने सन् १९५१ पश्चात् विश्वका धेरै मुलुकसँग व्यापारिक सम्बन्ध विस्तार भएको छ । सन् १९९० को दशक मूलत: नेपालले आर्थिक उदारीकरण र बजारमुखी अर्थतन्त्र अवलम्बन गरेपछि विश्व व्यापार संगठनको सदस्यतासमेत लियो । त्यसपछि बढीभन्दा बढी देशसँग वैदेशिक व्यापारको शुरुआत भएको देखिन्छ । खुला बजार अर्थतन्त्र र उदारनीतिको मुख्य उद्देश्य पनि अर्थतन्त्रमा प्रतिस्पर्धात्मक वातावरणको सृजना गर्नु हो । वैदेशिक पूँजी आकर्षण, प्रविधिको विकास, सार्वजनिक निजी साझेदारीको विकास, सार्वजनिक ऋणको बोझ घटाउने, कमजोर आर्थिक अवस्थालाई सुधार्ने पनि यसको उद्देश्य थियो । वैदेशिक व्यापारमा सन्तुलन ल्याउन सकेमा उपर्युक्त उद्देश्य पूरा हुन सक्छ ।
अझ पनि बढी व्यापारिक भार भारतसँग र दोस्रोमा चीनसँग नै छ । हामी चिनियाँ र भारतीय वस्तुको दबदबामा छौं । वस्तु उत्पादन लागत वृद्धि र सरकारको दूरदर्शिताको कमीले हेटौंडा कपडा उद्योग, बुटवल धागो कारखाना, भृकुटी पल्प एन्ड पेपर जस्ता कम्पनी बन्द हुन पुगे । सञ्चालनमा रहेको भए निर्यातमा योगदान पुर्याउने अवस्था थियो । विदेशले स्थापना गरिदिएका कतिपय उद्योग कृषि औजार कारखाना र वीरगञ्ज चिनी उद्योग पनि बन्दको अवस्थामा नै छ जसले निर्यातमा योगदान दिने थिए । यसले गर्दा पनि आयातको वृद्धि दर निर्यातको तुलनामा निकै बढी छ । यसले नेपालको बढ्दो व्यापारघाटालाई चित्रण गर्छ ।
हालको तथ्यांक हेर्दा वैदेशिक व्यापारमा कुनै सुधार देखिँदैन । गतवर्ष कसिलो मौद्रिक नीतिको फलस्वरूप आयातमा प्रतिबन्ध लागेको थियो । तथ्यांक हेर्दा गतवर्षभन्दा हाल अलि खुकुलो मौद्रिक नीति भनिएको भए तापनि आयातमा आएको थप गिरावटले अर्थतन्त्र संकटोन्मुख छ भन्ने संकेत गर्छ । गत माघ, २०८० सम्म ८ खर्ब ९७ अर्बको आयात छ भने निर्यात पनि घट्दै ९३ अर्ब ४३ करोड देखिएको छ । यसरी आयात र निर्यातमा भारी असन्तुलन देखिन्छ । नेपालले निरन्तर रूपमा यसरी व्यापारघाटा बेहोर्नुको मुख्य कारण निर्यातमूलक उत्पादन कम हुुनु र विप्रेषणमुखी उपभोगको विस्तार हुनु हो ।
व्यापारमा सन्तुलन ल्याउन प्रतिस्पर्धी वस्तुको उत्पादन बढाउनुपर्छ । यस्ता उद्योग र वस्तुको खोज तथा अनुसन्धान गर्नुपर्छ । नेपालबाट निर्यात हुने मुख्य वस्तुमा ऊनीका वस्तु, कार्पेट, नेपाली कागज र यसका उत्पादन, तयारी पोशाक, हस्तकला, गहना, पश्मिना, दाल, अलैंची औषधिजन्य जडीबुटी र हाल विद्युत् आदि छन् । जलस्रोतको विकास र यसको प्रचुर उपयोग गरी बढीभन्दा बिजुली निर्यात गर्न सक्यो भने आयात र निर्यातको विशाल खाडलको दूरी कम हुन सक्छ । आयातित वस्तुमा तयारी वस्तु तथा अर्धतयारी वस्तु, औद्योगिक कच्चा पदार्थ, मेशिनरी, प्लान्ट, उपकरण, रासायनिक मल, पेट्रोलियम पदार्थ, सुन, विद्युतीय वस्तु र तयारी पोशाक पर्छन् । यातायात एवं यान्त्रिक उपकरणलगायत अन्य आयातित वस्तु अधिकांश नेपालमै उत्पादन हुन सकेमा र आयात प्रतिस्थापन र निर्यात गर्ने उद्योगहरूमा बैंक लगानीलाई तीव्रता दिन सकेमा पनि आयात र निर्यातमा सन्तुलन हुन सक्ने कुरामा कसैको दुईमत नहोला ।
वैदेशिक व्यापारमा सन्तुलन आउन नसक्नुमा हाम्रो देश भूपरिवेष्टित हुनु पनि हो । अर्कोतर्फ सडकको अवस्था कमजोर रहनु र व्यावसायिक मैत्री नीतिको निर्माण हुन नसक्नु पनि कारण हो । त्यस्तै नेपाल र भारतबीचको खुला सिमानामा हुने चोरीपैठारी र कालोबजारीको नियन्त्रण गर्न नसक्नु, निर्यात हुने वस्तु कम गुणस्तरको हुनु तथा नेपाली उत्पादन उच्च लागत र अन्तरराष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न नसक्ने खालको भएका कारण समेत निर्यात खुम्चिएको छ । स्वभावत: परम्परागत तथा हस्तकलाका सामानलगायत निर्यातले मात्र महँगा वस्तुको आयात धान्न सक्दैन । विदेशले लागू गरेको कोटा प्रणालीका कारण पनि गलैंचा, पश्मिनालगायतको निर्यातमा धक्का लागेको छ ।
यातायात एवं यान्त्रिक उपकरणलगायत अन्य आयातित वस्तु अधिकांश नेपालमै उत्पादन हुन सकेमा र आयात प्रतिस्थापन र निर्यात गर्ने उद्योगहरूमा बैंक लगानीलाई तीव्रता दिन सकेमा पनि आयात र निर्यातमा सन्तुलन हुन सक्छ ।
हाल विश्वका १५८ भन्दा बढी मुलुकसँग नेपालले वैदेशिक व्यापार गरेको भए तापनि यसको विविधीकरण र व्यापकता एवं प्रचारप्रसारलगायत अन्तरराष्ट्रिय बजार खोज्न नेपाल चुकेको देखिन्छ । असुरक्षा, लगानीको उचित वातावरण नहुनु, राजनीतिक खिचातानी, दक्ष जनशक्तिको विदेश पलायन तथा अभावलगायतले निर्यातयोग्य वस्तु तथा सेवा उत्पादनमा चुनौती थपिएको छ । भारतबाहेक अन्य मुलुकसँग व्यापार गर्दा परिवहनलगायत विभिन्न पक्षमा भारतीय पक्षबाट नै अवरोध भइरहेको छ । साथै कुल व्यापारको भार अर्थात् करीब ६५ प्रतिशत व्यापार भारतसँगै हुने गरेकाले पनि व्यापार सन्तुलनमा कठिनाइ देखिन्छ । विकसित तथा नेपालजस्तो विकासोन्मुख देशको लागि वैदेशिक व्यापारको ठूलो महत्त्व छ । आज दक्षिण एशियाली मुलुकहरू सिंगापुर, दक्षिण कोरिया, ताइवानलगायत मुलुकले वैदेशिक व्यापारबाट नै आर्थिक समुन्नति प्राप्त गरेका छन् । प्रविधिको विकास, कर्जा विस्तार, रोजगारी वृद्धि, उद्योग तथा कृषिक्षेत्रको विकास, पर्यटन एवं शिक्षा र स्वास्थ्यको विकास, राजस्व वृद्धि, खाद्य सुरक्षा जस्ता पक्षमा पनि वैदेशिक व्यापारले महत्त्वपूर्ण भूमिका निर्वाह गर्छ ।
नेपालमा वैदेशिक व्यापारमा देखिएका समस्या समाधान गर्न तथा व्यापार सन्तुलन ल्याउन चाल्नुपर्ने आवश्यक कदमहरूमा कृषिक्षेत्रको आधुनिकीकरण, निर्यात प्रवर्द्धनमा जोड, परम्परागत घरेलु उद्योगको संरक्षण र संवद्र्धन, निकासीयोग्य वस्तुको पहिचान, व्यापार विविधीकरण, सुशासन कायम, व्यापारीहरूलाई अन्तरराष्ट्रिय अभ्यासका बारेमा तालीम तथा अन्तरक्रिया र यस सम्बन्धमा खोज तथा अनुसन्धान आदि काम गरिनुपर्छ । त्यस्तै कूटनीतिक नियोगहरूलाई सक्रिय बनाउने, नयाँ प्रविधिको विकास, खुला सीमाको व्यवस्थापन, परिवहनको समस्यालाई भारतसँग कुराकानी गरी स्थायी समाधान आदि काम पनि गर्नुपर्छ । आयात प्रतिस्थापन उद्योगको स्थापनाका लागि दीर्घकालीन सोच बनाउने, विद्युत् निर्यात बढाउने, मूल्य र उत्पादनको गुणस्तरमा ध्यान दिनेलगायत कार्यले मात्र वैदेशिक व्यापारमा सन्तुलन कायम हुने देखिन्छ ।
लेखक बैंकसम्बन्धी विज्ञ हुन् ।