काठमाडौं । वैशाखमा धितोपत्र बजारमा हुने अडलट कारोबार चैतको तुलनामा घटेको छ ।
धितोपत्र कारोबार सञ्चालन विनियमावली, २०७५ अनुसार लगानीकर्ताहरूले आफूसँग एक सय रुपैयाँ अंकित मूल्य भएको १० कित्ताभन्दा कम धितोपत्र भएमा वा १० रुपैंया अंकित मूल्य भएको एक सय कित्ता भन्दा कम धितोपत्र भएमा त्यस्तो धितोपत्रको कारोवारलाई अडलट भनिन्छ ।
धितोपत्र ऋणपत्र भएमा अंकित मूल्य १० रूपैयाँ भएको भए १०० कित्ता र संस्थापक ऋणपत्रको अंकित मूल्य १ हजार रूपैयाँ भएको भए १ कित्ता कारोबार इकाई हुने व्यवस्था पनि उक्त विनियमावलीमा गरिएको छ ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले सार्वजनिक गरेको अडलट कारोबार सम्बन्धि तथ्यांकलाई हेर्दा वैशाखमा १ अर्ब १० करोड रूपैयाँभन्दा बढीको ३९ लाख ९ हजारभन्दा बढी कित्ता अडलट कारोबार भएको हो ।
चालू आर्थिक वर्षको १० महीनाको तथ्यांकलाई हेर्दा चैत महीनामा सर्वाधिक रकमको अडलट कारोबार भएको नेप्सेको तथ्यांकले देखाउँछ ।
चैत महीनामा २ अर्ब ४६ करोड रूपैयाँभन्दा बढीको १ करोड ५२ लाखभन्दा बढी कित्ता अडलट कारोबार भएको थियो । तर कित्तामा चैतका तुलनामा वैशाखमा कम कारोवार भएको छ ।
दैनिक रुपमा धितोपत्र बजारमा अडलट कारोबार गर्ने व्यवस्था भएपनि कारोबारमा भने सहजता नभएको नेप्सेका सूचना अधिकारी मुराहरी पराजुली बताउँछन् ।
नियमित कारोबारका तथ्यांक लगानीकर्ताले मार्केट डेफ्थमा हेरेर सहज रुपमा कारोबार गर्न सकिने तर नियमित कारोबारमा अडलट कारोबारका लागि नेप्सेले छुट्टै प्लेटफर्म सञ्चालन गरेकाले मार्केट डेफ्थमा अडलटको कारोबार तथ्यांक नदेखिने भनाई पराजुलीको छ ।
विगतमा शुक्रवारमात्र अडलट कारोबार हुँदै आएकोमा २०७९ साल वैशाखदेखि हरेक दिन अडलट कारोबार गर्न सकिने व्यवस्था नेप्सेले गरेको हो ।
लगानीकर्ताको सहजतालाई ध्यानमा राखी अडलट कारोबारको तथ्यांक समेत मार्केट डेफ्थमा सार्वजनिक गर्नुपर्ने माग लगानीकर्ताहरूले गर्दै आएका छन् ।
मार्केट डेफ्थमा अडलटको सम्पूर्ण विवरण देखिने गरी कारोबार खुला गर्नुपर्ने माग लगानीकर्ता इन्द्रकृष्ण श्रेष्ठले गरेका हुन । अडलटको नाममा लगानीकर्तालाई सास्ती मात्र भएको श्रेष्ठ बताउँछन् । साना लगानीकर्ताहरूको हकमा कम्पनीहरूले वितरण गर्ने बोनस शेयर अडलटमा प्राप्त हुने भएकाले ती शेयर विक्री गर्न सहज नहुँदा थप शेयर खरीद गरेर विक्री गर्नुपरेको गुनासो उनले पनि गरे । यस्ता गुनासो श्रेष्ठको मात्र हैन अन्य धेरै लगानीकर्ताले गर्दै आएका छन् ।