logo
विदेशी विद्यार्थी भर्ना सीमित गर्दै अस्ट्रेलिया
विदेशी विद्यार्थी भर्ना सीमित गर्दै अस्ट्रेलिया
११ भाद्र २०८१

सिड्नी (अस्ट्रेलिया) । अस्ट्रेलियाले विदेशी विद्यार्थी भर्ना सीमित गर्ने घोषणा गरेको छ । विश्वको ठूलो अन्तरराष्ट्रिय विद्यार्थी बजारमध्येको एक अस्ट्रेलियाले सन् २०२५ का लागि नयाँ भर्ना गरिने विदेशी विद्यार्थीको संख्या २ लाख ७० हजारमा सीमित गर्न लागेको हो । 

सन् २०२४ को शुरुदेखिको सरकारी तथ्याङ्कअनुसार अस्ट्रेलियामा करीब सात लाख १७ हजार ५०० विदेशी विद्यार्थी अध्ययनरत छन् ।

सरकारको उक्त घोषणाले शिक्षा क्षेत्रका उद्योगी भने आक्रोशित बनेका छन् । केही विश्वविद्यालयहरूले उक्त घोषणालाई ‘आर्थिक बर्बरता’को संज्ञा दिएका छन् । तर, सरकारले शिक्षा क्षेत्रको गुणस्तर सुधारका लागि उक्त कदम चालेको दाबी गरेको छ ।

विदेशी विद्यार्थीको संख्या बढेपछि शिक्षा क्षेत्रको गुणस्तर खस्किएको सरकारको भनाइ छ । त्यहाँका विश्वविद्यालयहरूमा विदेशी विद्यार्थीको संख्या कोभिड–१९ अघिको तुलनामा अहिले १० प्रतिशत बढी छ, जसमध्ये निजी व्यावसायिक तथा प्रशिक्षण प्रदायकहरूमा विद्यार्थी संख्या ५० प्रतिशतले बढेको छ ।

सरकारले व्यावसायिक शिक्षा र प्रशिक्षण प्रदायकहरूमा गरिने भर्नामा व्यापक कटौती गर्ने बताएको छ । 

अस्ट्रेलियाका शिक्षामन्त्री जेसन क्लेयरले भनेका छन्, ‘मानिसहरू छिटो पैसा कमाउन यस उद्योगको दोहन गर्न खोजिरहेका छन् ।’

सरकारले यसअघि केही सेवा प्रदायकमाथि भाषा शीप नभएका विद्यार्थीलाई भर्ना गरेको, शिक्षा वा तालिमको गुणस्तर कमजोर भएको र अध्ययनको साटो काम गर्न चाहनेलाई भर्ना गरेको आरोप लगाएको थियो । तीमध्ये केहीलाई कारबाही पनि गरिएको थियो । 

देशको शिक्षा गुणस्तर बनाउन उक्त कदम चालेको सरकारले बताएको छ । 

सरकारले देश भित्रिने विद्यार्थीका लागि पनि कडाइ गर्ने घोषणा गरिसकेको छ । सरकारले अध्ययन भिसाका लागि आवेदन दिने विद्यार्थीको थप जाँच गर्ने बताइसकेको छ । बीबीसीको सहयोगमा
 

प्रतिक्रियाहरू

टिप्पणीहरू थप्न कृपया लगइन गर्नुहोस्। लगइन

Newsletter Subscribe to our news letter for daily news directly in your Mail box.
© 2025 New Business Age Ltd. All rights reserved.