मनकामना समूह चितवनको व्यावसायिक समूह हो । व्यवसायलाई विविधीकरण गरेको यो समूह जस्मीन ब्राण्डमार्फत पेन्ट्स बजारमा प्रवेश गरेको थियो । यो समूहको ठूलो लगानी जस्मीन पेन्ट्समा छ । यो पेन्ट्सले बजार विस्तारकै लागि हाल काठमाडौंमा कर्पाेरेट कार्यालय स्थापना गरेको छ । प्रस्तुत छ, नेपालमा यो पेन्ट्सको स्थापना, बजार अवस्था लगायत विषयमा समूहका निर्देशक मधुसूदन अर्याल सँग आर्थिक अभियानकी हिमा वि.क ले गरेको कुराकानीको सार :
जस्मीन पेन्ट्सको शुरुआती अवस्था के कस्तो थियो ?
मेरो बुवा पहिलादेखि नै व्यवसाय गर्नुहुन्थ्यो । त्यतिबेला दन्तमञ्जन, वासिङ पाउडर जस्ता घरेलु उत्पादन गरेका थियौं । कारणवश यो व्यवसाय दिगो बनाउन सकिएन । तीन दाजुभाइ मिलेर गरेका थियौं । नेपालमै केही गरौं भन्ने सोच थियो । तर, यही व्यवसाय रूपान्तरण गरेर जस्मीन पेन्ट्सको परिकल्पना गरिएको हो । शुरूको लगानी अत्यन्त न्यून रह्यो । हाम्रो पारिवारिक व्यवसाय भएकाले शुरूमा कति, के लगानी गरियो भनेर हिसाब निकालिएको छैन । यद्यपि व्यवसायमा लागिरहँदा विस्तारै अहिले व्यवसायले आकार लिएको छ । जस्मीन पेन्ट्समा मात्रै अहिले डेढ अर्ब रुपैयाँभन्दा बढी लगानी पुगेको छ ।
यो पेन्ट्सको बजार हिस्सा कति छ ?
नेपालको पेन्ट्स बजारलाई दुई भागमा विभाजन गरेर हामी बजार हेर्छाैं । एउटा स्वदेशी कम्पनी र अर्काे विदेशी कम्पनी भनेर हेरिन्छ । नेपाली बजारमा साना–ठूला गरेर ४५ देखि ५० ओटा पेन्ट्स कम्पनी छन्, जसअन्तर्गत नेपाली कम्पनीमध्ये जस्मीन पनि अग्रस्थानमा पर्छ ।
बजार हिस्सा नेपाली वा विदेशी कुन कम्पनीको बढी छ ?
बहुराष्ट्रिय कम्पनीको लगानी भएका पेन्ट्सको बजार हिस्सा केही बढी जस्तो देखिन्छ । यद्यपि पछिल्लो समय नेपाली लगानीका कम्पनीको बजार हिस्सा बढ्दै गएको छ । पहिला निश्चित स्थानमा मात्र यस्ता उद्योग थिए । अहिले उत्पादकहरू बढेका छन् । पूर्वमा केही फ्याक्ट्री छन् । पश्चिममा पनि छन् । यी कारण पनि नेपाली उत्पादनले राम्रै बजार हिस्सा ओगटेको छ ।
अहिले पेन्ट्स उद्योगको अवस्था कस्तो छ ?
हामीले काम थाल्दा र अहिलेको अवस्थामा निकै परिवर्तन भइसकेको छ । त्यतिबेला काम गर्दा द्वन्द्वकाल थियो । त्यस समयमा काम गर्न निकै गाह्रो थियो । अहिले यस्ता समस्या छैनन् । तर, अन्य अप्ठ्यारा भने छन् । जस्तै, प्रतिस्पर्धा बढेको छ । अर्काे चुनौती भनेको पछिल्लो समय आर्थिक शिथिलता र विकास बजेट खर्च नभएकाले निर्माण व्यवसाय सुस्ताएको छ । यसको असर पेन्ट्स बजारमा पनि परेको छ । पेन्ट्सको माग नै घटेको छ । यद्यपि पेन्ट्स पुनप्र्रयोग हुने भएकाले उत्पादनकर्तालाई केही हदसम्म राहत छ । तर, जसरी बजार बढ्नुपर्ने थियो, त्यो हुन सकिरहेको छैन । कोरोना महामारीको समयमा उपभोक्तासम्म जान समस्या भयो । त्यसपछि आर्थिक गतिविधिमा कमी आउँदा माग बढ्न सकेको छैन ।
पेन्ट्स बजारमा आफ्नो उपस्थिति बढाउन तपाईंहरूको रणनीति के छ ?
उचाइमा पुग्न गाह्रो छ । त्यसमा टिकिरहन झनै गाह्रो हुन्छ । कम्पनी तथा त्यसका उत्पादन अब्बल बनाउन नयाँ–नयाँ प्रविधि, नवीनतम सोचलगायत विषयमा अद्यावधिक गरिरहेका हुन्छौं । गुणस्तर प्रवर्द्धनका लागि हालसालै ताइवानको कम्पनीसँग सहकार्य गरेका छौं । बजारको अध्ययन तथा मागबारे पनि ध्यान दिन्छौं । कम्पनीको ब्राण्डिङ र गुणस्तरीय उत्पादनका लागि विदेशी कम्पनीसँग सहकार्य गरिरहेका छौं । यसले पनि बजार हिस्सा बढाउनेछ । नयाँ उत्पादनका लागि प्रविधि भित्त्याइएको छ । कम्पनीको उत्पादनलाई वातावरणमैत्री बनाउनेतर्फ सचेत छौं । सोहीअनुसारका काम पनि गरिरहेका छौं । सरकारले तोकेको मापदण्डभित्र रहेर उत्पादन तथा विक्रीवितरण गरिएको छ ।
जस्मीन पेन्ट्स स्थापना भएको लामो समय भइसकेको छ । उत्पादन कहिलेदेखि सक्रिय रूपमा बजारमा ल्याउनुभयो ?
२०५१ सालमा कम्पनी स्थापना गरेर पेन्ट्सको व्यवसाय शुरू गरेका हौं । उत्पादन भने २०६० देखि सक्रिय रूपमा थालेका हौं । शुरूमा प्रडक्टको बजारीकरण गर्दा जस्मीन पेन्ट्सको उपस्थिति राम्रो थियो । यद्यपि बजार बढाउन काठमाडौं केन्द्रित हुनुपर्ने देखियो । अहिले कर्पाेरेट कार्यालय काठमाडौंमा राखिएको छ । सोहीअनुसार काठमाडौंमा डिलर नेटवर्क विस्तार गरिएको छ । अन्य प्रदेशमा पनि प्रमुख ब्राण्डको रूपमा स्थापित भइसकेका छौं ।
बजारमा धेरै किसिमका पेन्ट्स छन् । उपभोक्ताले जस्मिन पेन्ट्स नै किन रोज्ने ?
उपभोक्ताले पहिला त गुणस्तरीय उत्पादन रोज्छन् । हामी गुणस्तरीय प्रडक्ट दिन सफल भएका छौं । कम्पनीका उत्पादनहरू लिड तथा हानिकारक रसायनमुक्त छन् । ८०० भन्दा बढी डिलरको नेटवर्कमार्फत काम गरिरहेका छौं । पेन्ट्स विक्री गर्ने डिलर सन्तुष्ट छन् । उपभोक्ताबाट राम्रो प्रतिक्रिया पाइरहेका छौं । गुणस्तर र नेपाली उत्पादनलाई हेर्ने उपभोक्ताको दृष्टिकोण सकारात्मक छ । नेपाली उपभोक्ताले नेपाली प्रडक्ट नै रोज्न थालेका छन् । त्यसमा स्वाभाविक रूपमा हाम्रो पेन्ट्स पनि पर्छ ।
तपाईंहरूको लक्षित बजार र उपभोक्ता को हुन् ?
कम्पनीको प्रडक्टको ठूलो बजार चितवन र पश्चिमतर्फ छ । पूर्वमा पनि राम्रो उपस्थिति छ । पछिलो समय काठमाडौंमा पनि बजार विस्तार गरिरहेका छौं । अबको काठमाडौंका साथै नयाँ क्षेत्रमा पहुँच विस्तार गर्ने सोचमा छौं ।
यसका लागि के कस्ता योजना छन् ?
अहिले बजार विस्तारका लागि ठाउँ ठाउँमा डिपो सञ्चालन गरिरहेका छौं । डिपोबाट वितरण गर्न सजिलो पनि हुन्छ । साथै नेटवर्क विस्तार गरिरहेका छौं । ताप्लेजुङ, दैलेख लगायत क्षेत्रमा पुगेर बजार विस्तार गरेका छौं । विभिन्न जिल्लामा नेटवर्क बढाउँदै छौं ।
पेन्ट्समा आफ्नै आउटलेट राख्ने चलन हुँदैन । विक्रीका लागि डिलर तथा वितरकलाई दिइन्छ । कम्पनीले पनि बेच्ने र डिलरले पनि विक्री गर्दा बजारमा समस्या सृजना हुन सक्छ । खुला बजारमा नेटवर्क विस्तार गरेर काम गरिहेका हुन्छांै । काठमाडौंमा ६० ओटा डिलर छन् । नेपालभर १ हजार २०० भन्दा बढी डिलर छन् । यद्यपि चितवनको बजार हिस्सा धेरै छ । सुदूरपश्चिममा डेढ सय डिलर छन् ।
फ्याक्ट्री कहाँ छ ? कतिलाई रोजगारी दिनुभएको छ ?
कम्पनीको मुख्य कारखाना चितवनको भरतपुर महानगरपालिकामा छ । पेन्ट्समा मात्रै २५० जनालाई रोजगारी दिइरहेका छौं । कम्पनी ३० वर्ष पुगेको अवसरमा अहिले ‘नेपालमै स्वरोजगार’ नामक स्कीममा काम गरिरहेका छौं । नेपालबाट अहिले हजारौं संख्यामा युवा विदेशिइरहेका छन् । उनीहरूलाई लक्षित गरेर नेपालमै व्यवसाय गर्न सकिन्छ भन्ने सोचसहित काम गर्दै छौं । विदेशिने युवाले न्यूनतम लगानीमा नेपालमै व्यवसाय गर्न सक्ने योजना ल्याएका छौं । ठूलो पूँजी नहुनेका लागि यो प्रभावकारी हुनेछ ।
नेपाली बजारमा साना–ठूला गरेर ४५ देखि ५० ओटा पेन्ट्स कम्पनी छन् ।
केन्द्रमात्र नभई ताप्लेजुङ, दैलेख लगायत क्षेत्रमा पुगेर बजार विस्तार गरेका छौं ।
यो स्कीम कसरी कार्यान्वयन गर्नुहुन्छ ?
यसका लागि पहिला नेपालमै केही गर्छु भन्ने सोच हुनुपर्यो । यस्तो सोच राख्ने युवा कम्पनीको सम्पर्कमा आउनुपर्छ । सम्पर्कमा आउनेलाई तालीम दिएर जानकारी गराउने, पसलको डेकोरेसन, मेसिन सञ्चालन, विज्ञापनलगायत काममा सघाउँछौं । साथै वित्तीय सहयोग पनि रहन्छ । तर, कम्पनीका केही शर्त हुन्छन् । नयाँ व्यवसायमा आउन चाहनेमा धैर्य हुनैपर्छ ।
लगानी विस्तार वा नयाँ फ्याक्ट्री स्थापनाको योजना छ ?
अहिलेको अवस्थामा नेपालको कुनै पनि भागमा फ्याक्ट्री थप्ने योजना छैन । अहिलेकै सेटअपले बजार माग धान्न सक्छ । यद्यपि प्रविधि, मेसिन ल्याउने काम भइरहन्छ । अहिले डिपो नै राख्दा सजिलो हुने देखिएको छ । ठाउँ–ठाउँमा डिपो राखिएको छ । अब छिट्टै पोखरामा डिपो राख्दै छौं ।
पेन्ट्समा नेपाल आत्मनिर्भर हुन सक्छ ?
अहिले नै पनि पेन्ट्मा नेपाल आत्मनिर्भर छ भन्न सकिन्छ । नेपालमा वार्षिक ३ हजार करोड लिटर पेन्ट्सको माग छ । नेपाली लगानी भएका कम्पनीबाटै पेन्ट्स आपूर्ति भइरहेको छ । यद्यपि विदेशबाट आयात पनि भइरहेको छ । नेपालमा मागको ८ प्रतिशतसम्म पेन्ट्स आयात हुँदै आएको छ ।
पेन्ट्समा नेपाली कच्चा पदार्थको प्रयोग कत्तिको हुन्छ ?
पेन्ट्समा प्रयोग हुने अधिकांश कच्चापदार्थ आयात नै गर्नुपर्छ । नेपाली कच्चापदार्थ करीब १० प्रतिशत प्रयोग हुन्छन् । पछिल्लो समय नेपालमै केही कच्चापदार्थ पाउने अवस्था छ । स्वदेशी कच्चा पदार्थमा प्लाष्टिकका बकेट, कार्टोन, नरम चट्टान लगायत रहेका छन् ।
नेपाली पेन्ट्स बजारका लागि सरकारका नीति कत्तिको सहयोगी पाउनु भएको छ ?
भन्सारमा समस्या छ । भन्सार दरमा सरकारले पुनरवलोकन गर्नुपर्छ । तयारी वस्तु भनेर सरकारले भन्सार लगाएको छ । यद्यपि कतिपय वस्तु हाम्रा लागि कच्चापदार्थ नै हुन् । सरकारले नीतिनियम बनाउँदा हामीजस्ता उत्पादकलाई पनि राख्नुपर्छ । गलत बुझाइका कारण ठूलो कर बुझाउनुपरेको छ । यसले उत्पादन लागत बढेको छ भने उपभोक्तालाई महँगो परेको छ ।
अन्य कुन कुन क्षेत्रमा समूहको लगानी छ ?
पेन्ट्सबाहेक समूहले जगदम्बा प्लाष्टिक, पानी ट्यांकी, केमिकल, कार्टोन, किलाकाँटी, बिटुमिन व्यवसाय, खाद्य व्यापार लगायत क्षेत्रमा लगानी गरेको छ । संस्थागत सामाजिक दायित्वअन्तर्गत चितवन नजिकको एउटा विद्यालयमा हरेक वर्ष चेपाङ बालबालिकालाई शैक्षिक सामग्री लगायत सहयोग गर्दै आएको छ । यस्तै सुस्त मनस्थिति भएका बालबालिकालाई पनि सघाउँदै आएका छौं ।