वीरगञ्ज । त्रिभुवन राजपथअन्तर्गत वीरगञ्जको गण्डकदेखि मितेरीपुल खण्डको अलाइनमेन्ट परिवर्तन भए पनि सडकको क्षेत्राधिकार कायमै रहेको सडक विभागले बताएको छ । मन्त्रिपरिषद्ले सडकको अलाइनमेन्ट फेरे पनि सडक सीमा र सडकको हक हस्तान्तरणसम्बन्धी निर्णय नभएकाले त्रिभुवन राजपथकै मापदण्ड कायम रहेको विभागका अधिकारीहरूको तर्क छ ।
विगतमा आयातनिर्यातको मुख्य नाका समेत रहेको यो सडकको सवारी चाप अहिले अन्यत्र गइसकेको र वैकल्पिक सडकसमेत तयार भइसकेको अवस्थामा २५/२५ मीटर विस्तारको औचित्य नभएको यसको बचाउमा लागेकाहरू बताउँछन् । मन्त्रिपरिषद्को निर्णयको शब्द केलाउनुभन्दा पनि आशय हेरिनुपर्ने तर्क उनीहरूको छ ।
सडक विभागले २०७६ सालमा सडक अतिक्रमण हटाउने सम्बन्धमा निकालेको सूचनाविरुद्ध स्थानीय सर्वोच्च अदालत पुगेपछि यो विवाद न्यायिक निरुपणको पर्खाइमा छ । सरकारले त्रिभुवन राजपथअन्तर्गत पथलैया–वीरगञ्ज खण्डको अलाइनमेन्ट २०७२ सालमै संशोधन गरेको थियो । सडक विभागले २०७६ सालसम्म पटकपटक सो सडक अतिक्रमण भएको भन्दै अतिक्रमण हटाउन सूचना निकालेको थियो ।
सर्वोच्चमा परेको रिट १९ पटक पेशीमा चढिसकेको छ । पछिल्लोपटक यो विषयमा सर्वोच्चले मन्त्रिपरिषद्को निर्णय झिकाउन आदेश दिएको छ । वीरगञ्जको गण्डकदेखि मितेरी पुलसम्मका करीब १२ सय जग्गाधनीले सडक विभागको सूचनाविरुद्ध अदालत गुहारेका हुन् । क्षतिपूर्ति नदिई जग्गा लिन नपाइने उनीरूको माग छ ।
स्थानीय लक्ष्मण सा रौनियार, राजकुमारीदेवी तुल्स्यान, भरतप्रसाद रौनियारलगायतले २०७६ असोज ७ यता विभिन्न मितिमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सडक डिभिजन हेटौंडा, व्यापारिक मार्ग आयोजना पथलैया, जिल्ला प्रशासन र जिल्ला प्रहरी पर्सा, मालपोत कार्यालय पर्सालगायत निकायलाई विपक्षी बनाएर रिट निवेदन दर्ता गराएका थिए ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको प्रस्तावका आधारमा मन्त्रिपरिषद्ले त्रिभुवन राजपथको पथलैयादेखि मितेरी पुलसम्मको अलाइनमेन्टलाई पथलैया–परवानीपुर हुँदै सिर्सियास्थित एकीकृत जाँच चौकी (आईसीपी)सम्म हुने गरी संशोधन गरेको थियो ।
मुख्य नाका वीरगञ्जबाट भित्रिने अधिकांश सवारीसाधन सोही मार्गबाट भित्रिने भएकाले त्रिभुवन राजपथको अलाइनमेन्ट संशोधन गरिनुपर्ने प्रस्ताव मन्त्रीस्तरबाट स्वीकृत भएको थियो । मितेरी पुल हुँदै भित्रिने सबै कार्गो अहिले आईसीपीबाट आउँछन् ।
राजपथको अलाइनमेन्ट नै फेरिइसकेको अवस्थामा त्यो सडकलाई केन्द्रबाट २५/२५ मीटर विस्तार गर्न खोज्नु अन्याय हुने तर्क सडक दायाँबायाँका बासिन्दाको छ । सरकारले राजमार्ग (निर्माण व्यवस्था) ऐन २०२१ मा सडकको केन्द्र रेखाबाट २१/२१ गज दायाँबायाँलाई सडक सीमा ताकेको छ । त्यसपछिका ऐनले २५/२५ मीटर भनेका छन् । वीरगञ्जको यो सडक खण्डको बस्ती त्योभन्दा अघिदेखि नै बसेको देखिन्छ ।
सडक विभागले राजमार्गको सूचीको ४१ नम्बरमा सिर्सिया–पथलैया–हेटौंडा–भैैंसेदेखि पालुङ हुँदै नौबिसे काठमाडौं १५५ किलोमीटर सडकलाई त्रिभुवन राजपथ उल्लेख गरेको छ । तर, सडक डिभिजन कार्यालय हेटौंडाका प्रमुख राजेशकुमार यादव मन्त्रिपरिषद्ले अलाइनमेन्ट परिवर्तन गरे पनि सो सडक खण्डलाई त्रिभुवन राजपथको क्षेत्राधिकारबाट हटाउने र हक हस्तान्तरणबारे नबोलेकोले राजपथ नै कायम रहेको बताउँछन् ।
सडक सीमाभित्रको जग्गा व्यक्तिलाई दिने विषय पनि मन्त्रिपरिषद्को निर्णयमा नभएको सडकका अधिकारीहरूको तर्क छ । ‘सरकारले स्पष्ट निर्णय नगरेको अवस्थामा सडक ऐनले तोकेको २५/२५ मीटरमध्येको जग्गा व्यक्तिलाई दिने भन्ने पनि हुँदैन,’ यादवले भने ।
वीरगञ्ज महानगरले २०७५ सालमा वीरगञ्जको मुख्य शहरी क्षेत्रमा पर्ने यो सडक १५/१५ मीटर विस्तार गर्ने प्रस्ताव नगर परिषद्बाट पास गरेको थियो । सरकारले २०६९ सालमा सडक ऐन २०३१ अनुसार सडकको केन्द्र रेखाबाट दायाँबायाँ २५/२५ मीटर विस्तार गर्ने निर्णय गरेको थियो ।
अहिले मुख्य सडकको पूर्व र पश्चिमतर्फ ६ लेनका २ ओटा सडक बनिसकेको र अन्य ३ ओटा वैकल्पिक सडक पनि निर्माण भएकाले मुख्य शहरी क्षेत्रमा ५० मीटरको सडक आवश्यक नभएको स्थानीय अगुवा रामनारायण कुर्मी बताउँछन् । सरकारले अलाइनमेन्ट नै परिवर्तन गरिसकेकाले सो निर्णयको आशयअनुसार निकास निकाल्नुपर्ने उनको सुझाव छ ।
सडक विस्तारको सूचनाविरुद्ध बनेको संघर्ष समितिका अगुवासमेत रहेका वीरगञ्ज महानगरपालिका–११ का वडाअध्यक्ष जवाहरप्रसाद गुप्ता सडक विभागले अतिक्रमित भनेर खाली गर्न सूचना निकालेको जग्गाको आफूहरूसँग लालपूर्जा भएको, वीरगञ्ज महानगरले घरको नक्सा पास दिएको र मालपोतमा तिरो तिर्दै आएको दाबी गर्छन् । उनले स्थानीयको बिल्लीबाठ हुने गरी सडक विस्तार गर्न नहुने बताए । ‘सडक विस्तारजस्तो काम लहडमा नभएर स्थानीय आवश्यकताका आधारमा गरिनुपर्छ । २५/२५ मीटरको हठमा नै अडिने हो भने यहाँ धेरै जनाको उठिबास हुन्छ,’ उनले भने ।