वीरगञ्ज । मुख्य नाका वीरगञ्ज र आसपासका क्षेत्रमा सानाठूला ८५ ओटा होटल सञ्चालनमा छन् । अधिकांश होटलको क्षमता उपयोग खस्किँदै गएको होटल व्यवसायीले बताएका छन् ।
बितेको ५ वर्षयता वीरगञ्जमा होटल खुल्ने क्रम ह्वात्तै बढेको हो । वीरगञ्ज क्षेत्रका होटलमा अहिले २० अर्ब रुपैयाँभन्दा बढी लगानी पुगिसकेको व्यवसायी बताउँछन् । होटलको संख्या र लगानी बढे पनि पाहुना भने बढ्न नसकेको होटल तथा पर्यटन व्यवसायी संघ, वीरगञ्जका अध्यक्ष हरि पन्तको अनुभव छ ।
‘बितेको ५ वर्षयता यहाँको होटल क्षेत्रमा लगानी बढ्यो । यसले प्रतिस्पर्धा पनि ल्यायो । तर, पाहुनाको संख्या भने बढ्न सकेन,’ अध्यक्ष पन्तले भने, ‘वीरगञ्ज क्षेत्रमा पर्यटकीय गन्तव्यको विकास नहुँदा पनि यहाँको होटल व्यवसाय फस्टाउन सकिरहेको छैन ।’ त्यसअघि वीरगञ्जमा होटलको संख्या ४०÷४५ को हाराहारीमा रहेको उनी बताउँछन् ।
विगतमा वीरगञ्ज मधेशको प्रादेशिक राजधानी बन्ने अनुमानमा पनि होटलमा थुप्रै लगानी भित्रिएको व्यवसायी बताउँछन् । तर, जनकपुर राजधानी तोकिएपछि व्यवसायीको त्यो आश निराशामा परिणत भएको गुनासो उनीहरूको छ ।
कोरोना महामारीको समयमा थला परेको होटल व्यवसाय पछिल्लो समयमा केही चलायमान भए पनि विगत ४÷५ महीनायता समस्यामा परेको वीरगञ्ज होटल व्यवसायी संघका महासचिव माधव बस्नेतले बताए । ‘अहिले होटलको अकुपेन्सी घट्दै गइरहेको छ । होटलको औसत क्षमता उपयोग ४०÷४५ प्रतिशतको हाराहारीमा झरिसकेको अवस्था छ,’ महासचिव बस्नेतले आर्थिक अभियानसित भने ।
वीरगञ्जमा पर्यटकीय स्थल नहुनु यहाँ होटल व्यवसायले गति समात्न नसक्नुको मुख्य कारण भएको बुझाइ वीरगञ्जको क्लार्क रिसोर्टका सञ्चालक सुनील खेतान बताउँछन् । ‘होटलमा लगानी त आयो, तर अहिले सञ्चालन खर्च उठाउनै कठिनजस्तो भएको छ । होटल व्यवसायलाई गति दिन वीरगञ्ज आसपासका पर्यटकीय स्थलहरूको प्रवद्र्धन र प्रचारप्रसार गरिनु पर्दछ, होटल व्यवसायी खेतानले भने ।
वीरगञ्ज आसपासका घरिअर्वा पोखरी, पारसनाथ, भाठा, बिन्दवासिनी, गढिमाई, पर्सा निकुञ्जलगायतका सम्भाव्यताको ‘ब्राण्डिङ’ हुन नसक्दा यहाँ बाह्य र आन्तरिक पर्यटकलाई आकर्षित गर्न नसकिएको बुझाइ होटल व्यवसायीको छ ।
पर्यटकीय गन्तव्यको विस्तार र प्रचार गर्न सके त्यसको लाभ होटल व्यवसायमा पुग्ने महासचिव बस्नेत बताउँछन् । सिमानामा भारतीय पर्यटकलाई सहजीकरण गर्न नसक्दा पनि वीरगञ्जको होटल व्यवसायले अपेक्षित लाभ लिन नसकेको व्यवसायीको भनाइ छ ।
नयाँ वर्ष मनाउन वीरगञ्ज नाकाबाट नेपाल भित्रिन खोज्ने भारतीय पर्यटक सहज वातावरण नहुँदा फिर्ता गएको स्मरण गर्दै होटल व्यवसायी खेतान भन्छन्, ‘भन्सारमा गाडीको अनुमति लिने ठाउँदेखि भारतीय रुपैयाँ सहटी र भित्र्याउने झमेलाले भारतीय पर्यटक समस्यामा पार्ने गरेका छन् । यसमा सहजीकरणको माग हुँदै आए पनि राज्यबाट सम्बोधन हुन सकेको छैन ।’
नेपालमा भारु १ सयभन्दा बढी दरका नोटमा प्रतिबन्ध लगाइएको छ । भारु २५ हजारभन्दा बढी नगद बोक्न रोक लगाइएको छ । ‘एकातिर प्रतिबन्ध, अर्कातिर सहटी र अनलाइन भुक्तानीको सहज व्यवस्था नहुँदा सिमानामा पर्यटकले हैरानी र अनपेक्षित झमेला खेप्नुपरेको छ । यसको असर होटल व्यवसायमै पर्ने भयो,’ एक व्यवसायीले भने ।
वीरगञ्जका होटललाई यहाँका केही होटलमा सञ्चालित क्यासिनोले केही भरथेग गरेको अध्यक्ष पन्त बताउँछन् । स्थानीय ४ ओटा तारे होटलले भारतीय पाहुनालाई लक्षित गरेर क्यासिनो चलाएका छन् । पछिल्लो समय क्यासिनोमा प्रहरीले निगरानी बढाएपछि भारतीय पाहुना आउने क्रम स्वात्तै घटेको महासचिव बस्नेतले बताए ।
क्यासिनो राम्ररी चल्दा त्यहाँ जुवा खेल्नेहरू छेउछाउका होटलमा बास बस्ने गरेको र यसबाट व्यवसायलाई राहत हुँदै आएको अध्यक्ष पन्त बताउँछन् । ‘क्यासिनो सञ्चालकले पाहुनालाई नजिकका अन्य होटलमा बासको व्यवस्था मिलाइदिन्छन् । यसबाट साना होटललाई व्यापार मिल्छ,’ उनले भने ।