विराटनगर । विराटनगर महानगरपालिकाको वडा नम्बर १९ मा पर्ने बैजनाथपुरमा १५ बिगाहा जमीनमा २ अर्ब ७९ करोड ७४ लाख ११ हजार ३७४ रुपैयाँको लागतमा अत्याधुनिक गिरिजाप्रसाद कोइराला क्रिकेट रंगशाला निर्माणका लागि टेन्डर आह्वान गर्ने अन्तिम तयारी भएको छ । वातावरणीय प्रभाव मूल्यांकनको काम सकिएपछि टेन्डरको प्रक्रिया अघि बढेको हो ।
विराटनगरमा अत्याधुनिक खेलकुद कम्प्लेक्स निर्माण हुनुपर्ने माग उठेपछि तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको पहलमा मोरङ जिल्ला खेलकुद विकास समितिको स्वामित्वमा रहने गरी बैजनाथपुरमा १५ बिगाहा जग्गा किनिएको थियो । डिकबहादुर लिम्बू युवा तथा खेलकुदमन्त्री रहेका बेला बैजनाथपुर रंगशालालाई राष्ट्रिय गौरवको आयोजनाका रूपमा अघि बढाएपछि सरकारले अत्याधुनिक रंगशाला निर्माणका लागि बजेट विनियोजन गरेको हो ।
नेपाल क्रिकेट संघ मोरङका अध्यक्ष मोहमद साद बाबुले यो रंगशाला निर्माणले कोशी प्रदेशको मात्रै नभएर समग्र मुलुकको खेलकुदमा एउटा इँटा थपिने बताए । १० हजार सीट क्षमताको रंगशालामा नेपाल प्रिमियर लिग (एनपीएल) जस्तै राष्ट्रिय प्रतियोगिता आयोजना गर्न सकिने भएकाले यसले विराटनगर र कोशी प्रदेशको खेलकुदको भविष्य उज्ज्वल बनाउने उनले बताए ।
पूर्वखेलकुदमन्त्री लिम्बूले आफूले विराटनगर, भरतपुर र मूलपानीमा अत्याधुनिक खेलकुद कम्प्लेक्स निर्माण गर्न मन्त्रिपरिषद्बाट पास गराएर बजेट सुनिश्चित गर्न अर्थ मन्त्रालयमा फाइल पठाएको र अहिले त्यो कार्यान्वयनको चरणमा रहेको बताए । उनले भने, ‘मैले केही आनाकानी गरिरहेको सुनेको छु, अब अर्थमन्त्रीसँग कुरा गरेर बजेट सुनिश्चित गरी चाँडै बोलपत्र आह्वान गर्न पहल गर्दै छु ।’ तीनै स्थानमा अत्याधुनिक खेलकुद कम्प्लेक्स निर्माण भएपछि यसले खेलकुदको विकाससँगै स्थानीय अर्थतन्त्रमा टेवा पुग्ने, खेल पर्यटनको विकास हुने र अन्तरराष्ट्रिय खेलकुदसँग नेपाल जोडिने अपेक्षा राखेर आफूले यिनलाई राष्ट्रिय गौरवका योजनाका रूपमा अघि सारेको लिम्बूले बताए ।
एनपीएलको एउटा टीम विराटनगर किङ्सका मालिक पारस लुनियाले विराटनगरमा बन्ने अन्तरराष्ट्रिय क्रिकेट रंगशालाले क्रिकेटको गुणस्तरमै सुधार ल्याउने उल्लेख गरे । उनले भने, ‘यहाँ अन्तरराष्ट्रिय स्तरको सुविधासम्पन्न क्रिकेट रंगशाला निर्माण भएमा त्यसमा अमेरिका, क्यानडालगायत विश्वका चर्चित टीमलाई बोलाएर म्याच खेलाउन सकिन्छ । भारतकै पनि विभिन्न स्टेटका टीमहरूलाई म्याच खेलाउन सकिन्छ । यसबाट हाम्रो क्रिकेटको गुणस्तर निकै माथि पुग्छ ।’
एनपीएल राजधानीमा मात्रै नभएर विराटनगरमा पनि आयोजना गर्न सकिने अथवा दुईओटा शहरमा एकैपटक खेलाउन सकिने उनले बताए । तत्कालै सरकारले यसको निर्माणलाई प्राथमिकता दिएर अघि बढे यसले खेल पर्यटन र अन्तरराष्ट्रिय खेलकुदलाई नेपालसँग जोड्ने पुलको काम गर्ने लुनियाले बताए ।
बजेटको सुनिश्चिततासँगै टेन्डर आह्वान भएमा यो परियोजनाको निर्माण ३ वर्षभित्र सम्पन्न हुनेछ । यो रंगशालामा क्रिकेट मैदानसँगै ५ हजार सीट क्षमताको एथ्लेटिक्स ट्र्याक, फुटबल र रग्बी रंगशाला, प्याभेलियन, बहुउपयोगी कभर्ड हल, गार्ड हाउस, टिकट काउन्टर, अभ्यास नेट, होस्टल ब्लक, रेस्टुराँ, स्विमिङ पुल, जिम हल, खेलाडी ब्लक, पार्किङ क्षेत्र, बाटो र हरियाली क्षेत्रलगायत संरचना पनि समावेश हुनेछन् । राष्ट्रिय खेलकुद परिषद्ले यो रंगशाला निर्माणका लागि प्रक्रिया शुरू गरेको छ । परिषद् प्रवक्ता खुसराज दाहालले टेन्डर प्रक्रियाका लागि राष्ट्रिय योजना आयोगमा पठाएको जानकारी दिए । योजना आयोगबाट स्वीकृत भएर आएपछि टेन्डर प्रक्रियामा जानेछ । रंगशालामा १३८ मीटर लम्बाइ र १३८ मीटर चौडाइको मैदानमा ५ ओटा पिच रहनेछन् । बाउन्ड्रीको दूरी ६९ मीटर हुनेछ । त्यस्तै, फुटबल र रग्बी मैदानको लम्बाइ १०५ मीटर र चौडाइ ६८ मीटर हुनेछ । एथ्लेटिक्स ट्र्याकको लम्बाइ ४०० मीटर हुनेछ ।
क्रिकेट रंगशालामा ९ हजार ४९० साधारण, ३५० भीआईपी र ६० भीभीआईपी सीट रहनेछन् । साथै, २५ मीटर लम्बाइ र २५ मीटर चौडाइको स्विमिङ पुल र १ हजार ५०० सीट क्षमताको कभर्ड हल पनि निर्माण हुनेछ । रंगशाला समुद्री सतहबाट ९२ मीटर उचाइमा बन्नेछ । यो आयोजनाले नै १ दशमलव ५ किलोमीटर पहुँच बाटोको स्तरोन्नति गर्नेछ । रंगशाला निर्माण सम्पन्न गर्न २२ लाख ३० हजार अदक्ष, १४ लाख ७८ हजार अर्धदक्ष र १४ लाख ६६ हजार दक्ष कामदार आवश्यक पर्ने डीपीआरमा उल्लेख छ ।