नेपालको व्यावसायिक वातावरणमा सुधार ल्याउन पाँच क्षेत्रमा सुधारको प्रस्ताव गरिएको छ । अन्तरराष्ट्रिय वित्त निगम (आईएफसी) अन्तर्गतको उद्यमशीलता विकास सहुलियत (एसईडीएफ)ले नेपालको व्यावसायिक वातावरणमा तत्काल सुधारको आवश्यकता रहेका पाँच क्षेत्र र तिनमा गर्नुपर्ने सुधारका लागि सुझाव दिएको हो । सुधारको आवश्यकता रहेका मुख्य क्षेत्रमा व्यवसाय प्रवेश र प्रतिस्पर्धा, वित्तीय सम्पत्तिमाथिको अधिकार र व्यवसाय बन्द गर्ने रहेका छन् । नेपालको व्यावसायिक वातावरणमा सुधार ल्याउन सरोकारवालाहरूबीच बिहीवार राजधानीमा सम्पन्न ‘नेपालमा व्यवसाय लगानीको वातावरणमा सुधार’ कार्यशाला र गोष्ठीमा आईएफसी–एसईडीएफले ती पाँच क्षेत्रमा सुधारका लागि ५६ ओटा सुझाव प्रस्तुत गरेको थियो । गोष्ठीमा सरकार, आईएफसी र निजीक्षेत्रका प्रतिनिधिबीच नेपालमा व्यावसायिक वातावरणमा सुधार ल्याउनका लागि आईएफसी एसईडीएफले प्रस्ताव गरेको विषयमाथि छलफल भएको थियो ।
वर्ष ८, अंक १२८, शुक्रवार, १२ माघ, २०६९