मकवानपुर विशेष : सुरुङमार्ग : ऐतिहासिक परियोजना

Share News

ई दशकअघिदेखि चर्चामा आएको काठमाडौं–हेटौंडा सुरुङमार्ग निर्माण कार्य नेपाल पूर्वाधार विकास कम्पनी लिमिटेडले जिम्मा लिएसँगै यसले गति लिन थालेको छ । निर्माणका लागि कम्पनीले गत चैत २७ मा सरकारबाट अनुमति पाएपछि सुरुङमार्गको कार्यले औपचारिकता पाएको हो । यो सुरुङमार्ग नेपालमा निजीक्षेत्रले सञ्चालन गर्न लागेको हालसम्मकै ठूलो परियोजना हो । काठमाडौं–कुलेखानी–हेटौंडा सुरुङमार्ग नाम दिइएको यो परियोजना सम्पन्न गर्न करीब २० अर्ब रुपैयाँ लाग्ने कम्पनीका अध्यक्ष कुशकुमार जोशीले जानकारी दिए । निर्माणका लागि यसअघि सरकारबाट भएको प्रयास असफल भएपछि निजीक्षेत्रकै पहलमा परियोजना सम्पन्न गर्ने उद्देश्यले काम शुरू गरिएको उनले बताए । गत जेठ १ मा सरकारसँग डीपीआर (डिटेल प्रोजेक्ट रिपोर्ट) निर्माणको सम्झौता भएपछि सुरुङमार्गको स्थलगत अध्ययन शुरू भएको हो ।

४ वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको परियोजनाको हाल डीपीआर निर्माण गर्ने काम प्रक्रियामा रहेको छ । डीपीआर आगामी ६ महीनाभित्र सम्पन्न गरेर सरकारसमक्ष प्रस्तुत गर्ने कम्पनीको योजना छ । यसका लागि विषयगत विशेषज्ञको टोली निर्माण क्षेत्रको अध्ययनमा रहेको कम्पनीका सदस्य सचिव सुवासचन्द्र ठकुरीले जानकारी दिए । परियोजनाअन्तर्गत कुलेखानीदेखि मकवानपुरको भीमफेदीसम्मको तीन किलोमिटर क्षेत्रमा सुरुङमार्ग निर्माण गरिनेछ । त्यस्तै हेटौंडादेखि भीमफेदीसम्म हाल सञ्चालनमा रहेको सडक विस्तार गरिने कम्पनीका सञ्चालक सिद्धिलाल श्रेष्ठले बताए । उनका अनुसार कुलेखानीदेखि काठमाडौंको बल्खु जोड्ने सडकका लागि भने उपयुक्त विकल्पको छनोट गरेर सडक निर्माण गरिनेछ ।

विकल्पहरूमा वाग्मती नदीआसपासको क्षेत्र तथा छैमलेलगायतका स्थान छनोटमा परेका छन् । ‘डीपीआर निर्माण भएपछि कुलेखानीदेखि काठमाडौंको सडक निर्माणका लागि उपयुक्त स्थानको छनोट हुनेछ,’ श्रेष्ठले भने । परियोजनाको प्रारम्भिक योजनाअनुसार हेटौंडादेखि भीमफेदी २४, भीमफेदीदेखि कुलेखानी ३ (सुरुङमार्ग) र कुलेखानीदेखि काठमाडौंसम्म २४ किमि सडक निर्माण हुनेछ । परियोजनाको निर्माण सम्पन्न भएसँगै हाल काठमाडौंदेखि हेटौंडासम्म सञ्चालनमा रहेको १ सय २४ किमि दुरीको सडक ५१ किमिमा सीमित हुने कम्पनीका अर्का सञ्चालक लाल केसीले बताए । सडक सञ्चालनमा आएपछि वार्षिक अर्बौं रकमको इन्धन बचत हुने उनी बताउँछन् । परियोजना बूट प्रणाली (निर्माण, सञ्चालन र हस्तान्तरण)मा सञ्चालन हुनेछ । यसअनुसार सडकमा यातायात सञ्चालनमा ल्याएमा निश्चित रकम निर्माण कम्पनीलाई भुक्तान गर्नुपर्ने हुन्छ ।

सुरुङमार्गको अधिकांश क्षेत्र मकवानपुर जिल्लामा रहेकाले यसै क्षेत्रका बासिन्दालाई मुख्य लगानीकर्ताका रूपमा स्थान दिने प्रयास रहेको कम्पनीका अध्यक्ष जोशी बताउँछन् । ‘पूर्णरूपमा नेपाली स्वामित्वमा निर्माण गर्न लागेकाले विशेषगरी स्थानीय बासिन्दा, निजीक्षेत्रलगायतलाई समेट्ने प्रयासमा लागेका छौं,’ उनले भने । परियोजनाको अवधारणा आएसँगै स्थानीय बासिन्दाले सक्रिय रूपमा सहभागिता जनाउँदै आएकाले यसलाई सम्पन्न गर्नेतर्फ लाग्नुपर्ने उनको सुझाव छ । डीपीआर निर्माण भएपछि साधारण शेयरका लागि आह्वान गरिने कम्पनीले बताएको छ ।

विकासको माध्यम : सुरुङमार्ग

बहुप्रतीक्षित सुरुङमार्ग निर्माण शुरू भएसँगै मकवानपुर र यसआपपासका क्षेत्रमा आर्थिक विकासको सम्भावना बलियो हुने स्थानीय बताउँछन् । नेपालको इतिहासमै पहिलोपटक निर्माण हुन लागेको सुरुङमार्गले पर्यटन, शिक्षा, कृषि, उद्योग, स्वास्थ्यलगायत क्षेत्रको विकासमा सहयोग पुर्‍याउने मकवानपुरका स्थानीय विकास अधिकारी भुवनप्रकाश विष्टको भनाइ छ । सुरुङमार्ग हेटौंडाको आर्थिक विकासको ढोका बन्न सक्छ । सुरुङमार्गले मकवानपुरलाई केन्द्र बनाएर स्थापना हुने उद्योगको सम्भावना अझै बढाउने मकवानपुर उद्योग वाणिज्य सङ्घका प्रथम उपाध्यक्ष प्रकाश ढकाल बताउँछन् ।

‘सुरुङमार्ग उद्योग सञ्चालनका लागि उपयुक्त माध्यम हुनेछ,’ उनले भने । त्यस्तै सुरुङमार्गले हेटौंडालाई औद्योगिक नगरीका रूपमा विकास गर्ने हेटौंडा उद्योग सङ्घका उपाध्यक्ष अशोककुमार श्रेष्ठको बुझाइ छ । सुरुङमार्ग सञ्चालनमा आएपछि काठमाडौंसँगको दुरी घट्ने हुनाले शैक्षिक विकासलाई पनि टेवा पु¥याउने हेटौंडा म्यानेजमेण्ट कलेजका प्रिन्सिपल पुरनकुमार जोशी बताउँछन् ।

सुरुङमार्गले विशेषतः यहाँको पर्यटनलाई मुख्य रूपमा फाइदा पुर्‍याउने मकवानपुर उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष उत्तम शर्मा ढकाल बताउँछन् । उनका अनुसार मकवानपुरको पर्यटन प्रवद्र्धनमा सुरुङमार्ग उत्तम विकल्प हुन सक्छ । यसबाहेक एक मात्र सुरुङमार्ग भएकाले यो आफैमा आन्तरिक तथा बाह्य पर्यटकका लागि आकर्षणको केन्द्र हुन सक्ने अध्यक्ष जोशीको बुझाइ छ । सुरुङमार्गको निर्माणसँगै यस क्षेत्रमा विकासका प्रशस्त सम्भावना खुल्ने हुनाले स्थानीय बासिन्दाले यसबाट फाइदा लिनेतर्फ सोच्नुपर्ने बेला आएको उनले बताए । सुरुङमार्ग निर्माणका लागि राजनीतिक दलका प्रतिनिधिहरूले पनि पूर्णरूपमा सहयोग पुर्‍याउने बताएका छन् ।  

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।