किन अपनाउने ओपन सोर्स सफ्टवेयर

Share News

ड्रुपाल विश्वकै एक बृहत् ‘ओपन सोर्स वेब कण्टेट म्यानेजमेण्ट प्लेटर्फम’का रूपमा रहेको छ । हजारौं प्रकारका सफ्टवेयर एप्लिकेशन बनाइरहेको यो समुदायमा विश्वभरिका १६ हजार सक्रिय ‘सफ्टवेयर डेभलपर्स’हरू सामेल छन् । यसले निर्माण गरेको सफ्टवेयर र एप्लिकेशन विश्वभर दशौं लाखले प्रयोग गरिरहेका छन् । त्यसैगरी यो समुदायका उत्पादनको विकास र परीक्षणका लागि हजारौंको सङ्ख्यामा विभिन्न मोड्युल प्रयोग भइरहेका छन् ।

तीव्र गतिमा परिवर्तन भइरहेको विश्व बजारमा व्यापारिक संस्थाहरू आफ्ना गतिविधि चुस्त राख्न र प्रतिस्पर्धात्मक वातावरणमा खरो उत्रन नयाँ प्रविधिको अधिकतम उपयोग गर्न तम्सिएका छन् । यसका लागि विकसित देशका ठूलासाना, सार्वजनिक–निजी कम्पनीहरू आफ्ना व्यावसायिक लक्ष्यमा पुग्न र ग्राहकलाई उत्कृष्ट सेवा दिन ‘ओपन सोर्स सफ्टवेयर’ प्रविधिबाट फाइदा लिन लागिपरेका छन् । ‘ओपन सोर्स’को प्रयोग सजिलो हुनुका साथै महत्वपूर्ण पनि बन्दै गएको छ । त्यस्ता सफ्टवेयरलाई सञ्चालन गर्न कुनै लाइसेन्स शुल्क पनि तिर्नुपर्दैन । हरेक प्रकारका ओपन सोर्स सफ्टवेयर निःशुल्क प्रयोग गर्न सकिन्छ ।

ओपन सोर्स सफ्टवेयर बनाउने र प्रयोग गर्नेमा व्यापारिक कम्पनीमात्र नभई अमेरिकी अन्तरिक्ष एजेन्सी (नासा), न्यूयोर्क स्टक एक्सचेञ्ज (एनवाईएसई), बेलायती मन्त्रिपरिषद्को कार्यालयजस्ता ठूला संस्था पनि छन् । तर, लाइसेन्स शुल्क तिर्न नपर्नुबाहेक पनि ओपन सोर्सका थुप्रै फाइदा छन् । ओपन सोर्स प्रयोग गर्ने सफ्टवेयर निर्माताहरूले आफ्नै समूह र समुदाय बनाएर ‘सोर्स कोड’ शेयर गर्दै सामूहिक रूपमा राम्रा सफ्टवेयर विकास गरिरहेका छन् । यसले कम्पनीहरूलाई व्यापारिक गतिविधिमा देखिएका समस्या हल गर्न निकै कम मूल्यमा सृजनात्मक र प्रभावकारी कम्प्युटरिङ सेवा उपलब्ध गराइरहेको छ । ओपन सोर्स प्रयोग गर्दै सफ्टवेयर निर्माताहरूको चर्चा गर्दा ‘ड्रुपाल’ छुटाउन नहुने नाम हो । ड्रुपाल विश्वकै एक बृहत् ‘ओपन सोर्स वेब कण्टेट म्यानेजमेण्ट प्लेटर्फम’का रूपमा रहेको छ । हजारौं प्रकारका सफ्टवेयर एप्लिकेशन बनाइरहेको यो समुदायमा विश्वभरिका १६ हजार सक्रिय ‘सफ्टवेयर डेभलपर्स’हरू सामेल छन् । यसले निर्माण गरेको सफ्टवेयर र एप्लिकेशन विश्वभर दशौं लाखले प्रयोग गरिरहेका छन् । त्यसैगरी यो समुदायका उत्पादनको विकास र परीक्षणका लागि हजारौंको सङ्ख्यामा विभिन्न मोड्युल प्रयोग भइरहेका छन् । निःशुल्क डाउनलोड गर्न सकिने यी ‘सफ्टवेयर कम्पोनेण्ट’ विभिन्न प्रकारका सफ्टवेयर निर्माणमा प्रयोग गर्न सकिन्छ । ड्रुपालले उपलब्ध गराएका ओपन सोर्सबाट १०औं लाखको सङ्ख्यामा व्यापारिक तथा अन्य प्रयोजनका अनेकौं वेबसाइट बनेका छन् ।



न्यूयोर्क स्टक एक्सचेञ्जमा ओपन सोर्सको प्रयोग

विश्वको सबैभन्दा ठूलो शेयर बजार न्यूयोर्क स्टक एक्सचेञ्ज (एनवाईएसई)का प्रमुख डिजिटल अधिकृत बब केर्नर ओपन सोर्सका पक्षपातीमध्ये एक हुन् । उनलाई ओपन सोर्स मोडल सफल हुने कुरामा कुनै सन्देह छैन । ‘मेरो अनुभवमा जब तपाईं डेभलपर्सलाई ओपन सोर्समा सफ्टवेयर बनाउन प्रेरित गर्नुहुन्छ भने उनीहरू आफ्नो काममा साँच्चीकै लगनशील बन्छन्’, केर्नरले भने । ओपन सोर्सका सफ्टवेयर डेभलपर्सको समुदायमा आफूले पाएको ज्ञान एकआपसमा बाँडिने हुँदा यसबाट सबैजना लाभान्वित भइरहेको उनको कथन थियो ।  केर्नर र उनको समूहले ड्रुपाल समुदायसँगको सहकार्यमा भर्खरै मात्र निर्माण गरेको ‘एक्सचेञ्जेज’ नामक एक शेयर बजार ब्लगिङ साइट शेयर ट्रेडरहरूमाझ निकै लोकप्रिय बनिरहेको छ । यसलाई १ महीनाको परीक्षण अवधिमा राखिए पनि शेयर ट्रेडरहरूले आफ्ना अनुभव साटासाट गर्न यो अत्यन्त सजिलो प्लेटफर्म बनेको बताइरहेका छन् । यो सफलतालाई देखेर नै केर्नरले वालस्ट्रीटमा भइरहेका गतिविधिबारे जानकारी दिने एनवाईएसई मनी सेन्स र एनवाईएसई कनेक्टजस्ता प्रमुख साइटलाई ड्रुपालको ढाँचामा पुनर्निर्माण गरेर सञ्चालन गर्ने योजना बनाएका छन् ।

पहिले धेरैजनाले संशय व्यक्त गरे पनि ओपन सोर्स भविष्यमा सफ्टवेयर निमार्णको आधार बन्नेमा प्रविधि विज्ञहरूको मत एक हुन थालेको छ । हालैमात्र गरिएको एक अध्ययनमा पनि विश्वका १० हजार प्रमुख वेबसाइटमध्ये ६१ प्रतिशत ओपन सोर्समा बनाइएका पाइएको थियो । तीव्र प्रतिस्पर्धाबीच नाफा कमाउन सकिने यो युगमा कम्पनीहरू ‘क्लोज्ड सोर्स’जस्तो झन्झटिलो प्रक्रियाका कारण आफ्नो बहुमूल्य समय खेर गइरहेको ठान्दछन् । निःशुल्क प्रयोग गर्न सकिने ओपन सोर्सको प्रयोगबाट आफ्नो आवश्यकताअनुरूपको सफ्टवेयर निर्माण गर्न सकिने भएकाले कम्पनीहरूको रुचि यसमा बढ्दै गएको हो ।


साभार ः ‘बीबीसी क्लिक’

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।