"सिन्धुली गढी घुमेर हेर्दा, सुन्तली मै
कतिमा राम्रो दरबार, मार्यो नि मायाले मार्यो ।"
गायक स्व. कृष्णविक्रम थापाको यो गीतमा झैं सिन्धुली गढीमा न अहिले त्यसबेलाको चर्चित दरबार छ, न गायक स्वयम् नै । यद्यपि उनको गीतमा गढी दरबार र त्यसको महत्व अहिले पनि उस्तै छ । इतिहासको साक्षी सिन्धुली गढी दरबार भग्नावशेषमा परिणत भए पनि यसको महत्वले कालान्तरसम्म सिन्धुलीलाई सम्झाइरहने पक्का छ । गढी दरबार सिन्धुली जिल्लाको ऐतिहासिक मात्र नभई पर्यटकीय दृष्टिकोणबाट समेत महत्वको स्थल हो । साथै, स–साना थुम्के पहाडबीचको सिन्धुली माढी उपत्यकाले त्यहाँ पुग्ने पर्यटकलाई साँच्चै नै आनन्दानुभूति दिन्छ ।
पर्यटनबाहेक जुनारले पनि सिन्धुली जिल्लाको परिचय थपिदिएको छ । तर, जुनार र जङ्गलको जिल्लाका रूपमा समेत परिचय बनाएको सिन्धुलीमा जुनारको उत्पादन बढ्दै गए पनि जङ्गलको अवस्था भने सन्तोषजनक नरहेको सामुदायिक वन उपभोक्ता महासङ्घ जिल्ला समिति सिन्धुलीका अध्यक्ष कृष्णकुमार श्रेष्ठले बताए । कुल क्षेत्रफलको करीब ६४ प्रतिशत भूभाग वन जङ्गलले ढाकेको सिन्धुलीले वनबाटै खासै आर्थिक लाभ लिन सकेको छैन ।
वन विनश तीव्र हुँदै गएपछि त्यसको संरक्षरका लागि अहिले जिल्लाभर ४ सय २६ ओटा सामुदायिक वन उपभोक्ता समिति गठन भएका छन् । अस्थिर राजनीतिक अवस्थाको प्रभाव वनमा समेत उत्तिकै परेको अध्यक्ष श्रेष्ठको भनाइ छ । ‘सरकार परिवर्तनसँगै सामुदायिक वन उपभोक्ता समितिको अधिकारमाथि समेत अङ्कुश लाग्ने गरेको छ,’ उनले भने, ‘सरकारी वनको तुलनामा सामुदायिक वन बढी जोगिएको छ ।
धार्मिक एवम् पर्यटकीय महत्वको जिल्ला सिन्धुली जुनार उत्पादनपछि विस्तारै औद्योगिक उत्पादनतर्फ उन्मुख हुँदै गएको छ । निर्माणाधीन बनेपा–बर्दिबास सडक पूरा भएपछि राजधानीसँग सिन्धुलीको दूरी करीब २ सय किलोमिटरमा सीमित हुनेछ । हाल तराईका जिल्ला हुँदै सिन्धुली पुग्न काठमाडौंबाट करीब ४ सय किलोमिटरको यात्रा गर्नुपर्छ ।
जापान सरकारको सहयोगमा बन्दै गरेको उक्त सडक सञ्चालनमा आएपछि सिन्धुलीलाई ट्राञ्जिट प्वाइण्टका रूपमा विकास गर्न सकिने सिन्धुली उद्योग वाणिज्य सङ्घका अध्यक्ष सानुकाजी श्रेष्ठले बताए । सडकको सहज पहुँचले हालसम्म घरेलु उद्योगमै सीमित सिन्धुलीलाई औद्योगिक दिशातर्फ उन्मुख गराउन सहज बनाउने उनको तर्क छ । ‘सिन्धुलीको विकासका लागि विशेषगरी पर्यटन, कृषि, वन, जडीबुटीलाई प्राथमिकतामा राख्नुपर्छ,’ उनले भने ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।