‘सुव्यवस्थित अर्थव्यवस्थाका लागि सीएको भूमिका महत्वपूर्ण’

Share News

माघ १८, काठमाडौं । सुव्यवस्थित अर्थव्यवस्था निर्माणका लागि चार्टर्ड एकाउण्टेण्ट (सीए)हरूको भूमिका महत्त्वपूर्ण हुने राष्ट्रपति विद्यादेवी भण्डारीले बताएकी छिन् । नेपाल चार्टर्ड एकाउण्टेण्ट्स संस्था (आईसीएएन)को पहिलो दीक्षान्त समारोहमा बोल्दै राष्ट्रपति भण्डारीले यस्तो बताएकी हुन् । देशका सरकारी, गैरसरकारी तथा निजी सम्पूर्ण क्षेत्रको आर्थिक प्रतिवेदन तयार गर्ने तथा प्रमाणित गर्ने अधिकार सीएमा हुने गर्दछ । तसर्थ, सीएहरूले प्रस्तुत गर्ने चुस्तता एवम् पारदर्शितामा देशको अर्थव्यवस्थाको स्वरूप निर्धारित हुनेमा राष्ट्रपति भण्डारीले जोड दिइन् ।

संस्था स्थापनाको २० वर्षमा पहिलोपटक आयोजित दीक्षान्त समारोहमा हालसम्मका उत्तीर्ण तीन सय १९ विद्यार्थी दीक्षित भएका हुन् । विद्यार्थीहरूलाई राष्ट्रपतिबाट दीक्षान्त उपाधि प्रदान गरिएको थियो । उक्त संस्था नेपाल चार्टर्ड एकाण्टेण्ट्स संस्था ऐन, २०५३ अनुसार सोही सालबाट शुरू भएको हो । भर्ना, पाठ्यक्रम तथा परीक्षाको जिम्मेवारी सम्हालेको यस संस्था आफैले भने पढाउँदैन । सीए कोर्सको अन्तरराष्ट्रिय ढाँचाअनुरूप नै नेपालमा पनि विद्यार्थीले स्वअध्ययन वा इन्ष्टिच्युटमा भर्ना भई पढ्ने प्रचलन छ । त्यसबाहेक भारतबाट सीए पढेर आएका विद्यार्थीले पनि संस्थाबाट लिइने नेपालको एकाउण्टेन्सी कानून र ट्याक्स प्रणालीको छुट्टै परीक्षा पास गरेपछि यहाँ सीएको काम गर्न पाउँछन् । त्यसैगरी संस्थाबाट उत्पादित सीएहरूलाई अष्ट्रेलिया, बेलायतलगायत देशका पेशागत संस्थाहरूले मान्यता दिएको संस्थाका अध्यक्ष महेश खनालले बताए ।

हाल संस्थाद्वारा प्रदान गरिने सीए कोर्सको विभिन्न तहमा गरी १५ हजार विद्यार्थी दर्ता भएका छन् । हरेक सङ्घ, संस्था तथा निकायको लेखा परीक्षणमा सीएको माग बढेसँगै यो विषय अध्ययन गर्नेहरूको सङ्ख्या पनि बढ्दै गएको छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।