धनुषामा भर्ना भएका १०५ विद्यार्थी विद्यालयबाहिर

Share News

‘सयौं थुङ्गा फूलका हामी एउटै माला नेपाली
सार्वभौम भई फैलिएका मेची महाकाली...

विद्यालयमा पङ्क्तिबद्ध भएर शारीरिक अभ्यास, प्रार्थना र राष्ट्रिय गान गरिसकेपछि कक्षाकोठामा पसेका ९ जना बालबालिकाले घर फर्कन शिक्षकसँग अनुमति मागे । शिक्षकले पनि घर जान सजिलैसँग अनुमति दिए । पठनपाठनका लागि विद्यालय आएर लगत्तै घर फर्कन लागेका कक्षा ५ का राकेशकुमार राउतले भोज खान जान हतार भएको जवाफ दिए । उनले भने, ‘आज गाउँमा जन्ती जाने र भोज खाने निम्तो छ । आमाले घर भोज खान जान छिटो आउ भन्नुभाको छ ।’

‘यहाँ त भोजभतेर, मेला, विवाहलगायत कार्यक्रम भयो कि विद्यार्थी स्कूल आउँदैनन् र आएका पनि कक्षा छोडेर जाने गर्छन्,’ शिक्षकले पनि हाँस्दै जवाफ दिए, ‘हामीले नजाऊ भनेर कडा गर्न सक्तैनौं । विद्यार्थीलाई जान नदिए अभिभावक नै लिन आउँछन् ।’ शिक्षकले यस्तो बताइरहँदा तीन छोराछोरीलाई पढाउँदै आएका अभिभावक जितेन्द्रप्रताप सिंहले विवाहको निमन्त्रणा भएकाले घरमा खाना नपकाएको र छोराछोरी भोकै भएकाले भोज खुवाउन लिन आएको बताए ।

यो घटना धनुषा जिल्लाको जनकपुर उपमहानगरपालीकाको दक्षिण भेगबाट करीब १० किलोमिटर टाढा पर्ने घोड्घास–३ मा रहेको श्री मिथिला राष्ट्रिय प्राथमिक विद्यालयमा देखिएको दृश्य हो । विद्यालयमा विद्यार्थीहरू नियमित नआउने गरेकाले विद्यार्थीले धेरै पाठ छुटाउने गरेको र शिक्षकले फेरी पाठ दोहो¥याउन पनि सम्भव नहुने प्रधानाध्यापक आशाकुमारी झाले बताइन् ।  शिशु कक्षादेखि ५ कक्षासम्म २ सय २१ जना विद्यार्थी अध्ययनरत सो विद्यालयमा दशैंपछि १० प्रतिशत विद्यार्थी मात्र नियमित आउने गरेको जानकारी उनले दिइन् । उनी आफै आमा समूहको बैठकमा गएर बालबालिकालाई नियमित स्कूल पठाउन पटकपटक अनुरोध गरेको बताइन् । तर, अभिभावकहरू कहिले चाडपर्वको निहुँमा त कहिले घरायसी कामकाजका कारण बालबालिकालाई नियमित विद्यालय पठाउँदैनन् । विद्यार्थीहरू नियमित विद्यालय नआएका कारण कक्षा ५ को परीक्षामा विद्यालय आफैले विद्यार्थी आएर पढेको पाठलाई मात्र अर्को प्रश्नपत्र बनाएर परिक्षा लिएको अनुभव सुनाइन् । गतवर्ष नाकाबन्दी हुँदा ३ महीनासम्म विद्यालय बन्द गर्नुपरेकाले धेरै पाठ छुटेकोले यस्तो स्थिति आएको उनको भनाइ थियो ।

विद्यालयमा विद्यार्थी मात्र होइन, शिक्षक पनि नियमित आउने नगरेको विद्यार्थीहरूले बताए । स्थलगत भ्रमणको क्रममा उक्त विद्यालयमा पुग्दा त्यहाँ तीनजना मात्र शिक्षक उपस्थित थिए । जब कि सो विद्यालयमा स्थायी दरबन्दीमा पाँच शिक्षक, एक अस्थायी शिक्षक, एक राहत शिक्षक, एक बाल विकास शिक्षक र एक परिचालक गरेर ९ जना छन् ।  विद्यालयमा सबै शिक्षक उपस्थित नहुँदा र विद्यार्थीहरू पनि कक्षा छोडेर घर जाने गरेकाले विद्यालय लथालिङ्ग देखिन्थ्यो । परिचालकले विद्यार्थीलाई नियन्त्रण गर्न सकिरहेका थिएनन् । अधिकांश शिक्षकहरू नियमित विद्यालय नजाने कारणले विद्यालयमा नियमित पढाइ हुन सकेको छैन । अर्कोतर्फ विद्यालय गएका शिक्षकहरू पनि कक्षामा नजाने र कतिपय हाजिर गरेर आफ्नो व्यक्तिगत काममा निस्किहाल्ने प्रवृत्तिले यहाँका सरकारी विद्यालयमा राम्रो पढाइ हुन नसकेको जिल्ला शिक्षा कार्यालय धनुषाका सहायक जिल्ला शिक्षा अधिकारी दानीकान्त झाले बताए । यसले गर्दा विद्यालयमा नियमित कक्षा सञ्चालनसमेत हुन नसकेको उनको ठहर छ । सरकारले वर्षमा २ सय २० दिन विद्यालय खोल्नुपर्ने र १ सय ९२ दिन अनिवार्य पढाइ हुनुपर्ने भनेर तोके पनि यहाँका धेरै विद्यालयमा सरकारले तोकेको यो समयसीमा अवधिभर पढाइ नहुने उनको भनाइ छ ।

उक्त विद्यालयको ३ कक्षाकी एक छात्राले सबै शिक्षक नियमित नआउने र सधैं पहिलो कक्षामा हाजिर मात्र गर्ने तर नपढाउने गुनासो गरिन् । विद्यालयका अनुसार कक्षा ५ मा २४ जना विद्यार्थीमध्ये १० जना मात्र उपस्थित हुने गर्छन्, जसले गर्दा  विद्यार्थीको सिकाइ प्रभावकारी बन्न सकेको छैन । यसको दोष शिक्षकले अभिभावक र विद्यार्थीलाई दिने गरेका छन् भने अभिभावकले शिक्षक पनि नियमित कक्षा नआउने भएकाले गुणस्तर शिक्षा नभएको औंल्याए ।  

यसैगरी जनकपुर उपमहानगरपालिकाको दक्षिण भेगबाट करीब १२ किलोमिटर टाढा रहेको फूलगामा वडा नम्बर ४ को श्री आधारभूत विद्यालयमा पनि विद्यार्थी नियमित नआएकाले प्रभावकारी पठनपाठन हुन सकेको छैन । केही विद्यार्थीबाहेक अन्य धेरैले विद्यालय भर्ना गर्ने र बीचैमा कक्षा छोड्ने प्रवृत्ति देखिएको छ । जम्मा १ सय ८४ जना विद्यार्थी रहेको सो विद्यालयमा अहिले कतिपय विद्यार्थी आउन छोडेको र कतिपय नियमित नभएको विद्यालयका शिक्षक तपेश्वर यादवले जानकारी दिए । उनका अनुसार विद्यालयमा प्रायःजसो १५ प्रतिशत विद्यार्थी अनुपस्थित हुने गर्छन् । ‘शिक्षकको अभावले पनि विद्यार्थीलाई प्रभावकारी शिक्षा दिन सकेका छैनौं । विगतमा राहत आएको तर राजनीतिक खिचातानीले हानथाप भएपछि आएको कोटा पनि रद्द भयो,’ उनले भने, ‘तीनजना शिक्षकले मात्र कक्षा सञ्चालन गर्नुपरेको छ । कुनै दिन बिदा बस्नुप¥यो भने विद्यालयमा शिक्षकको अभाव झनै हुन्छ । यसले गर्दा गुणस्तरीय शिक्षा दिन सकिरहेका छैनौं ।’ यस विद्यालयका कक्षा ५ मा पढ्ने धेरैजसो विद्यार्थी गणित विषयमा कमजोर देखिन्छन् ।

विद्यालयमा विद्यार्थीलाई आकर्षण गर्न र नियमित गराउन ‘निक शिक्षा दिय’ अर्थात् राम्रो शिक्षा दिऊँ नामक परियोजनाले नियमित विद्यालय आउने विद्यार्थीलाई पुरस्कृत गर्ने गरेको छ । यो परियोजनाले धनुषाका ४५ ओटा सामुदायिक विद्यालय र पाँचओटा मदरसा विद्यालयमा नियमित विद्यालय आउनेलाई प्रोत्साहनस्वरूप पुरस्कार दिएर विद्यालय उपस्थिति सुधारको लक्ष्य राखेको छ ।   

धनुषाका ३ सय ९० सामुदायिक विद्यालयमा १ लाख ४९ हजार ९ सय १ जना बालबालिका अध्ययनरत रहेको शिक्षा कार्यालयको तथ्याङ्क छ । जिल्ला शिक्षा कार्यालय धनुषाका सहायक जिल्ला शिक्षा अधिकारी झाका अनुसार १० प्रतिशत विद्यार्थी विद्यालय जान छाडेका छन् । ‘कक्षा १ देखि ५ सम्ममा ५० प्रतिशतभन्दा कम उपस्थिति रहन्छ । यस्तै, ६ कक्षादेखि ८ कक्षासम्म औसत ६५ प्रतिशत कम उपस्थिति छ भने ९ र १० कक्षामा औसत उपस्थिति ७५ प्रतिशतभन्दा कम छ ।’

सरकारले विद्यार्थीलाई कक्षा चढाउनुपर्ने नियम बनाएकाले ९० प्रतिशत विद्यार्थी उत्तीर्ण हुने गरेका छन् । तराईका आठ जिल्ला सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सामा औसत साक्षरता दर ४१ प्रतिशत छ । सरकारी तथ्याङ्कअनुसार नेपालमा सबैभन्दा बढी निरक्षर जनसङ्ख्या सर्लाहीमा रहेको छ । यो जिल्लामा १ लाख ६५ हजार ८ जना निरक्षर छन् । यसैगरी बढी निरक्षर रहेको दोस्रो जिल्ला महोत्तरी, तेस्रो जिल्ला धनुषा, चौथो जिल्ला रौतहट र पाँचौं जिल्ला सिरहा हो ।

शिक्षा विभागको तथ्याङ्कले राजधानीलगायत आसपासका जिल्लामा करीब ३० हजार बालबालिकाले काम गरिरहेको उल्लेख छ । विभागका अनुसार ५ लाख ४१ हजार जना अर्थात् ३ दशमलव ६ प्रतिशत बालबालिका अझै विद्यालय बाहिर छन् । यसैगरी ९६ दशमलव ६ प्रतिशत बालबालिका नियमित विद्यालय जाने गरेका छन् । यसमध्ये ५ दशमलव ३ प्रतिशत बालबालिकाले बीचमै पढाइ छाड्ने गरेको विभागको तथ्याङ्कले देखाएको छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।