पूर्वाधारको अभावमा ग्रामीण क्याम्पस अलपत्र

Share News

पर्वत । पर्वतको सुदूर दक्षिणी गाविस वहाकीमा रहेको वहाकी सामुदायिक क्याम्पस आर्थिक र भौतिक पूर्वाधारको अभावले सङ्कटमा परेको छ । २०६७ सालदेखि त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरी कक्षा सञ्चालन गरेको क्याम्पसका प्राचार्यको तलब सुविधादेखि भौतिक संरचनाको विकासका लागि आर्थिक समस्या उत्पन्न भएको हो । ग्रामीण क्षेत्रमा आर्थिक अवस्था कमजोर भएका विद्यार्थीलाई अध्ययन तथा बढ्दो बसाइँसराइँ रोक्ने उद्देश्यले क्याम्पस स्थापना गरिए पनि पछिल्लो समय सञ्चालनसम्बन्धी विभिन्न समस्या आउन थालेका छन् ।

त्रिविले मानविकी र शिक्षा सङ्कायतर्फ अध्यापनका लागि अनुमति दिन तयार भए पनि आर्थिक स्रोतको अभावमा जनशक्तिदेखि भौतिक पूर्वाधार तयार पार्न नसकिएको क्याम्पस प्रमुख एकनारायण भट्टराईले बताए । हाल उच्च माविले दिएको भवनमा कक्षा सञ्चालन गरिए पनि क्याम्पसको आफ्नै भवन नहुँदा समस्या भएको उनको भनाइ छ । त्रिभुवन विश्वविद्यालयबाट वर्षेनि केही रकम अनुदानस्वरूप आउने भए पनि पर्याप्त नभएकोले भवन निर्माण गर्न नसकिएको क्याम्पस सञ्चालक समितिका अध्यक्ष कमलप्रसाद भुसालले बताए । भवन निर्माण र प्राध्यापकहरूको तलबका लागि रकमको अभाव भएकाले स्थानीय स्तरदेखि विभिन्न स्थानमा स्रोतको खोजीका लागि पहल भइरहेको उनको भनाइ छ ।

जिल्लाको सुदूर दक्षिणीका पाँच गाविस तथा छिमेकी जिल्लाका पुर्तिघाट र सेतीवेणीबाट समेत स्नातक तहमा बीए÷बीएड अध्ययनका लागि विद्यार्थी आउने गरेका छन् । वर्षेनि विद्यार्थीको सङ्ख्या बढ्दै गए तापनि अध्यापकलाई तलब खुवाउनै समस्या भएको छ । विद्यार्थीबाट शुल्क लिएर क्याम्पस सञ्चालन गर्न पनि सम्भव नभएको क्याम्पस सञ्चालक समितिले बताएको छ । उक्त क्षेत्रका विद्यार्थी उच्चमावि तहसम्मको अध्ययनपछि माथिल्लो तहको शिक्षा लिन जिल्ला छाडेर जानुपर्ने बाध्यता हटाउन क्याम्पस स्थापना गरिए पनि सञ्चालनमै कठिनाइ भएको समितिको भनाइ छ ।

हाल वहाकी तथा शालिग्राम गाविसले केही बजेट छुट्ट्याए तापनि क्याम्पस सञ्चालन गर्न पर्याप्त नभएको सञ्चालक समितिले बताएको छ । क्याम्पसको नाममा भने हाल ५ रोपनी जग्गा खरीद गरी चारकोठे भवन निर्माण गर्न लागिएको भुसालले जानकारी दिए । विश्वविद्यालय अनुदान कोषबाट भवनका लागि २५ लाख विनियोजन भएकोे उनको भनाइ छ  ।

उक्त क्याम्पसमा अहिले १ सय जना विद्यार्थी अध्ययन रहेको र नवनिर्मित भवन पूरा भएपछि यो सङ्ख्या बढाउन सकिने व्यवस्थापन समितिको भनाइ छ । क्याम्पस सञ्चालनपछि गरीब परिवारका विद्यार्थी लाभान्वित भएको स्थानीयवासीहरू बताउँछन् ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।