रुकुम । दुईओटा भवनका आठओटा कोठा छन् । शौचालय र खानेपानीको सुविधा राम्रै छ । झट्ट हेर्दा निमावि तहको जस्तै देखिने विद्यालयमा विद्यार्थी सङ्ख्या भने जम्मा ५ छ । हो, रुकुमको एक सामुदायिक विद्यालयमा चार शिक्षक र पाँच विद्यार्थी छन् ।
बालबोध प्राथमिक विद्यालय मुरु ६ बुर्तिबाङमा चार शिक्षक पाँच विद्यार्थी रहेका हुन् । यस विद्यलायमा दुईजना स्थायी, एकजना राहत र एकजना बालविकासका लागि शिक्षक दरबन्दी छ । यिनै चार शिक्षकले कक्षा ५ का दुई, कक्षा ३ र २ का एक/एक र बालविकासको एकजना विद्यार्थी पढाउनुपर्छ । विद्यालयका पूरै कोठा खाली छन् । चारैतिर पक्की घेराबार छ, त्यो पनि भत्किन थालेको छ । विद्यालयको चौरको एउटा कुनामा कक्षा ५ का भावना ओली र नमूना ओली, कक्षा ३ का दीपक केसी, कक्षा २ का जेनी डाँगी र बालविकासका उज्ज्वल डाँगी एउटा बेञ्चमा बसेका छन् । शिक्षक विद्यालय नियमित आउँदैनन् । विद्यालय आएका शिक्षकले पनि पढाउनुपर्दैन । विद्यालय आउने, गफिने र फर्कर्ने गरेको स्थानीयले बताए ।
२०४७ सालमा स्थापना भएको यो विद्यालयमा पढाइ गुणस्तरको खस्किएपछि विद्यालय सेवाक्षेत्रका बालबालिकासमेत अर्को विद्यालयमा पढ्न गएको स्थानीयको भनाइ छ । उनीहरूका अनुसार शिक्षकहरू अबेर विद्यालय आउने र कार्यालय समय नबित्दै फर्कने गर्छन् । शिक्षकको लापरवाहीका कारण नै विद्यालयको शैक्षिक अवस्था बिग्रेको स्थानीयको आरोप छ । तर शिक्षिका मनीषा चन्द खड्काले भने एउटै वडामा दुईओटा विद्यालय भएका कारण विद्यार्थी सङ्ख्या न्यून भएको बताउँछिन् । ‘शुरूमा १० जना विद्यार्थी भर्ना भए पनि नियमित पाँचजना पनि आउँदैनन्,’ उनले भनिन् ।
जिल्ला शिक्षा अधिकारी पूर्णबहादुर अछामीले बालबोध प्राथमिक विद्यालयमा विद्यार्थी सङ्ख्या ५ रहेको आफूलाई जानकारी नभएको बताए । ‘विद्यार्थी सङ्ख्या कम भएका विद्यालयलाई विद्यालय व्यवस्थापन समिति र अभिभावकको निर्णयको आधारमा अर्को विद्यालयमा गाभ्न सकिन्छ,’ उनले भने । सामान्यतया एउटा शिक्षकको अनुपातमा हिमाल, पहाड र तराईमा क्रमशः ३५, ४० र ४५ जना विद्यार्थी आवश्यक हुने शिक्षक नियमावलीमा उल्लेख गरेको छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।