बहुकक्षा शिक्षणले सिकाइ प्रभावकारी बन्न सक्दैन : शिक्षक

Share News

काठमाडौं । धनुषा हाँसपटी ८ को श्री राष्ट्रिय प्राथमिक विद्यालयमा १ सय ८० जना विद्यार्थीलाई दुईजना शिक्षकले सम्हाल्दै आएका छन् । विगत ५ महीनादेखि दुईजना शिक्षकको अवकाशपछि बाँकी दुईजनाले मात्र बहुकक्षा शिक्षणमार्फत विद्यार्थीलाई सम्हाल्दै आएका हुन् । हाँसपटीको यो विद्यालयबाहेक फूलगामा ४ को श्री आधारभूत प्राथमिक विद्यालयले पनि शिक्षकको अभावमा बहुकक्षा शिक्षण विधिलाई अपनाएको छ । नेपाल सरकारले सरकारी नीतिमै बहुकक्षा शिक्षालाई प्राथमिकता दिए पनि यो विधिले पढाइ गुणस्तरीय नहुने शिक्षकहरूको भनाइ छ । नेपालका कतिपय दुर्गम क्षेत्रमा खाली दरबन्दीमा भन्नेबित्तिकै शिक्षक मिलान नगर्ने र कतै दरबन्दी कम भएकाले थोरै शिक्षकबाट बहुकक्षा सञ्चालन गर्नुपर्ने बाध्यता छ । तर, सबैजसो शिक्षक शहरी क्षेत्रका सामुदायिक विद्यालयमा आकर्षित हुने गरेको देखिन्छ ।  सरकारले १ शिक्षकबराबर ४५ देखि ५० जना विद्यार्थी हुनुपर्ने भने पनि विद्यार्थी सङ्ख्या कम भएका शहरी क्षेत्रका सामुदायिक विद्यालयमा शिक्षक दरबन्दी खाली नभएको स्थिति देखिएको छ ।  

बहुकक्षा शिक्षण गर्दै आएका राष्ट्रिय प्रावि विद्यालयका शिक्षक सुरेन्द्र लाभ कर्ण यो सरकारी नीति भए पनि एउटै कक्षाकोठामा दुईओटा कक्षाका विद्यार्थीलाई पढाउँदा सिकाइ प्रभावकारी हुन नसक्ने बताउँछन् । विद्यार्थीलाई पढाउन समय दिन नसकेकाले पढाइको गुणस्तर खस्किन थालेको उनको भनाइ छ । ‘भवनहरू खाली छन्, तर शिक्षकको अभावमा विद्यार्थी भने खचाखच एउटै कक्षामा राखेर दुईओटा कक्षाको पठनपाठन गर्नुपर्ने बाध्यता रहेको छ,’ उनले भने, ‘२ र ३ कक्षाका विद्यार्थी एउटै कक्षामा अनि ४ र ५ कक्षाका विद्यार्थी अर्को एउटै कक्षामा राखेर पालैपालो पढाउँदा झन्झट हुने तथा विद्यार्थीलाई दुवै कक्षाको पाठ्यक्रम सुन्दा आफ्नो पाठ्यपुस्तकमा ध्यान केन्द्रित गर्न सकेका छैनन् ।’

शिक्षकले कक्षा व्यवस्थापन गर्न नसकेपछि विद्यार्थीलाई पढ्ने वातावरण तय गर्न शिक्षकलाई असहज हन्छ । यद्यपि, सरकारले बहुकक्षा शिक्षणका लागि शिक्षकलाई तालीम पनि दिने गरेको छ । तर, हाँसपटी ८ को श्री राष्ट्रिय प्राथमिक विद्यालयका  प्रधान अध्यापक अशोककुमार शाहले यस्तो तालीम नपाएको बताए । उनले गुणस्तरीय शिक्षाका लागि बहुकक्षा शिक्षा उपयुक्त नहुने औंल्याए । शिक्षकले विद्यार्थी व्यवस्थापन र नियन्त्रण गर्न नै धेरै समय लाग्ने भएकाले थोरै समयमा पाठ सिध्याउनुपर्ने बाध्यताले बुझाएर पढाउन नसकिरहेको स्वीकार गरे । ‘४ कक्षालाई पढाउँदा ५ कक्षालाई नियन्त्रण गर्नुपर्छ । ५ लाई पढाउँदा ४ लाई । यसले गर्दा विद्यार्थीले ध्यान दिएर पढ्न सकेका छैनन्,’ उनले भने ।  धेरै विद्यार्थी भएकाले हल्ला हुने र सम्हाल्न मुश्किल पर्ने भएकाले १ कक्षाको विद्यार्थीलाई समय दिन नसकेकाले प्रायःजसो परिचरले हेर्ने गरेको उनको पढाइ छ ।

यस्तै, १ सय ८४ जना विद्यार्थी भएको फूलगामा ४ को श्री आधारभूत प्राथमिक विद्यालयका शिक्षक तपेश्वर यादवले यस विद्यालयमा तीनजना शिक्षकको अभावमा मिलीजुली बहुकक्षा शिक्षण गर्दै आएको बताए । उनले भने, ‘शिक्षकको अभावमा गुणस्तरी शिक्षा दिन सकेका छैनौं ।’

हाँसपटीको उक्त विद्यालयको २ कक्षामा अध्ययनरत सरविना खातुन २ र ३ कक्षाको सबैलाई मिसाएर पढाउँदा पढाइमा ध्यान दिन नसकेको बताउँछिन् । यस्तै, फूलगामा ४ को श्री आधारभूत प्राथमिक विद्यालयमा ५ कक्षामा अध्ययनरत प्रियङ्का कुमारी मण्डललाई अङ्ग्रेजी र गणित विषय गाह्रो लाग्छ । उनलाई गुणान पनि भन्न आउँदैन । झन् एउटै कक्षामा विद्यार्थीलाई मिसाएर पढाउँदा आफू कहिलेकाहीँ अलमलमा पर्ने उनी बताउँछिन् । हाँसपटी ८ को विद्यालयमा आफ्ना तीन छोराछोरीलाई पढाउँदै आएकी सनिचरी देवीका सन्तान प्रायः विद्यालय जाँदैनन् ।

३ सय ९० सामुदायिक विद्यालय भएको धनुषामा १ लाख ४९ हजार ९ सय १ जना विद्यार्थीका लागि २ हजार ३ सय ७१ जना शिक्षक खटाइएको धनुषा जिल्ला शिक्षा कार्यालयको तथ्याङ्कमा उल्लेख छ । जिल्ला शिक्षा कार्यालय धनुषाका सहायक जिल्ला शिक्षा अधिकारी दानीकान्त झाका अनुसार धनुषामा ५० प्रतिशत विद्यालयमा विद्यार्थी धेरै शिक्षक थोरै रहेका छन् भने १० प्रतिशत विद्यालयमा विद्यार्थी थोरै र शिक्षक धेरै छन् । ‘सरकारले बहुशिक्षा शिक्षण नीति ल्याएकाले आवश्यकताअनुसार शिक्षकलाई सोहीअनुसारको तालीम दिने गरेका छौं । तर, बहुकक्षा नीतिले मात्र विद्यार्थीको पढाइ अब्बल दर्जाको हुन सक्तैन,’ उनले भने, ‘सरकारले दिने दरबन्दी मिलानको आधारमा शिक्षक राख्ने हो । दरबन्दी मिलान नभएको अहिले १ दशकभन्दा बढी भएको छ ।’  अभियान संवाददाताको प्रश्नलाई मूल्याङ्कन गर्दै उनले अब जिल्ला शिक्षा समन्वय समितिको निर्णयअनुसार विद्यार्थी धेरै शिक्षक थोरै भएको विद्यालयमा दरबन्दीअनुसार शिक्षक पठाउन पहल गर्ने बताए ।

झाका अनुसार  १ देखि ५ कक्षासम्ममा विद्यार्थीको औसत ५० प्रतिशतभन्दा कम उपस्थिति रहन्छ । ६ कक्षादेखि ८ कक्षासम्म ६५ प्रतिशतभन्दा कम उपस्थिति रहन्छ भने ९ र १० कक्षामा ७५ प्रतिशतभन्दा कम उपस्थिति हुन्छ । कतिपय विद्यालयमा बहुकक्षा शिक्षण त कतिपय विद्यार्थीको नियमित उपस्थिति नहुँदा पनि धनुषाको विद्यालयमा सिकाइ उपलब्धि हुन सकेको छैन । यसले गर्दा शिक्षाको गुणस्तरमा ह्रास आएको छ । जिल्ला शिक्षा अधिकारी झाले नेपाल सरकारले विद्यार्थीलाई कक्षा चढाउनुपर्ने नियम बनाएकाले अनुत्तीर्ण गर्न खासै नमिल्ने भएकाले जिल्लामा प्रतिवर्ष ९० प्रतिशत विद्यार्थी उत्तीर्ण हुने गरेका छन् ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।