फागुन ९, पाँचथर । जिल्लाको नाङ्गीन माविमा अनलाइन शिक्षा शुरू भएको छ । ग्रामीण क्षेत्रमा सञ्चालित यस विद्यालयका विद्यार्थीहरूले अबदेखि कम्प्युटरको प्रयोग गरी अनलाइनबाटै अध्ययन गर्ने भएका हुन् ।
इक्वालिटी फाउण्डेशन नेपालका तर्फबाट महावीर पुनले विद्यालयमा जडित कम्प्युटर तथा प्रोजेक्टरको उद्घाटन गर्दै विद्यालयमा अनलाइन शिक्षा प्रारम्भ भएको घोषणा गरेका थिए । इक्वालिटी फाउण्डेसन नेपाल संस्थाका प्रमुख कार्यकारी अधिकृत मेदनी अधिकारीले मुलुकमै पहिलोपटक सामुदायिक विद्यालयका विद्यार्थीहरूले अनलाइनबाटै अध्ययन गर्ने वातावरण पाँचथरबाट बनाउन प्रारम्भ गरिएको जानकारी गराए ।
विद्यालयमा अनलाइन शिक्षा सञ्चालनका लागि फाउण्डेशनले ६ लाख मूल्यबराबरका २० थान कम्प्युटर र एउटा प्रोजेक्टर प्रदान गरेको अध्यक्ष अधिकारीले बताए । पाठ्यक्रम विकास केन्द्रले तयार गरेको पाठ्यक्रमलाई आधार मानेर कम्प्युटर सफ्टवेयरको माध्यमबाट विद्यार्थीहरूलाई अनलाइन शिक्षा दिने तयारी गरिएको हो । फाउण्डेशनको ‘आफ्नो स्कूल आफै बनाऔं’ भन्ने कार्यक्रमअन्तर्गत अनलाइन शिक्षा कार्यक्रमलाई अघि बढाएको हो । यो कार्यक्रम पहिलो चरणमा पाँचथरका २७ ओटा सामुदायिक विद्यालयमा लागू गरिने भएको छ ।
फाउण्डेशनका पाँचथर संयोजक राधाकृष्ण न्यौपानेका अनुसार फिदिम मावि फिदिम, सिद्धदेवी मावि नवमीडाँडा, लुम्फाबुङ मावि लुम्फाबुङ, पृथ्वी मावि यासोक, जयनारायण मावि आङसराङ, सिद्धेश्वरी मावि भारपा, सिद्धकालिका मावि भारपा, जोपोखरी मावि भारपा, श्रीजङ्गा मावि गोपेटारलगायत मावि तथा पाँचथर बहुमुखी क्याम्पसमा अनलाइन शिक्षा लागू गर्ने तयारी गरिएको छ । अनलाइन शिक्षा कार्यक्रम पाँचथरमा सफल भए देशव्यापीरूपमा अभियान चलाउने बताइएको छ । कार्यक्रमको उद्घाटन गर्न पाँचथर आइपुगेका महावीर पुनले स्थापना गर्न लागेको आविष्कार केन्द्रको लागि समेत पाँचथरवासीले सहयोग गरेका छन् ।
विद्यालयमा बिहान र बेलुकाको समयमा शिक्षक र अभिभावकहरूले अनलाइन शिक्षा लिनेछन् । विद्यालय समयमा विद्यार्थीहरूलाई पाठ््यक्रममा समेटिएका विषयलाई इण्टरनेटमा खोजेर पठ्ने व्यवस्था मिलाइएको हो । अनलाइन शिक्षा लिनका लागि विद्यालयमा नेपाल दूरसञ्चारबाट प्रदान गरिने ५ सय १२ केबीपीएको इण्टरनेट जडान गरिएको छ । सामुदायिक विद्यालयहरूलाई ‘स्मार्ट स्कूल’ बनाउने योजना रहेको आयोजक संस्थाले बताएको छ । ग्रामीण क्षेत्रका बालबालिकालाई संसारका जुनसुकै ठाउँमा प्रतिस्पर्धामा उत्रन सक्ने बनाउने लक्ष्य रहेको समाजसेवी पुनले बताए ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।