काभ्रेका सामुदायिक विद्यालयमा दरबन्दी मिलान हुन सकेन

Share News

फागुन ९, धुलिखेल । काभ्रेमा माघ मसान्तभित्र सामुदायिक विद्यालयका शिक्षकको दरबन्दी मिलान गर्न नसके जिल्ला छोडिदिन्छु भन्ने घोषणा गरेका शिक्षा अधिकारी डा. दीपेन्द्र गुरुङले फागुन पहिलो हप्ता बितिसक्दा समेत त्यो काम गर्न सकेका छैनन् । यस सम्बन्धमा उनले माघको अन्तिममा शिक्षा कार्यालयमै केही पत्रकारलाई बोलाएर शिक्षा समितिको बैठक नै बस्न नसकेकाले काभ्रेका सामुदायिक विद्यालयको दरबन्दी मिलान हुन नसकेको स्पष्टीकरण दिए । सो अवसरमा जिल्ला शिक्षा समितिको अध्यक्ष स्थानीय विकास अधिकारी टेकराज निरौला र समितिका सदस्य प्रमुख जिल्ला अधिकारी दरबन्दी मिलानप्रति सकारात्मक नदेखिएको आरोपसमेत उनले लगाएका थिए । तर, अभियानसँग उनले भने, ‘मैले उहाँहरूले अहिले किन दरबन्दी मिलान गर्नुपर्‍यो भन्नुभयो मात्र भनेको हुँ, यद्यपि अहिले उहाँहरू दरबन्दी मिलानमा सकारात्मक देखिनुभएको छ ।’

जिल्ला शिक्षा समितिका अध्यक्ष एवम् स्थानीय विकास अधिकारी निरौलाले जिल्लाका सामुदायिक विद्यालयका शिक्षकको दरबन्दी मिलान हुन नसक्नुमा शिक्षा अधिकारी गुरुङ नै दोषी रहेको औंल्याए । उनले भने, ‘शिक्षा समितिको बैठक नबसेको होइन, शिक्षा अधिकारी नै दरबन्दी मिलानप्रति गम्भीर नदेखिएको हो ।’

काभ्रेमा अनौपचारिक शिक्षा (प्रौढ शिक्षा)को १ सय ८७ ओटा कोटा विवरण गर्न गत हप्ता अनौपचारिक शिक्षा समितिको बैठक बसेको थियो । यस विषयमा पनि तयारी पूरा नभएकाले निर्णय हुन नसकेको निरौलाको भनाइ छ । जिल्लाका ३४ ओटा सामुदायिक सिकाइ अध्ययन केन्द्रमार्फत १ सय ८७ ओटा अनौपचारिक शिक्षा कोटा वितरण गरिन्छ । ४ महीनाका निम्ति मासिक ३ हजार पारिश्रमिक पाउनेगरी प्रौढ शिक्षा पढाउने शिक्षक नियुक्त गरिने सहायक शिक्षा अधिकारी गोविन्द सेढाईंले जानकारी दिए ।

जिल्ला शिक्षा समितिबाहेक जिल्ला अनौपचारिक शिक्षा समितिको अध्यक्ष पनि स्थानीय विकास अधिकारी नै हुने प्रावधान भएकाले गत हप्ताको बैठकले अनौपचारिक शिक्षा समितिलाई पूर्णता दिएको निरौलाले बताए । ‘एउटा समितिले पूर्णता पाए पनि शिक्षा समितिले अझै पूर्णता पाएको छैन ।’

जिल्लामा २०४२ सालदेखि सामुदायिक विद्यालयको दरबन्दी मिलान हुन सकेको छैन । राजनीतिक पार्टीका आडमा धेरै शिक्षकहरू शहरका स्कूलमा वर्षौंदेखि काजमा बसेको एकजना सहायक शिक्षा अधिकारी बताउँछन् । तर, डा गुरुङ शिक्षा अधिकारी भएर आएपछि ४५ जना शिक्षक काज सरुवा भएको, ६ जना शिक्षकले तीनवर्षे अध्ययन बिदा र दुईजना शिक्षकले असाधारण बिदा लिएको शिक्षा स्रोतले बतायो । सहायक शिक्षा अधिकारी एवम् सूचना अधिकारी मित्र काफ्लेले यो सङ्ख्यामध्ये अध्ययन बिदा लिने शिक्षकको सङ्ख्या धेरै भएको तर यकिन तथ्याङ्क आफूसँग नभएको जानकारी दिए । जिल्लामा ५ सय ८७ सामुदायिक विद्यालय सञ्चालनमा छन् । तीमध्ये प्रावि तहका ३ सय ४३ विद्यालयमा राहत तथा दरबन्दी गरी २ हजार ९२, निमावि र मावि तहका २ सय ४४ विद्यालयमा ९ सय ३० शिक्षक कार्यरत छन् ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।