हेटौंडा । विकट र दुर्गममा रहेका बालबालिकालाई घण्टौं हिँडेर विद्यालय जानुपर्ने भएका कारण सरकारले स्थापना गरेको मकवानपुरका विभिन्न विद्यालयका छात्रावास अलपत्र परेका छन् । विद्यालयमा दिनभरि पढेर घर फर्कन नसक्ने बालबालिकाका लागि सहज बनाउन स्थापना गरिएको छात्रावास अलपत्र भएका हुन् । विगतमा गुरुकुलमा बसेर पढ्ने विद्यार्थीजस्ता अनुशासित र इमानदार विद्यार्थी नभएका कारण पनि विद्यालयले छात्रावासमा बालबालिका राख्न सकेको छैन ।
सरकारले ठाउँठाउँमा छात्रावास निर्माण गरिदिएको छ । तर, विकट गाउँको पायक पर्ने केन्द्रमा निर्माण भएको छात्रावासको उद्देश्य पूरा हुन सकेको छैन । निर्माण भएका छात्रावास संरक्षणका अभावमा जीर्ण छन्, कतिपय छात्रावास निर्माण हुनै नपाई अलपत्र परेका छन् । केही छात्रावासलाई शिक्षकले आवास बनाएका छन् । मकवानपुरका अधिकांश छात्रावास उद्देश्यअनुसार प्रयोग भएका छैनन् ।
आवासीय सुविधासहित पठनपाठन गराउन विभिन्न कालखण्डमा सरकारले छात्रावास बनाएको थियो । तर, ती छात्रावास प्रयोगमा छैनन् । सीमान्तकृत र पिछडिएको चेपाङ समुदायका बालबालिकाको अध्ययन सहज र व्यवस्थित गराउने प्रयासअनुरूप स्थापना गरिएको मकवानपुरको राक्सिराङको चैनपुरमा निर्माणाधीन छात्रावास ८ वर्ष बितिसक्दा पनि पूरा हुन सकेको छैन । कालिकाटार गाविसमा बनाइएको छात्रावास विद्यालयका शिक्षकले प्रयोग गरिरहेका छन् । जिल्लाको पश्चिमी क्षेत्रमा चेपाङ बालबालिकाको अध्ययन सहज र सर्वसुलभ बनाउन निर्माण थालिएका छात्रवास वर्षौंदेखि अधुरै रहेका छन् ।
पश्चिमी क्षेत्रको राक्सिराङ गाविस–८ चैनपुरमा निर्माणाधीन छात्रावास र मनहरीमा बन्न लागेको छात्रावास अलपत्र अवस्थामा छन् । दुवै छात्रावास अलपत्र रहँदा काँकडाको सिलिङ्गेमा अर्को छात्रावास निर्माण गर्न बजेट विनियोजन गराइयो । तर, निर्माणको काम भने अधुरै राखेर निर्माण गर्ने समिति नै बेखबर छ । विद्यालय नजाने प्रवृत्ति चेपाङ बालबालिकामा बढी पाइएकाले छात्रावासमै राखेर पढाउने उद्देश्यले मकवानपुरको विकट गाउँमा चेपाङ छात्रावास निर्माण गर्न बजेट विनियोजन भएको जिल्ला विकास समिति मकवानपुरका सामाजिक विकास अधिकृत रामकृष्ण थापा बताउँछन् । तर, गाउँलेले छात्रावास बनाउन जति उत्साह देखाउँछन्, बनेपछि त्योअनुसार ध्यान नदिँदा बेवारिसे हुन पुगेको छ ।
राक्सिराङ–८ चैनपुरमा ७ वर्षअघि निर्माण थालिएको चेपाङ छात्रावास बजेट अभावका कारण निर्माण कार्य रोकिएको स्थानीय रामबहादुर चेपाङ बताउँछन् । जिल्ला विकास समिति मकवानपुरले चेपाङ विकास कार्यक्रमअन्तर्गत चेपाङ छात्रावास निर्माण थालेको थियो । नियमित बजेट नहुँदा निर्माण कार्य रोकिएको उपभोक्ता समितिका पूर्वअध्यक्ष अमृत चेपाङले बताए । चेपाङ विकास कार्यक्रमअन्तर्गत आर्थिक वर्ष २०६६/६७ मा ५ लाख ५० हजार रुपैयाँ खर्चेर निर्माण थालिएको छात्रावासलाई आर्थिक वर्ष २०६७/६८ मा २ लाख रुपैयाँ थप भएको थियो । आठकोठे दुईतले पक्की भवन निर्माणका लागि ४० लाख रुपैयाँ लाग्ने प्राविधिक लगत इस्टिमेट थियो । तर, जसोतसो जग उठाएर ३० ओटा पिलर खडा गरिएको चेपाङले बताए ।
मनहरी गाविसमा ६ वर्षअघि निर्माण थालिएको छात्रवास पनि अलपत्र रहेको छ । विकट गाउँका चेपाङ विद्यार्थीको आवासीय समस्यालाई ध्यानमा राखी आदिवासी जनजाति प्रतिष्ठानको लगानीमा बनाउने भनिए पनि पिल्लरसमेत ठडिन पाएको छैन । पिल्लरका लागि ल्याइएका रड र इँटा विक्री गरेर उपभोक्ता समितिले पैसा खाएको पूर्वसांसद गोविन्दराम चेपाङको दाबी छ । सुविधासम्पन्न १२ कोठे चेपाङ छात्रावास निर्माण गर्न लागिएको भए पनि चेपाङ समुदायका केही अगुवाले पैसा हिनामिना गरेर निर्माण अलपत्र छाडिएको उनले बताए ।
भवन निर्माणका लागि समाजसेवी डा. सुन्दर थापाले मनहरी–४ सिम्पानीमा २ कट्ठा जग्गा दान गरेका थिए । अहिले पनि डा. थापाले चेपाङ छात्रावासका लागि थप बजेट खोजी गर्न तयार रहेको गोविन्दरामले बताए । काँकडाको सिलिङ्गेमा १२ कोठे छात्रावास बनाउन १२ लाख रुपैयाँ विनियोजन भएको चेपाङ विकास कार्यक्रम मकवानपुरका कार्यक्रम अधिकृत राजाराम थापाले बताए ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।