पुस्तकालय स्थापनाका लागि ६ करोड आवश्यक

Share News

फागुन १२, पर्वत (अस) । पर्वत जिल्लाभरिका सामुदायिक विद्यालयमा पुस्तकालय स्थापनाका लागि ६ करोड बजेट आवश्यक पर्ने देखिएको छ । जिल्लाका कुल ३ सय ३३ विद्यालयमध्ये अहिलेसम्म जिल्लाका १ सय ३६ विद्यालयमा पुस्तकालय स्थापना भई सञ्चालनमा आइसकेका छन् भने १ सय ९७ ओटा विद्यालयमा अझै स्थापना गर्न बाँकी छ । बाँकी रहेका विद्यालयमा सुविधासम्पन्न पुस्तकालय स्थापनाका लागि ५ करोड ९७ लाख २१ हजार २२ रुपैयाँ आवश्यक पर्ने पर्वतमा लाइब्रेरी विस्तारका लागि अगुवाइ गर्दै आएको संस्था मोती सामुदायिक पुस्तकालयले बताएको छ । अहिलेसम्म जिल्लामा रूम टु रिड रीड नेपाल र नेपाल लाइब्रेरी फाउण्डेशनको सहयोगमा १ सय ३६ ओटा विद्यालयमा व्यवस्थित पुस्तकालय स्थापना भएका छन् । आगामी ५ वर्षभित्र बाँकी रहेका विद्यालयमा पुस्तकालय स्थापना गर्ने लक्ष्य रहे पनि बजेटको अभाव रहेको छ । एउटा विद्यालयमा पुस्तकालय स्थापनाका लागि २ लाख ७० हजार आवश्यक पर्छ । आवश्यक रकममध्ये रुम टु रीडबाट ६० हजार सहयोग प्राप्त हुनेछ । बाँकी रकम जिल्ला विकास समितिवाट ७० हजार गाउँ विकास समितिबाट ५० हजार र मोती पुस्तकालयले १० हजार र विद्यालय आफैले ४७ हजार रुपैयाँ खर्चनुपर्ने बताइएको छ । हरेक विद्यालयका लागि आवश्यक रकमको केही भाग जिल्ला विकास समितिबाट उपलब्ध गराउन अनुरोध मोती पुस्तकालय फलेवासले अनुरोध गरेको छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।