बिद्यार्थीलाई बजार र समुदायमा दक्ष बनाउन किङ्स कलेजद्धारा ‘हाम्रो उत्सव’को आयोजना

Share News

फागुन १५, काठमाडौं । किङ्स कलेजको आयोजनामा मङ्लवार र बुधवार राजधानीमा ‘हाम्रो उत्सव’ नाममा शैक्षिक तथा मनोरञ्जनात्मक कार्यक्रम हुने भएको छ । सृजना, प्रतिष्पर्धा र मनोरञ्जन विषयमा केन्द्रित भई उत्सव आयोजना हुन लागेको कलेजले बताएको छ । उत्सवमा विभिन्न १७ ओटा कलेजको सहभागिता रहने कार्यक्रम संयोजक कमला लामाले बताइन् । 

शिक्षा, उद्यमशीलता र मनोरञ्जनात्मक कार्यक्रमहरु हुने उक्त कार्यक्रममा स्नातक र स्नातकोत्तर तहका विद्यार्थीहरुको सहभागिता रहनेछ । दुई वर्षअघि ‘किङ्स उत्सव’ नाममा आयोजित कार्यक्रमको दोस्रो संस्करणका रुपमा यो कार्यक्रम गर्न लागिएको हो । ‘कार्यक्रममा अन्य कलेजहरुको पनि सहभागिता हुने भएकाले सबैले अपनत्व बोध गर्न सकुन् भनेर नाम परिवर्तन गरी हाम्रो उत्सव राखेका हौं,’ कलेजका कार्यकारी निर्देशक नरोत्तम अर्यालले भने । 

अघिल्लो कार्यक्रममा बिजनेश कलेजहरुको मात्र सहभागिता थियो भने यो पटक सबै प्रकृतिका कलेजलाई समेटिएको आयोजकले बताएको छ । यस पटक विज्ञान, कला, मानविकी, व्यवस्थापन, फेसन लगायतका प्रस्तुतीमा पाँचसय भन्दा बढी विद्यार्थीले भाग लिनेछन् । जसमा स्टक मार्केट च्यालेञ्ज, सोसल मिडिया मार्केटिङ्, व्यावसायिक योजना लेखाइ, हाजिरी जवाफ र मानव संशाधन प्रतिष्पर्धा जस्ता प्रतियोगिताहरु हुनेछन् । यसबाहेक म्याड एड्स, शर्ट मुभी, थिमेटिक फोटोग्राफी, ब्याटल अफ ब्याण्ड्स, जङ्क आर्टस्, कलेज आइकन, नृत्य, इभेण्ट प्लानिङ्, उद्यमशीलता प्रदर्शनी, चित्रकला जस्ता प्रतिष्पर्धाहरु पनि राखिने आयोजकले बताएको छ । प्रतियोगिताका विजेता कलेजले रू. १ लाख पुरस्कार प्राप्त गर्नेछन् । 

कलेज जीवनमै विद्यार्थीलाई बजार तथा समुदायमा कसरी अघि बढ्ने भन्ने अनुभव दिलाउनु उत्सवको उद्देश्य रहेको कलेजका कार्यकारी निर्देशक अर्यालले बताए । उत्सवको टाइटल स्पोन्सर आईएमएस ग्रुप तथा को–स्पोन्सर सीआरएस कम्पनी रहेका छन् । 

 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।