निरक्षर बस्तीमा सरकारको चासो छैन

Share News

दैलेख। नेपाल सरकारले निरक्षरता उन्मूलन गर्न विभिन्न कार्यक्रम सञ्चालन गरे पनि दक्षिण एशियाको एकमात्र फिरन्ते जाति राउटे समुदायलाई पढाइतिर आकर्षित गर्न सकेको छैन । यद्यपि, कोही विदेशी पर्यटक राउटे बस्तीमा पुग्दा सहयोगी नेपाली व्यक्तिलाई अङ्ग्रेजी सिकाइदिन राउटे युवाहरू अनुरोध भने गर्छन् । अङ्ग्रेजी जाने विदेशी मानिससँग कुरा गर्न सजिलो हुने भएकाले आफूलाई सिक्न रहर जागेको राउटे युवा खगेन्द्रले बताए ।

राउटेले पढाइलाई कुलधर्मको शत्रु ठाने पनि गैरराउटेको भेटघाटबाट राउटेका महामुखिया महिनबहादुर शाहीले भने अङ्ग्रेजी सिकेका छन् । डेनिश नागरिकसँग राउटे बस्ती पुगेका सुर्खेतकी प्रतिमा मल्लाह राउटेको अङ्ग्रेजी मोह देखेर दङ्ग परेका छन् । राउटेको शिक्षा दिक्षा र जनचेतनाका लागि नेपाल सरकारले घुम्ती स्वास्थ्यकर्मी, शिक्षकको व्यवस्था गर्नुपर्ने धारणा स्थानीयको छ ।

जिल्लामा शिक्षा सम्बन्धित विभिन्न सङ्घसंस्थाले कार्यक्रम सञ्चालन गरे पनि राउटे बस्तीमा शिक्षाको कार्यक्रम लिएर सरकारी एवम् गैरसरकारी संस्था नगएको राउटेसँग काम गरेका सामाजिक सेवा केन्द्र सोसेकका कर्मचारी खगेन्द्रबहादुर शाहीले बताए । ‘हामीले केही वर्षसम्म पोषणसम्बन्धी मात्र काम गर्‍यौं । राउटे रिसाउलान् भनेर पढाइका कुरा चलाएनौं,’ उनले भने ।

राउटे समुदायमा एकआपसमा गोप्यता छैन । धन, सम्पत्ति कमाउने लोभ छैन । मध्यपश्चिमका दाङ, दैलेख, सुर्खेत, अछाम, जाजरकोट, सल्यान, अछामलगायत जिल्लाका जङ्गलमा बसोवास गर्ने यो जाति आजभोलि दैलेखको सात्तला गाविसको कुमालु खोलामा बसोवास गर्दै आएका छन् ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।