धनुषाको कलेजमा अनियमितता

Share News

जनकपुरधाम (अस) । धनुषाको तिनकौरिया बहुमुखी क्याम्पसका अध्यक्ष रामसागर पण्डितले क्याम्पस प्रमुख शिवकुमार मण्डललाई झुक्याएर भ्रष्टाचार गरेको आरोप लागेको छ ।  गिद्धा बेलापट्टिमा गाविसबाट प्राप्त ६ लाख रुपैयाँ अनुदानको नक्कली बिल भर्पाई बनाई भ्रष्टाचार गरेको आरोप पण्डितमाथि लागेको हो ।

कलेज सम्बन्धन पाएकोे ३ महीना नबित्दै गाविस कार्यालय गिद्धाले फर्निचर निर्माणका लागि ६ लाख रुपैयाँ निकासा गरेको थियो । गाउँ विकास अनुदान सञ्चालन निर्देशिकाविपरीत रकम निकासा दिन लागेको भन्दै स्थानीयहरूले विरोधसमेत गरेका थिए । यसैगरी सभासद् रामकृष्ण यादवले संसदीय बजेटबाट ६० हजार र रामऔतार पासवानले ५० हजार गरी कुल रू. १ लाख १० हजार दिएको अनुदान रकमसमेत हिनामिना गरेको आरोप उनीमाथि परेको छ ।

स्थानीय लालीगुराँस स्वावलम्बन सहकारी संस्था गिद्धाका व्यवस्थापक शिवनारायण ठाकुरको नाममा २ लाख ३० हजार ४ सय रुपैयाँ, भरोसी महतोको नाममा ३ लाख २३ हजार १ सय ४६ रुपैयाँ, पञ्चु साहको नाममा २२ हजार रुपैयाँ र शिक्षक शौखी राइनको नाममा २५ हजार ६ सय ५६ रुपैयाँको नक्कली भर्पाई बनाएको आरोप कलेज व्यवस्थापन समितिका एक सदस्यले लगाए ।

भर्पाईमा नाम उल्लेख भएका व्यक्तिहरूले आर्थिक लेनदेन नभएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग सम्पर्क कार्यालय बर्दिवामा गई उजुरीसमेत गरेका छन् । यता, अख्तियारको क्षेत्रीय कार्यालय बर्दिवासले चारैजनाको बयान सकेर केन्द्रीय कार्यालय टङ्गालले यो फाइल झिकाएकाले २०७२ चैत ४ गते नै कारबाहीका लागि महाशाखा नं. ६ मा पठाइसकेको जानकारी दिएको छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।