काभ्रेका ४२ विद्यालयमा पुस्तकालय अभियान

Share News

धुलिखेल (अस) । परोपकार प्राथमिक उपचार केन्द्र (पीपीयूके) धुलिखेलले काभ्रेका ४२ ओटा विद्यालयमा पुस्तकालय स्थापना गर्ने भएको छ । चालू आर्थिक वर्षभित्रै काम सम्पन्न गर्ने लक्ष्यसहित जिल्लाका ४२ ओटा सार्वजनिक विद्यालयमा पुस्तकालय स्थापना कार्यक्रम शुरू गरिएको पीपीयूकेका कार्यक्रम संयोजक हीरा तामाङले बताइन् । उनले भनिन्, ‘विशेषगरी प्राथमिक विद्यालयका विद्यार्थीमा पढ्ने बानी विकास गराउने उद्देश्यले थालिएको यो कार्यक्रमअन्तर्गत चालू आर्थिक वर्षमा ४१ लाख १८ हजारको लागतमा ४२ विद्यालयमा पुस्तकालय स्थापना गरिनेछ ।’

पीपीयूकेले दातृ संस्था रूम टु रिडको सहयोगमा सन् २००९ देखि नै काभे्रका विद्यालयमा पुस्तकालय स्थापना गर्दै आएको छ । यसअघि २ सयओटा विद्यालयमा पुस्तकालय स्थापना गरिसकेको तामाङले बताइन् । ‘अहिले रू. ७ लाख १५ हजारको लागतमा गतवर्षबाटै शुरू गरिएको पाँचखाल, सिम्थली, कात्तिके देउराली, मङ्गलटार, सरमथली, मेच्छे, शिखरआम्बोटे, खहरेपाङ, देवीटार, पनौती, नाला, श्यामपाटी, वाल्टिङ र सिपालीचिलउनेका २० ओटा विद्यालयमा पुस्तकालय स्थापनाको काम पूरा हुँदै छ,’ उनले भनिन् । चालू आर्थिक वर्षमा सिम्थली, कात्तिके देउराली, बिर्तादेउराली, सर्स्युँखर्क, चौबास, मिल्चे, बनेपा, देवीटार, पाँचखाल, कानपुर, मङ्गलटार, खरेलथोक, गोठपानी, च्यासिङखर्क, महादेवस्थान, चापाखोरी र बन्खुका ४२ ओटा विद्यालयमा पुस्तकालय स्थापना गरिने उनले जानकारी दिइन् । उनका अनुसार प्रत्येक विद्यालयको पुस्तकालयमा झण्डै ३ हजारको सङ्ख्यामा बालउपयोगी पुस्तक उपलब्ध गराइनेछ । पीपीयूकेले स्वास्थ्य, शिक्षा र खानेपानीलगायतको क्षेत्रमा काम गर्दै आएको यसका अध्यक्ष बीके लामाले बताए ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।