फागुन ३०, काठमाडौं । माध्यमिक शिक्षा परीक्षा, कक्षा १० (सेकेण्डरी एजुकेशन एक्जामिनेशन, ग्रेड १० –एसईई), २०७३ को तयारी पूरा भएको छ । शिक्षा मन्त्रालयले सोमवार पत्रकार सम्मेलन गरी परीक्षाको तयारी सम्पन्न भएको जानकारी गराएको हो । अघिल्लो वर्षसम्म एसएलसी परीक्षाका नामले लिइने यो परीक्षा यो वर्षबाट भने नाम परिवर्तन गरी सञ्चालन हुन लागेको हो । शिक्षा ऐनको आठौं संशोधनले कक्षा १२ सम्मलाई माध्यमिक तह निर्धारण गरेसँगै अब कक्षा १२ को अन्तिम परीक्षा भने एसएलसी परीक्षाका नाममा हुनेछ । आगामी चैत ३ गतेदेखि शुरू हुने एसईई परीक्षा साधारण धारतर्फको ११ गते सकिने छ भने प्राविधिकतर्फको १४ गते सकिने छ । परीक्षाको समय बिहान ८ बजे तोकिएको छ ।
साधारण र प्राविधिक दुवै धारको गरी यस वर्ष नियमित तर्फ २ लाख ३३ हजार ९८ छात्र र २ लाख ३५ हजार तीनसय दुई छात्रा गरी कुल ४ लाख ६८ हजार चारसय विद्यार्थीले भाग लिँदैछन् । त्यसैगरी आंशिक ग्रेडवृद्धितर्फ १९ हजार तीनसय ८ छात्र र ३१ हजार पाँचसय ६५ छात्रा गरी कुल ५० हजार आठसय ७३ ले परीक्षा दिनेछन् । आंशिकतर्फ ग्रेडवृद्धिका लागि कक्षा १० मा यो वर्ष पहिलो पटक विद्यार्थी सहभागी गराउन लागिएको हो । गत वर्षको परीक्षाको नतिजामा कुनै विषयमा डी वा ई ग्रेड प्राप्त भएकोमा पुनः विद्यार्थीले चाहेको विषयमा मात्र परीक्षा दिन पाउने व्यवस्था यसमा गरिएको छ ।
त्यस्तै, एक्जाम्टेडतर्फ सातहजार तीनसय २६ छात्र र ११ हजार पाँचसय ८३ छात्रा गरी कुल १८ हजार नौसय नौ जनाले यो वर्षको कक्षा १० को परीक्षामा भाग लिँदैछन् । यसरी यो वर्ष २ लाख ५९ हजार सातसय ३२ छात्र र २ लाख ७८ हजार चारसय ५० छात्रा गरी जम्मा ५ लाख ३८ हजार एकसय ८२ जनाले एसईई परीक्षामा भाग लिनेछन् । परीक्षाका लागि एक हजार नौसय २३ परीक्षा केन्द्र र सोही सङ्ख्यामा केन्द्राध्यक्ष तोकिएका छन् । त्यस्तै, दुईहजार छ सय ४६ सहायक केन्द्राध्यक्ष र २२ हजार सातसय १६ सहयोगीको पनि व्यवस्था गरिएको परीक्षा नियन्त्रक अम्बिका प्रसाद रेग्मीले बताए । परीक्षालाई मर्यादित तथा व्यवस्थित गर्न २८ हजार आठसय ४५ सुरक्षाकर्मीको पनि व्यवस्था गरिएको छ ।
उत्कृष्ट ढङ्गले परीक्षा सञ्चालन गर्ने केन्द्रलाई पुरस्कृत साथै मर्यादित ढङ्गले परीक्षा सञ्चालन नगर्नेलाई अर्को वर्ष परीक्षा केन्द्र हटाउने समेत व्यवस्था रहेको छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।