यतिबेला नयाँ शैक्षिक सत्रको शुरुआत हुँदै छ । अभिभावकहरू आफ्ना छोराछोरीलाई कुन विद्यालयमा पढाउँदा राम्रो होला भनेर खोजी गर्न थालेका छन् । यही मेसोमा काठमाडौं नैकापकी शर्मिला गौतम (नाम परिवर्तन) आफ्नो छोराको विद्यालय परिवर्तन गर्ने सुरमा छिन् । एक निजी विद्यालयका शिक्षकले गालामा पाँच औंलाको डाम बस्नेगरी छोरालाई पिटेकाले उनी विद्यालय नै परिवर्तन गर्ने सोचमा पुगेकी हुन् । उनी आफ्नो छोरालाई सुरक्षित, शान्त र मायालु वातावरणमा सर्वाङ्गीण विकास हुनेगरी पढाउने विद्यालयको खोजीमा छिन् ।
यसैगरी, चन्द्रागिरि नगपालिकाकी इशिका केसी पनि ८ वर्षीया छोरीलाई २ कक्षामा भर्न गर्न विद्यालय खोज्न थालेकी छिन् । अन्तरराष्ट्रिय स्तरमा अङ्ग्रेजी भाषा बोल्न र लेख्न सिकाउन उनी सोहीअनुसारको विद्यालयको छनोटमा लागेकी हुन् ।
विषयगत शिक्षाभन्दा अतिरिक्त ज्ञान तथा क्रियाकलापसमेत दिने विद्यालयको खोजीमा लागेका नयाँ बजारका थानेश्वर भुसाल सुविधाका नाममा महँगा विद्यालय मात्र भेटिएर हैरान छन् । ‘महँगो शुल्क बुझाउँदैमा राम्रो हुन्छ भन्ने होइन,’ उनले भने, ‘विद्यालयको सौहार्दपूर्ण वातावरण र बालमैत्री सिकाइ हुन जरुरी छ ।’
अभिभावकको यो समय छोराछोरीको उज्ज्वल भविष्यका लागि राम्रो वातावरण भएको विद्यालय रोज्ने हो । विद्यालय छनोटमा हुने गल्तीले छोराछोरीको भविष्यमै खेलवाड पनि हुन सक्नेतर्फ अभिभावक सचेत हुनुपर्छ । वास्तवमा बालबालिका काँचो माटो हुन् भने अभिभावक तथा शिक्षक शिक्षिका कुमालेजस्तै हुन् ।
बालबालिकालाई शिक्षक तथा अभिभावकले जस्तो सिकायो त्यस्तै सिकाइ वृद्धि हुँदै जाने भएकाले कस्तो वातावरणमा बालबालिकालाई पढाउने भन्नेमा भर पर्छ । यसैले घरदेखि विद्यालयसम्मको राम्रो वातावरण बनाउन जरुरी हुन्छ ।
शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल (एनसीई नेपाल)का अध्यक्ष कुमार भट्टराईका अनुसार बाल्यकालको सिकाइले जीवनपर्यन्त प्रभाव पार्ने भएकाले प्रारम्भिक बाल शिक्षालाई ध्यान दिनुपर्ने हुन्छ । गुणस्तरीय शिक्षा कसरी लागू गर्न सकिन्छ भन्नेमा सबै विद्यालय केन्द्रित हुनुपर्नेमा उनको जोड छ ।
बच्चाको गर्भदेखि ८ वर्षसम्मको अवस्था क्षमता विकास गर्न सक्ने अवस्था भएकाले यतिबेला उनीहरूलाई सर्वाङ्गीण विकास हुने वातावरण तय गर्नुपर्ने धारणा काठमाडौं विश्वविद्यालयकी शिक्षिका मीनाक्षी दाहालको छ । ‘बालबालिकाको प्रारम्भिक बाल शिक्षामा सबै सचेत भएमा उनीहरूको शारीरिक, मानसिक, सामाजिक, भाषिक लगायत पक्षको विकास हुन मद्दत पुग्छ,’ उनले भनिन्, ‘यो उमेरमा उनीहरूका लागि सही सिकाइ हुन जरुरी छ ।’
बालमैत्री विद्यालय र सिकाइ
‘बाल विकासका लागि अधिकारमा आधारित गुणस्तरीय शिक्षा र गुणस्तरीय शिक्षाका लागि बालमैत्री विद्यालय’ भन्ने अवधारणा अहिलेको विश्वमै मान्य छ । बालमैत्री विद्यालयका शिक्षकहरू दण्डरहित शिक्षण गर्छन्, मायालु र मिजासिला हुन्छन् भनी तालीममा सिकाइन्छ । तर, वास्तवमा व्यवहारमा के गरिएको छ भन्नेमा भर पर्छ । बालमैत्री विद्यालयको अवधारणा भौतिक पक्ष कम र व्यवहार बढी हो ।
बालमैत्री विद्यालय हुन धेरै भौतिक सुविधा चाहिन्छ भन्ने बुझाइ गलत हो । ‘बालकेन्द्रितता’ बालमैत्री विद्यालयको मूल मर्म हो सबैलाई थाहा छ । तर, त्यसलाई व्यवहारमा उतार्न भने धेरैलाई हम्मे पर्छ । ‘बालमैत्री’ सम्बन्धमा सुनेका र घोकेका कुरालाई कक्षाकोठामा उतार्न नसक्नु भने कमजोरी हो । विद्यार्थी सहभागिताका नाममा प्रायः तकडा र छरिता विद्यार्थीलाई मात्रै प्रयोग गर्ने गरेको पाइन्छ । कहिल्यै नबोल्ने, कहिल्यै नउठ्ने, समूह कार्यमा कहिल्यै नेतृत्व नगर्ने विद्यार्थीहरू प्रायः छुटिरहेका हुन्छन् । बालमैत्री विद्यालयको मर्मलाई अवलम्बन गर्ने हो भने हरेक गतिविधिमा सबै खालका विद्यार्थीको सहभागिता सुनिश्चित गरिनुपर्छ । सबै विद्यार्थीलाई समान व्यवहार, माया र आदर गर्ने तथा विद्यार्थीका अगाडि नमूना भएर विद्यार्थीकै क्षमता, चाहना र गतिका आधारमा तयारीका साथ सजायरहित शिक्षण गर्ने कुरा बालमैत्री विद्यालयका शिक्षकहरूको लागि अनिवार्य शर्त हो । यस्ता कुराहरू आफूमा विकास गर्न र कार्यान्वयन गर्न शिक्षकले न त थप पैसा खर्च गर्नुपर्छ, न थप समय र भार नै पर्छ । यस्ता कुराहरू धेरैजसो विद्यालयहरूमा गम्भीर रूपमा लागू नभएको हुन सक्छ । बालमैत्री विद्यालयको मर्म धेरै हदसम्म शिक्षकमा भर पर्ने हुँदा शिक्षकले आफूले पढाउने कुरालाई स्थानीयकरण, सान्दर्भिक, लचिलो, व्यावहारिक र जीवनोपयोगी बनाउँदै परम्परागतको सट्टा आधुनिक शिक्षणशैली अपनाउनु अपरिहार्य देखिन्छ ।
बालबालिकाको चौतर्फी र सर्वाङ्गीण विकास गर्ने
बालबालिकाहरू अबोध, अरूमा भर पर्नुपर्ने, खेल रुचाउने र अपरिपक्व हुने हुँदा उनीहरूलाई शिक्षाबारे जानकारी, स्याहार र हेरचाहको आवश्यकता पर्छ । बालकालिकाको चौतर्फी र सर्वाङ्गीण विकासका लागि स्वास्थ्य, शिक्षा, सामाजिक सुरक्षा र आधारभूत आवश्यकतालाई विद्यालयले सम्बोधन गर्नुपर्छ । बालबालिका शारीरिक तथा मानसिक हिसाबले खास समूहमा रहेको हुँदा उनीहरूको अधिकार र भलाइका लागि सबैले आफ्नो तर्फबाट सहयोग गर्नुपर्ने हुन्छ । समाजमा प्रत्येक बालबालिकालाई मर्यादित जीवन बाँच्न सहयोग र समर्थनको खाँचो छ । बाल विकास बालबालिकाको शारीरिक, मानसिक, संवेगात्मक र सामाजिक आदि पक्षमा आउने सम्पूर्ण परिमाणात्मक र गुणात्मक परिवर्तनको सिङ्गो प्रक्रिया हो । हरेक बालबालिकालाई खाना, शिक्षा, मनोरञ्जन, खेल, आराम आदिको अधिकार छ । बालबालिकाले स्नेही पारिवारिक वातावरणमा शिक्षक शिक्षिका, आमाबाबु वा अभिभावकको माया ममता, रेखदेख र स्याहार पाउने अधिकार राख्छन्, जसबाट उनीहरूको चौतर्फी विकास हुन सक्छ । यस्ता विद्यालय बालबालिकाका लागि उपयुक्त सावित हुन्छ ।
शिक्षक शिक्षिकाको व्यवहार र पढाउने शैली
बालबालिका माया र नम्रपन व्यवहार रुचाउँछन् । त्यसैले, विद्यालयका शिक्षक शिक्षिकाले पनि बालमैत्री व्यवहार गर्नुपर्छ । शिक्षक शिक्षिकाको राम्रो व्यवहारले विद्यार्थी र उनीहरूका अभिभावकलाई पनि आकर्षित गर्न सक्छ । मनोविज्ञ करुणा कुँवरको अनुसार हरेक उमेरका बालबालिकाको आफ्नै खालको विशेषता र गुण हुन्छ । यसबारे शिक्षक र अभिभावक सबैले बुझ्नुपर्छ । सबै विद्यार्थीमा पढ्ने भावना नहुने हुँदा उनीहरूको खास गुण बुझेर रचनात्मक तरीका अपनाउनुपर्छ । सबै विद्यार्थीले एउटै शिक्षण विधिले नबुझ्ने हुँदा फरक शैलीमा समानुपातिक ढङ्गले पढाउनुपर्छ । शिक्षकशिक्षिकालाई रोल मोडल मानिने हुँदा उनीहरू प्रस्तुतिमा खारिएको, विषयवस्तु बुझेको, मनोभावना बुझ्न सक्ने, विद्यार्थीसँग व्यक्तिगत रूपमा कुराकानी गर्न सक्ने हुनुपर्ने मनोविज्ञको भनाइ छ ।
शान्त वातावरण
सवारीसाधनको आवाज, कोलाहालभन्दा केही टाढा शान्त वातावरणमा पठनपाठन अनुकूल हुन्छ । त्यसैले, अहिले धेरैको रोजाइमा यस्तै विद्यालय पर्ने गर्छन् । शान्त वातावरणमा विद्यार्थीहरू एकचित्त भएर पढ्न सक्छन् ।
भूकम्पमैत्री पूर्वाधार र मनोसामाजिक परामर्श
गत वैशाख १२ गते गएको महाभूकम्प र यसपछिका धक्काले कैयौं विद्यालयका भवन भत्किए भने कतिपय चर्किएका स्थितिमा छन् । सुरक्षित तथा भूकम्पप्रतिरोधी भवनमा पठनपाठन होेस् भन्ने चाहना अभिभावकमा हुन्छ । यसैले, भूकम्पमैत्री पूर्वाधार उनीहरूको रोजाइमा पर्छ । यसैगरी भूकम्पलगायत विपद्पछि बालबालिकामा परेको प्रभाव मनोसामाजिक परामर्शद्वारा हटाउनुपर्ने हुन्छ ।
प्रयोगात्मक अभ्यास र प्रविधिमा जोड
गुणस्तरीय, प्रयोगात्मक र व्यावहारिक अध्यापनमा जोड दिँदै आएको विद्यालय अभिभावकको रोजाइमा पर्छन् । विद्यालयमा ‘सुगा रटाइ’को परम्परागत शैक्षिक पद्धतिभन्दा आधुनिक, व्यावहारिक तथा शैक्षिक सामग्रीमार्फत प्रयोगात्मक शिक्षण पद्धतिले सिकाइ प्रभावकारी हुन्छ । यस्तो अभ्यासले विद्यार्थीको वौद्धिक स्तर छिटो वृद्धि हुने विज्ञहरूको भनाइ छ । विश्व बजारमा प्रतिस्पर्धी बनाउन अबको माग अन्तराष्ट्रियस्तरको अध्ययनअध्यापन शैली हो । ‘किताबको कीरो’ नबनाई समाज र विश्व बुझ्न सक्ने, खेलमार्फत बुझाउन सक्ने पढाइ झन् प्रभावकारी बन्छ । किताबको भारी बोकाएर विद्यार्थीलाई आवश्यकताभन्दा बढी गृहकार्य दिनु उनीहरूको रुचिभित्र पर्दैन । यसैले, कम्प्युटर शिक्षाका लागि कम्प्युटर ल्याब, साइन्सको ल्याबलगायतको व्यवस्थापन पनि विद्यालयमा हुनुपर्छ ।
भौतिक पूर्वाधारको सुविधा
विद्यालयमा छात्र र छात्रा विद्यार्थीका लागि सफा र छुट्टाछुट्टै शौचालय हुन जरुरी छ । यसैगरी विद्यार्थीले खुला चौरमा स्वतन्त्रताका साथ खेल्न सकिने ठूलो चौर भएमा उनीहरूलाई सहज हुन्छ । यसैगरी साँघुरो कोठामा कोचिएर बस्नुभन्दा ठूलो कोठामा विद्यार्थीले सहज वातावरणमा अध्ययन गर्न सक्छन् । यसैले, विद्यार्थी र अभिभावकको रोजाइ यसमा पनि भर पर्न सक्छ ।
अभिभावक शिक्षा
विद्यार्थीको मनोविज्ञान शिक्षकबाहेक घरपरिवारले पनि बुझ्नुपर्ने हुन्छ । त्यसैले, कतिपय विद्यालयले उनीहरूलाई कसरी व्यवहार गर्ने भन्नेर सिकाउने अभ्यास थालेका छन् । बालबालिकाको चौतर्फी र सर्वाङ्गीण विकासका लागि आमाबुबालाई पनि आफ्नो दायित्व र कर्तव्यको बोध दिनुपर्छ । विद्यालयमा मेहनत गरे पनि घरको वातावरण बनेन भने त्यो सार्थक हुँदैन । त्यसैले, विद्यालय छनोट गर्दा समय–समयमा बोलाएर अभिभावक शिक्षा दिने विद्यालयको छनोट गरियो भने बालबालिकाको भविष्य उज्ज्वल हुन सक्छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।