बूढानीलकण्ठ स्कूलमा प्राध्यापन गरेको ३० वर्षको अनुभवपछि गत वर्षदेखि प्राइम ग्लोबलको प्रधानाध्यापक रहेका नारायणप्रसाद (एनपी) शर्मा विद्यार्थीलाई रमणीय वातावरणमा पठनपाठन गर्दै आएको बताउँछन् । उनले सो अवधिमा १७ वर्षसम्म प्रधानाध्यापक भएर बिताएकाले सो अनुभवलाई प्राइम ग्लोबल स्कूलमार्फत गुणस्तरीय शिक्षा दिन खोजेका हुन् । काठमाडौंको नयाँबजारमा रहेको प्राइम एजुकेशनल इन्क कम्पनीअन्तर्गत सञ्चालित यो विद्यालयले रमणीय वातावरणमा पीजीदेखि कक्षा १० सम्मको कक्षा अध्यापन गर्दै आएको छ ।
यो विद्यालयका विद्यार्थीले राष्ट्रका लागि केही योगदान दिऊन् भन्ने चाहना भएको प्राध्यापकको भनाइ छ ।
विद्यार्थीको सुविधाका लागि बस, अतिरिक्त ज्ञानका लागि पुस्तकालय, व्यावहारिक ज्ञानका लागि कम्प्युटरलगायतको प्रयोगशाला रहेको प्रधानाध्यापक शर्माले बताए । ‘समयको मागअनुसार प्रयोगात्मक अध्ययनलाई जोड दिएर गुणस्तरीय शिक्षा दिन्छौं । विद्यार्थीलाई बालमैत्री सिकाइमा आधारित भई अध्यापन गर्छौं,’ उनले थप्दै भने, ‘भविष्यमा यस विद्यालयका विद्यार्थी राष्ट्रिय तथा अन्तररराष्ट्रियस्तरमा पहिचान बनाउन सकून् भन्ने भिजन राखेका छौं ।’
विद्यालयका प्रअ शर्माका अनुसार प्राथमिक तहमा सिकाइ मनोरञ्जनपूर्ण हुनुपर्छ । विद्यार्थीले पढाइलाई बोझ नसोचून् भन्ने उद्देश्यअनुरूप सिकाइ पद्धति विद्यालयले अपनाएको उनको भनाइ छ । कक्षा ९ र १० मा विद्यार्थीलाई पढाइको केही बढी दबाब पर्ने भए पनि तल्लो तहमा दबाबविना मनोरञ्जनात्मक ढङ्गबाट पढाउने वातावरण मिलाइएको उनले बताए । नेपाल सरकारले बनाएकोे पाठ्यक्रमबाहेक यस विद्यालयले अतिरिक्त विषय तथा क्रियाकलापलाई पनि समावेश गरेको छ । विद्यालयले नेपाली र अङ्ग्रेजीबाहेक अन्य भाषा पनि सिकाउने गरेको छ । बालबालिकाको चौतर्फी विकास र झुकाव कुन क्षेत्रमा बढी छ भन्ने पहिचान गरेर त्यसमा बढी जोड दिने गरिएको प्रधानाध्यापक शर्माले जानकारी दिए । ‘माथिल्लो स्तरको पढाइ त मैत्रीपूर्ण हुनुपर्छ भने झन् बालबालिकाका लागि यो नभई हुँदैन,’ उनले भने, ‘शैक्षिक क्षेत्रका नीतिहरू आत्मसात् गर्दै विद्यार्थीमैत्री वातावरणमा पढाइ सञ्चालन गर्दै आएका छौं ।’
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।