शायद मारियालाई पनि थाहा थिएन, उनको शिक्षण विधिलाई पूरै विश्वले पछ्याउँछ । उनको ‘मण्टेश्वरी शिक्षण विधि’लाई आजभोलि हामी पनि पछ्याइरहेका छौं । एक समय थियो, ‘बोर्डिङ’ शब्दसँगै अभिभावकहरू मोहित हुन्थे । र, आफ्ना नानीहरूलाई बोर्डिङ शब्द झुण्ड्याएका स्कूलहरूमा भर्ना गर्थे । आजभोलिका अभिभावकलाई अकर्षित गर्ने त्यस्तै अर्को शब्द बनेको छ, ‘मण्टेस्सोरी’ । अभिभावक राजेन्द्रराज ओझा भन्छन्, ‘मैले शिशु स्याहार केन्द्रबाट भिकेर मेरो बाबुलाई मण्टेस्सोरी स्कूलमा भर्ना गरेँ, उसले त्यहाँ खेल्दै सिक्न पाउँछ ।’ आफ्नो नाममा ‘मण्टेस्सोरी’ शब्द अनिवार्यजस्तै गरेका यस्ता शिक्षालयहरूले के साँच्चै मण्टेस्सोरी विधिको पूर्ण पालना गरेका छन् त ? सिटी मण्टेस्सोरीकी पुष्पा पौडल भन्छिन्, ‘प्रारम्भिक तहका बालबालिका विद्यालयमा भर्ना हुनै छाडेपछि कतिपय विद्यालय नाम राख्न बाध्य हुनुपरेको छ ।’ तर, सबै मण्टेस्सोरी शिक्षालयहरूलाई एउटै भाँडोमा हाल्ने नमिल्ने उनको भनाइ छ । अभिभावकको ध्यान तान्नकै लागि खुलेकाहरूको कुरा छाड्ने हो भने साँच्चिकै मण्टेस्सोरी विधिलाई धेरै हदसम्म पालना गर्ने प्रारम्भिक शिक्षालय पनि नभएका भने होइनन् ।
मण्टेस्सोरी नै नाम नदिए पनि मण्टेस्सोरी विधिसँग धेरै हदसम्म मिल्ने सरकारी बाल विकास केन्द्रहरू गाउँगाउँमा खुलेका छन् । हाल देशभर यस्ता बाल विकास केन्द्रको सङ्ख्या ३४ हजार १ सय ७३ छ । यस्ता केन्द्रहरूमा करीब १० लाख बालबालिकाको हेरचाह र शिक्षण–सिकाइ हुने गरेको सरकारी तथ्याङ्क छ । बालबालिकाको सर्वाङ्गीण विकासका लागि खुलेका प्रारम्भिक शिक्षालयहरूमध्ये अधिकांशले ‘मण्टेस्सोरी विधि’लाई अवलम्बन गरिरहेको दाबी गर्छन् । तर, यस्ता शिक्षालयहरूले मण्टेस्सोरी शिक्षण विधिको पूर्ण पालना गरे/नगरेको अनुगमन भने हुन सकेको छैन । प्याब्सनकी उपाध्यक्ष सानु अमात्य भन्छिन्, ‘मण्टेस्सोरी वा अन्य कुनै नामबाट खुलेका प्रारम्भिक शिक्षालयहरूको पनि एउटा सङ्गठन आवश्यक छ ।’ यसले यस्ता शिक्षालयहरूको समस्याको सम्बोधन गर्दै सही बाटोमा हिँडाउन सक्ने उनको तर्क छ ।
नेपाल सरकारले करीब १ दशक अघिदेखि प्रारम्भिक शिक्षालाई जोड दिँदै आएको छ । सोहीअनुरूप निजीक्षेत्रद्वारा सञ्चालित मात्र नभई सरकारी बाल विकास केन्द्रमा पनि मण्टेस्सोरीले विकास गरेको अवधारणाले प्रश्रय पाउँदै आएको छ । यस क्षेत्रमा केही सुधार र चासो बढे तापनि अन्तरमन्त्रालय समन्वय हुन नसक्दा प्रारम्भिक बाल विकास केन्द्रहरू व्यवस्थित हुन सकेका छैनन् ।
सरकारी मात्र नभई निजी प्रारम्भिक शिक्षालयहरूले समेत सरकारले निर्माण गरेको पाठ्यक्रम पनि प्रयोग गरिरहेको बताउँछन् । सिटी मण्टेस्सोरीकी प्रिन्सिपल पुष्पाले आफ्नो शिक्षालय मण्टेस्सोरी विधिबाट सञ्चालित भए तापनि सरकारले तोकेको पाठ्यक्रम पनि प्रयोग गरिरहेको बताइन् । पुष्पाका विचारमा मण्टेस्सोरीले स्थापित गरेको विधिलाई समयअनुसार अद्यावधिक गर्नुपर्ने आवश्यकता छ । पश्चिमा मुलुकमा मण्टेस्सोरी विधिमा समयसमयमा केही परिवर्तन हुने गरेको छ । सिटी मण्टेस्सोरीले परिवर्तित पाठ्यक्रमलाई पनि पालना गरिरहेको उनले बताइन् ।
के हो मण्टेस्सोरी विधि ?
मण्टेस्सोरी बालबालिकालाई दिइने कुनै शैक्षिक तालीम होइन । न त यो कुनै त्यस्तो तह नै हो, जहाँ बालबालिकाका लागि शैक्षिक सामग्री थुपारिन्छ । यो त बालबालिकाको सर्वाङ्गीण विकासका लागि अपनाइएको एउटा परिवर्तित शिक्षण विधि हो । साथै, बालबालिकाको रुचिका आधारमा सिकाइने वैज्ञानिक शिक्षा हो । मण्टेस्सोरी विधिको अभ्यासले बालबालिकामा सृजनात्मक, समस्या समाधान, सामाजिक र समयको व्यवस्थापकसम्बन्धी शीपहरूको विकास गराउँछ । यो विधिले बालबालिकाहरूलाई एक पूर्ण मानव बनाउन सहयोग पुर्याउँछ । अनुसन्धान र कार्यका आधारमा बालबालिकाको व्यक्तिगत छनोटमा मण्टेस्सोरी अभ्यास गर्न दिइन्छ । आफ्ना बालबालिकाको सर्वाङ्गीण विकासमा ठूलो सहयोग पु¥याउने भएकाले नै अहिले मण्टेस्सोरी विधि निकै लोकप्रिय छ ।
को हुन् डँ. मारिया मण्टेस्सोरी ?
इटालीमा सन् १८७० मा जान्मिएकी मारिया मण्टेस्सोरी ‘मण्टेस्सोरी शिक्षण विधि’की प्रवर्तक हुन् । उनी २०औं शताब्दीको पूर्वाद्र्धकी पहिलो सक्षम फिजिसियन तथा बालशिक्षाविद् हुन्, जसले संसारको बालशिक्षामा मण्टेस्सोरी विधिलाई परिचित गराइन् । मारियाले शिक्षाबाट वञ्चित मानसिक र शारीरिक रूपमा असक्षम बालबालिकाका लागि शिक्षा दिन शुरू गरिन् । मानसिक रूपमा केही अशक्त हुँदैमा शिक्षाबाट वञ्चित हुनुपर्ने सामाजिक कुप्रचलन तोड्ने तथा त्यस्ता बालबालिकालाई शिक्षा दिनुलाई उनले उद्देश्यका रूपमा विकास गरिन् । उनले पछाडि ‘फ्रोबिलियन’ धारका शिक्षकलाई तालीम दिनुपर्ने आवश्यकता देखिन् । र, शिक्षकहरूलाई तालीम दिन शुरू गरिन् । साथै, उनले साधारण शिक्षा कार्यक्रमका रूपमा केही सिद्धान्तको विकास गरिन् । ‘पहिले अनुभूतिको शिक्षा हुनुपर्छ, त्यसपछि बौद्धिक शिक्षा’ भन्ने मारिया मण्टेस्सोरीको विचार हो । सोहीअनुरूपको शिक्षण प्रक्रिया अहिले विश्वचर्चित शैक्षिक विधिका रूपमा लागू भइरहेको छ । २ देखि ६ वर्षबीचका बालबालिकाको मस्तिष्क जति क्रियाशील हुन्छ, त्यसले उनीहरूको मस्तिष्कको विकास हुने मण्टेस्सोरीले पत्ता लगाइन् ।
बालबालिकालाई दोहोर्याएर प्रयास गर भनेर कर नगरी उनीहरूलाई सिकाइमा जागरुक र सबल बनाउन अभ्यास एवम् क्रियाकलाप विधि अपनाउनुपर्ने धारणा व्यक्त गरिन् । ‘हेर्नु भनेको पढ्नु हो भने छुनु भनेको लेख्नु हो’ यी क्रियाकलाप दोहोरिन पनि सक्ने मण्टेस्सोरी विधिको अवधारणा हो ।
बालशिक्षासम्बन्धी विभिन्न अनुसन्धान गरी उनले मण्टेस्सोरी विधिको शुरुआत गरिन् । उनले सामान्य पढाइलेखाइमा मात्र आधारित परम्परागत शिक्षाभन्दा माथि उठेर क्रियाकलापमा आधारित शिक्षाको शुरुआत गरिन्, जुन विधि अहिले सारा विश्वले पछ्याइरहेको छ । बालकले कुनै कुराको अनुभूति आफैले गर्नुपर्ने, आत्मनिर्भर क्रियाकलापको व्यवस्था हुनुपर्ने, व्यवहार र वातावरणीय शिक्षामा जोड दिनुपर्ने मण्टेस्सोरीले बताएकी थिइन् । मारियाको यही विधि÷सिद्धान्त वा दर्शनमा आधारित भएर अहिले विश्वमै ‘मण्टेस्सोरी शिक्षण विधि’ लोकप्रिय भइरहेको छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।