दिसु भण्डारी मानन्धर
संयोजक,
नागार्जुना किड्स वर्ल्ड
नेपालमा अधिकांश विद्यालयस्तरको पढाइ पुरानै पाठ्यक्रममा आधारित छ । कक्षागत पाठ्यसामग्रीदेखि परीक्षा पद्धतिमा समेत यसको गहिरो प्रभाव पाइन्छ । वास्तवमा विद्यार्थीको उमेर र उसको कक्षाअनुसार सिक्नुपर्ने कुरा र विषयवस्तु एउटै हुनुपर्छ । तर, अहिलेको पाठ्यक्रमले सिकाइको ढाँचालाई मात्रै परिवर्तन गरिरहेको देखिन्छ । सिकाइसँगै व्यावहारिक र विद्यार्थीको स्वभावअनुसारको पढाइ पद्धतिको भने विकास भएको पाइँदैन ।
पछिल्ला केही दशकयता मण्टेस्सोरी, बालविकासका नाममा सञ्चालनमा आएका पूर्वतयारी तथा प्राथमिक तहका विद्यालयहरूले यो परम्परा तोड्ने प्रयास गरे पनि सफलता पाउन भने सकिरहेका छैनन् । प्रत्येक अभिभावकले आफ्ना नानीहरूको आनीबानी तथा स्वभाव बुझ्नु जरुरी छ ।
बच्चाको स्वभावअनुसार मिल्दो प्रकृतिको विद्यालयको छनोट गर्न सक्नुपर्छ । जस्तै– नानी सबैसँग घुलमिल हुन सक्ने, चलाख छ भने ऊ धेरै विद्यार्थीको माझमा पनि पढ्न सिक्न सक्छ । कम बोल्ने, शान्त, साथीभाइसँग घुलमिल हुन नरुचाउने स्वभावको छ भने उसका लागि त्यस्तै परिवेश सुहाउँदो विद्यालयको छनोट गर्न सक्नुपर्छ, जहाँ त्यस्तो बच्चाहरूलाई ध्यानमा राखेर पढाउन सकियोस् ।
हामीकहाँ विद्यालय सञ्चालन तथा व्यवस्थापनको परिपाटी परम्परागत तरीकाको रहँदै आएको छ । कुन विद्यालय राम्रो÷नराम्रो भन्ने छुट्ट्याउने कडीको रूपमा विद्यालयको भवन, खेल मैदान मासिक शुल्कलाई आधार मान्ने गरिन्छ । यो प्रचलनको अन्त्य गरिनु आवश्यक छ । विद्यालय व्यवस्थापनले ध्यान दिनुपर्ने महŒवपूर्ण पक्ष के हो भने प्रत्येक विद्यालयले आफ्नो लक्षित वर्ग र अध्ययन गर्न आउने विद्यार्थीको प्रकृति यकिन गर्न सक्नुपर्छ । लक्षित वर्ग र त्यही प्रकृतिको विद्यार्थीअनुसार पाठ्यसामग्री, विद्यालयको भौतिक पूर्वाधार, विद्यालयको वातावरण र अन्य सरसामानको व्यवस्थापन गर्न सक्नुपर्छ । ताकि, त्यहीअनुसारको वातावरण विद्यार्थीले आफ्नै घरमा पनि पाउन सकियोस् । यसले गर्दा विद्यालयमा सिकेका कुरा बालबालिकाले घरमा पनि पाउन सक्छन् र उनीहरूको सिकाइ–बुझाइमा सकारात्मक परिवर्तन देखिन थाल्छ ।
- घोकाएर पढाउने परिपाटी पूर्णरूपमा निरुत्साहित गरिनुपर्छ ।
- विद्यार्थीको बुझाइमा आधारित सिकाइ लागू गरिनुपर्छ ।
- एउटै कक्षामा पनि विद्यार्थीअनुरूप सिकाइलाई फरक फरक ढङ्गले प्रस्तुत गर्नुपर्छ ।
- बालबालिकाको मस्तिष्क ५ वर्षसम्ममा पूर्णरूपमा विकास भइ सक्ने हुनाले पूर्वतयारी कक्षामा विशेष तरीका अपनाई कक्षाहरू सञ्चालन गरिनुपर्छ ।
विद्यार्थीलाई बौद्धिक र देशको असल नागरिक बनाउनु विद्यालयको मुख्य भूमिका हुन्छ र यो विद्यालयको कर्तव्य पनि हो । यिनै पक्षहरूलाई ध्यानमा राखेर नागर्जुना किड्स वल्र्ड थेम्याटिक एप्रोच शुरू गर्न लागिएको छ । यो विधिले विद्यार्थीलाई पढ्न, सिक्न र बुझ्न उत्सुक बनाउँछ । पढाइका क्रममा सिकेका कुराहरू नबिर्सने, छिटो सिक्ने, शिक्षकको भन्दा विद्यार्थीको संलग्नता बढी रहनु यसका विशेषता हुन् ।
विद्यार्थीलाई धेरै गृहकार्य दिने प्रचलन हाम्रो समाजको पुरानो समस्या हो । बढी गृहकार्यले विद्यार्थीका साथै अभिभावकमा समेत मानसिक तनाव बढाउँछ । यो प्रचलनको अन्त्य गर्नु अहिलेको आवश्यकता बनेको छ । हामीले शुरू गर्न लागेको थेम्याटिक एप्रोचलगायत पक्षहरूलाई गहन रूपमा केलाएर पाठ्यक्रमको विकास गरी अगाडि बढाएका छौं । यसअनुसार विद्यालयमा रहँदा कक्षामा बढीभन्दा बढी समय संलग्न गराई गृहकार्य न्यून गरिनेछ । विद्यालय र घरको वातावरण मिल्दोजुल्दो बनाउने प्रयास गरिनेछ । शिक्षक, शिक्षिका, विद्यालय सहयोगी र अभिभावकहरूबीच समय समयमा तालीम/गोष्ठी गरिनेछ । यसले नजानेका कुरा सिकाउने, नबुझेका कुरा बुझाउने र समग्र अभिभावकका कमजोरीहरू सच्याउने मौका दिनेछ । यसले गर्दा बालबालिकाहरूले घर र विद्यालयबीच मिल्दोजुल्दो वातावरण पाउँछन । फलस्वरूप हाम्रा नानीहरूको बुझाइ र सिकाइमा एकरूपता आउँछ । यसरी यस विद्यालयले समाजलाई पनि क्रमिक रूपमा सभ्य बनाउन मद्दत पुर्याउनेछ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।