वैशाख ४, रूपन्देही (अस) । नयाँ शैक्षिक सत्रका लागि देशभर भर्ना अभियान शुरू भएको छ । धेरै सामुदायिक विद्यालयलाई यो शैक्षिक सत्रमा विद्यार्थी घट्ने चिन्ता देखिन्छ । तर, तिलोत्तमा–६ मणिग्राम स्थित शान्ति माविलाई भने भर्ना हुन आउने विद्यार्थीलाई कसरी व्यवस्थापन गर्ने प्रश्न खड्किरहेको छ । ‘धेरैभन्दा धेरै विद्यार्थीलाई पढाउनुपर्ने त हो । तर, स्रोत–साधनको अभावले सबै विद्यार्थीलाई भर्ना गर्न सकिँदैन,’ विद्यालयका प्रधानाध्यापक कुलप्रसाद लामिछाने भन्छन्, ‘तर, बाल कक्षामा भर्ना हुन आउने सबै विद्यार्थीलाई भर्ना गर्छौं ।’ उनका अनुसार माथिल्ला कक्षाहरूमा भर्ना हुन आउने सबैलाई पढाउने सक्ने अवस्थामा विद्यालय छैन ।
अङ्ग्रेजी माध्यमबाट समेत अध्यापन शुरू गरेसँगै शान्ति माविमा विद्यार्थीको आकर्षण ह्वात्तै बढेको हो । विद्यालयले २०६७ सालबाट अङ्ग्रेजी माध्यमबाट पठनपाठन शुरू गरेको थियो । अहिले विद्यालयमा झण्डै २ हजार ३ सय विद्यार्थी अध्ययनरत छन् । यो वर्षको कक्षा १० को परीक्षामा विद्यालयबाट २ सय ७३ जना विद्यार्थी सहभागी भएका छन् । विद्यालयमा अध्ययनरतमध्ये झण्डै आधा विद्यार्थी अङ्ग्रेजी माध्यममा पढ्छन् । हाल शिशुदेखि कक्षा ५ सम्म पूर्णतः अङ्ग्रेजी माध्यममा पढाइ हुन्छ भने ६ देखि १२ कक्षासम्म अङ्ग्रेजी र नेपाली दुवै माध्यममा पढाइ हुने गरेको छ ।
अङ्ग्रेजी माध्यममा पढ्न विद्यालयमा बुटवल र भैरहवासम्मका विद्यार्थी आउने गरेका छन् । सामुदायिक विद्यालयमा अध्ययन गरेका विद्यार्थीलाई उच्च शिक्षामा विशेष आरक्षण हुने भएकाले पनि निजी विद्यालय छाडेर यहाँ विद्यार्थी आउने गरेका छन् । निजी विद्यालय छाडेर यहाँ पढ्न आउने विद्यार्थीको सङ्ख्या हरेक वर्ष बढिरहेको छ । विद्यालयले विद्यार्थीलाई दिने सेवा–सुविधा निजीको भन्दा कम छैन ।
अङ्ग्रेजी माध्यमबाट पठनपाठन शुरू गर्नुअघि विद्यालयले सरोकारवालाहरूसँग छलफल चलाएको थियो । सबै पक्षले एउटै निष्कर्ष निकालेपछि विद्यालयले अङ्ग्रेजी माध्यमबाट छुट्टै कक्षा सञ्चालन गरेको हो । ‘शैक्षिक गुणस्तर अभिवृद्धिका लागि अङ्ग्रेजी माध्यम नै सब थोक होइन,’ विद्यालयका प्रधानाध्यापक लामिछाने भन्छन्, ‘अभिभावकको चाहना अङ्ग्रेजी माध्यम भएकाले हामीले त्यसलाई सम्बोधन गरेका हौं । यद्यपि, मातृभाषामा पढ्न पाउने बालबालिकाको अधिकारप्रति हामी सचेत छौं ।’ शान्ति माविले अङ्ग्रेजी माध्यमबाट पठनपाठन शुरू गरेपछि त्यसको सिको अन्य सामुदायिक विद्यालयले पनि गरिरहेका छन् ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।