वैशाख ५, रूपन्देही । बुटवल देवीनगरकी विष्णु चापागाईंको छोरा गएको चैतमा ४ वर्ष पुगे । अबको शैक्षिक सत्रदेखि छोरालाई विद्यालय पठाउने सोच राखेकी चापागाईं अहिले विद्यालयको खोजीमा छिन् । श्रीमान् विदेशमा सामान्य मजदूरी गर्ने भएकोले छोराको खर्च, घरपरिवार र केही रकम बचत गर्नुपर्ने उनको बाध्यता छ । ‘यस वर्षदेखि छोरालाई विद्यालय पठाउने हो,’ उनले भनिन्, ‘गुणस्तरीय पढाइ, अनुशासित वातावरण भएको विद्यालयको खोजीमा छु ।’
बुटवलकै शर्मिला शर्माकी छोरी यसै वर्ष साढे ३ वर्षकी भइन् । उनलाई पनि छोरीका लागि विद्यालयको छनोट कसरी गर्ने भन्ने चासो छ । बुटवलको कुन विद्यालयमा पढाउने ? भन्ने सोचविचार गर्दै उनले १० दिन कटाइन् । ‘धेरै जनासँग छोरीलाई कुन विद्यालयमा पढाउँदा राम्रो हुन्छ ? भनेर सोधखोज गरेँ,’ उनले भनिन्, ‘पूर्वप्रावि कुन स्कूलको राम्रो छ, त्यही विद्यालयमा भर्ना गराउँछु ।
पूर्वप्राथमिकको पढाइदेखि नै आफ्ना छोराछोरीलाई कस्तो विद्यालयमा पढाइन्छ, त्यसको प्रभाव माविदेखि उच्च शिक्षाको तहसम्म पनि देखिन्छ ।’
रूपन्देहीका सामुदायिक र निजी विद्यालयको पढाइ समग्रमा राम्रो छ । जिल्लाका पूर्वप्राविको शिक्षा पनि राम्रो रहेको जिल्ला शिक्षा कार्यालय रूपन्देहीको भनाइ छ । विद्यालयको शैक्षिक लक्ष्य, सिकाइ उपलब्धि र कक्षाकोठाको व्यवस्थापनलाई हेरेर विद्यालय छनोट गर्नुपर्ने जिल्ला शिक्षा अधिकारी टेकबहादुर थापाको सुझाव छ । ‘विद्यार्थी विद्यालयमा बस्ने समय ६ घण्टा हो,’ थापाले भने, ‘नैतिकतासहितको गुणस्तर, प्रयोगात्मक सिकाइ, घरेलु वातावरण र साथीजस्ता शिक्षक भएका विद्यालय साना बालबालिका लागि उपयुक्त हुन्छन् । ठूला भवन र टाढाटाढा गाडीमा पठाउनु आवश्यक होइन ।’
जिशिकाबाट अनुमति लिएर सञ्चालन भएका विद्यालयमा मात्र आफ्ना छोराछोरी भर्ना गर्नुपर्ने थापा बताउँछन् । ‘कतिपय विद्यालयले प्राविको अनुमति लिएर मावि सञ्चालन गरेका छन् । त्यस्ता विद्यालयमा बालबालिकालाई भर्ना गर्नु हुँदैन,’ उनले भने ‘भौतिक पूर्वाधार, खेलकुद, प्रयोगात्मक पक्षलाई ख्याल गर्नुपर्ने हुन्छ ।’ रूपन्देहीका अधिकांश निजी विद्यालयले पूर्वप्राथमिक तहमा मोण्टेस्स्वरी पद्धति अँगालेका छन् । मोण्टेस्स्वरी आधारमा पढाइ हुने विद्यालयको शुल्क महँगो छ । त्यसैले आम्दानी÷खर्चलाई ध्यान दिएर विद्यालय चयन गर्नुपर्ने अवस्थामा अभिभावक छन् । पहिलोपटक बालबालिका जे कुरा र वातावरणको अनुभूति गर्छन्, त्यसको असर पछिसम्म पर्ने हुँदा राम्रो विद्यालय छनोट गर्नुपर्ने आम अभिभावकको बुझाइ छ ।
अभिभावक सङ्घ रूपन्देहीका अध्यक्ष लोकनाथ ज्ञवालीले दबाब होइन, हौसला प्रदान गरेर पढाउने विद्यालय रोज्नुपर्ने बताउँछन् । ‘हामी अझै पनि दबाएर घोकाएर विद्यार्थीले सिक्छन् भन्ने ठानेर दण्ड दिई सिकाउने विद्यालय रोज्छौं,’ ज्ञवालीले भने, ‘तर आफ्नो घर वरपरको हिँडरै जाने सक्ने विद्यालयमा भर्ना गर्दा विद्यार्थीको लागि उपयुक्त हुन्छ । बिहान ८ देखि साँझ ६ बजेसम्म विद्यार्थीहरूलाई विद्यालय र गाडीमा बस्दा बोझ थपिन्छ ।’
विद्यालयमा पाठ्यपुस्तक मात्र नपढाई बाहिरी ज्ञान दिने, नैतिकतासहितको गुणस्तरीय प्रयोगात्मक सिकाइ, विद्यार्थी केन्द्रित शिक्षण विधि, विद्यार्थीको क्षमता पहिचान, घरेलु वातावरण, शिक्षणमा नयाँ चिन्तन, कर्तव्यनिष्ठ सिकाइ लक्ष्य, संस्कारयुक्त शिक्षा हुनुपर्ने ज्ञवालीको भनाइ छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।